हिमपातले सुदूर पहाडको जनजीवन कष्ठकर (फोटो फिचर)

label समाचार प्रकाशक query_builder January, 27 2019

विनोदसिंह विष्ट/सुदुरखबर ।
बैतडी, माघ, १३ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा भारी हिमपात भएसंगै जनजीवन कष्टकर भएको छ । हिमपातका कारण चिसो बढेपछि जनजीवन कष्टकर भएको हो ।

बैतडीका उच्च भूभागमा बाक्लो हिउँ परेकाले जनजीवन कष्टकर भएको स्थानीयबासिन्दाहरुले बताएका छन् । जिल्लाको सतबाँझ,मुस्याचोर, खोड्पे,श्रीभावर लगायतका ठाउँमा बाक्लो हिउँ परेको छ ।

हिमपातका कारण आवतजावतमै समस्या भएको छ । हिमपातका कारण जनजीवन कष्टकर भएको सुर्नया ८ का बीरबहादुर बोहराले जानकारी दिनुभयो ।
हिमपातका कारण वस्तुभाउलाई समेत चरिचरन गराउन समस्या भएको छ । हिमपातले चिसो बढेका कारण स्वास्थ्यको ख्याल गर्न स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।

चिसोको समयमा बालबालिकाहरुलाई न्यूमोनिया हुनबाट जोगाउनुपर्ने पाटन नगरपालिकाका स्वास्थ्य संयोजक मदनसिंह महराले जानकारी दिनुभयो । चिसोको समयमा बालबालिकाहरुमा न्यूमोनिया र वृद्धवृद्धाहरुमा श्वासप्रश्वास सम्बन्धि रोग हुने भएकाले चिसोबाट बच्नुपर्नेमा जोड दिईएको छ ।

यसैबीच पछिल्लो समयमा भएको हिमपातले हिउँदेबाली सप्रने भन्दै किसानहरु खुसी भएका छन् । सिंचाइको सुविधा नभएका ठाउँमा यो हिमपातले सिंचाइको काम गर्ने कृषि प्राविधिकहरुले बताएका छन् ।

हिउँदेबालीमा देखिने विभिन्न किसिमका कीराहरुको प्रकोप कम हुने अगुवा किसान देवदत्त भट्टले जानकारी दिनुभयो । बालीहरुमा देखिने लाईकीरा, सिन्दुरे, खुम्रेकीरा लगायतका प्रकोपहरु हिमपातका कारण कम हुने बताईएको छ । यस्तै हिमपातले तरकारीबालीमा समेत फाइदा पुग्ने किसानहरुले बताएका छन् ।
हिउँदे तरकारीका लागि हिमपात निकै सहयोगी हुने किसानहरुको भनाई छ । यस्तै लेकाली क्षेत्रमा आलु लगाउने तयारी गरीरहेका किसानहरुलाई समेत हिमपातले सहयोग पुग्ने बताइएको छ । हिमपातले गहुँबाली लगायतका बालीहरुको उत्पादनमा वृद्धि हुने आँकलन गरिएको छ ।

हेर्नुहोस फोटोहरु 

 

तपाईंको प्रतिक्रिया दिनुस्