बैतडीमा डम्पिङ साइड नहुँदा फोहर व्यवस्थापनमा चुनौती

label सुदूरखबर संवाददाता query_builder January, 14 2019

विनोदसिंह विष्ट/सुदूरखबर।
बैतडी, पुस ३० । बैतडीका कुनै पनि स्थानीय तहले फोहोर व्यवस्थापन केन्द्र(डम्पिङ साइड) निर्माण गरेका छैनन् । ४ नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह रहेको बैतडी जिल्लाका कुनै पनि स्थानीय तहले फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्न नसकेका हुन् ।

स्थानीय सरकारले डम्पिङ साइड नबनाउदा खुला स्थानमा फोहोर फाल्दा विभिन्न खालका स्वास्थ्य समस्या ल्याउने स्वास्थ्यकर्मीहरुले बताएका छन् । जिल्ला सदरमुकाम क्षेत्रमा समेत डम्पिङ साइड नहुँदा फोहर व्यवस्थापन चुनौती बन्दै गएको छ । जिल्लाको सबैभन्दा पुरानो नगरपालिकाको रुपमा रहेको दशरथचन्द नगरपालिकासंग पनि डम्पिङ साइड नहुँदा फोहर व्यवस्थापनमा समस्या देखिएको छ ।

२०५४ सालमा स्थापना भएको नगरपालिकाले विभिन्न ठाउँमा अस्थायी रुपमा फोहर व्यवस्थापन गर्दै आएको छ ।  केही बर्ष सम्म सडक छेउमै फोहर व्यवस्थापन गरिरहेको नगरपालिकाले जनप्रतिनिधि आएपछि वडा नं ६ को आमपिपलमा अस्थायी रुपमा फोहर व्यवस्थापन गरिरहेको छ । डम्पिङ साइडको लागि जमीन खोज्न थालेको बर्षौं भएपनि उपयुक्त जमीन नमिलेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको क्षेत्र विस्तार भएकाले सबै वडाको फोहर व्यवस्थापनका लागि पायक पर्ने जमीनको खोजी भईरहेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिईन्। फोहर व्यवस्थापनका लागि नगरपालिकाले शुरु देखि नै पहल थालेको भएपनि जमीन नपाउँदा समस्या भएको छ ।

यस्तै पाटन नगरपालिकामा पनि फोहर व्यवस्थापनको समस्या देखिएको छ । पाटन नयाँ शहर आयोजनाले डम्पिङ साइड निर्माण गर्ने भनेकाले नगरपालिकाले त्यसका लागि बजेट विनियोजन नगरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबीन अधिकारीले जानकारी दिए ।

नगरपालिकाले अहिले घाङल खोलामा अस्थायी रुपमा फोहर व्यवस्थापन गरिरहेको छ । खुला रुपमै खोलामै फोहर फाल्ने गरेको त्यो फोहर सुर्नया नदीमा मिसिने गरेको छ । पाटन नयाँ शहर आयोजनाले बजारभन्दा टाढा सुन्तोली भन्ने ठाउँमा डम्पिङ साइड बनाउने तयारी गरेको थियो । तर त्यहाँ सम्म पुग्ने सडक समेत निर्माण गरिएको छैन् ।

राज्यपुर्नसंरचनापछि स्थापना भएका मेलौली नगरपालिका र पुरचौंडी नगरपालिकामा पनि डम्पिङ साइडको व्यवस्था छैन् । यसका साथै यहाँका गाउँपालिकाले पनिडम्पिङ साइडको व्यवस्थान गर्न सकेका छैन् । दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा डम्पिङ साइड छैन् ।

बजारवाट निस्कने फोहोर व्यवस्थापनमा चुनौती देखिएकाले डम्पिङ साइड निर्माणको लागी पहल थाले सम्वन्धित स्थानीय तहले जनाएका छन् ।  यहाँका कुनै बजारमा छाडा पशुचौपायाका कारण पनि बजारक्षेत्र दुर्गन्धित बन्ने भएकाले बजार छाडा पशुचौपाया नछोड्न पनि आग्रह समेत गरिएको छ ।

स्थानीय तहहरुले चासो नदिदा फोहर व्यवस्थापन हुन नसकेको् स्थानियको आरोप छ । बढदो फोहर उत्पादनसँगै उपयुक्त स्थान खोजेर फोहर व्यवस्थापन गर्न स्थानियले माग गरेका छन । बढदो बजारीकरणसँगै फोहर ब्यवस्थापन गर्न डम्पिङ साइडको लागि उचित ठाँउ नपाउदा लामो समयदेखी बजार क्षेत्र दुर्गन्धित बन्दै गएका छन्।

बजारमा निस्कने फोहरको व्यवस्थापन नहुँदा तिनीहरुले विभिन्न खालका स्वास्थ्य समस्या ल्याउने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
फोहरको स्थायी रुपले व्यवस्थापन नहुँदा त्यसले मानव स्वासथ्यमा गम्भीर असर पार्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा.जगदिशचन्द्र विष्टले बताए । उनले भने–‘अस्थायी रुपमा व्यवस्थापन गरिएको फोहर पानीको श्रोतहरुमा मिसिने भएकाले फोहरबाट रोग लाग्छन् ।’

तपाईंको प्रतिक्रिया दिनुस्