आठौं राष्ट्रिय खेलकुद : प्रदेशस्तरिय छनौट फागुन पहिलो साता

label सुदूरखबर संवाददाता query_builder February, 11 2019

विनोदसिंह विष्ट/सुदूरखबर।
बैतडी, माघ २८ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागी सुदूरपश्चिम प्रदेश स्तरिय छनौट प्रतियोगिता फागुन पहिलो सातादेखि सञ्चालन हुने भएको छ ।

फागुन ३ गतेदेखि १७ गतेसम्म हुने प्रदेशस्तरिय छनौट प्रतियोगिता दार्चुला, बझाङ , कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा सञ्चालन हुने जिल्ला खेलकुद विकास समिति बैतडीका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिए ।

भलिबल पुरुष छनौट फागुन १४, १५ र १६ गते दार्चुलामा, भलिबल महिला छनौट फागुन १०, ११ र १२ गते बझाङमा हुने भएको छ ।
छनौट प्रतियोगितामा एथ्लेटिक्स फागुन ३ देखि ५ गतेसम्म,खोखो महिला पुरुष फागुन ३ देखि ६ गतेसम्म, ह्याण्डबल महिला पुरुष ३ देखि ७ गतेसम्म,बास्केटबल फागुन ४ र ५ गते, ब्याट्मिन्टन फागुन ३ देखि ५ गतेसम्म, कबड्डी महिला पुरुष फागुन ६ देखि १२ गतेसम्म र फुलकन्ट्रयाक्ट कराँते फागुन ७ र ८ गते हुने भएको छ ।

जुडो फागुन ९ गते, टेबलटेनिस फागुन १० देखि १२ गतेसम्म, फुटबल महिला पुरुष फागुन ११ देखि १७ गतेसम्म, क्रिकेट महिला पुरुष फागुन ९ देखि १६ गतेसम्म , भारोत्तोलन १४ र १५ गते, सेपाकताक्रो फागुन १४ र १५ गते र कुस्ती छनौट प्रतियोगिता फागुन १४ र १५ गते हुने जनाइएको छ ।

यस्तै बुद्धिचाल र तेक्वान्दो फागुन १४ देखि १६ गतेसम्म,कराँते फागुन १५ देखि १७ गतेसम्म र सुटिङ छनौट प्रतियोगिता फागुन १४ र १५ गते हुने सुदूरपश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिले जनाएको छ ।

एथ्लेटिक्स, खोखो, ह्याण्डबल, बास्केटबल, ब्याड्मिन्टन, कबड्डी, कराँते, जुडो, टेबलटेनिस, फुटबल, क्रिकेट, भारोत्तोलन, कुस्ती, बुद्धिचाल, तेक्वान्दो, सुटिन्दो, सुटिङलगायत खेलको महिला तथा पुरुष छनौट प्रतियोगिता कैलाली र कञ्चनपुरमा हुने भएको छ । उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले आठौंैं राष्ट्रिय खेलकुदको प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागी सुदूरपश्चिमका ९ वटै जिल्लाको जिल्लास्तरिय छनौट प्रतियोगिता गत पुसमा नै सम्पन्न भइसकेको छ । प्रदेसस्तरिय छनौट प्रतियोगिताको लागी मिति सार्वजनिक भएपनि राष्ट्रिय खेलकुद प्रतियोगिता मिति भने अझै पनि तोकिएको छैन् ।

यसअघि प्रदेश नं ५ मा मंसिरमा हुने भनेर तय भएपनि प्राविधिक कारण देखाउदै माघ २५ देखि फागुन ३ गतेसम्म गर्न मिति घोषणा गरिएको थियो । तर उक्त मिति पनि सारेर खेलकुद सञ्चालनको लागी भौतिक पुर्वाधार निर्माणकै क्रममा रहेकोले फागुनमा गर्ने भनेर भनिएको छ ।

फागुनमा गर्ने भनेर भनिएको भएपनि अझै पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मिति भने सार्वजनिक गरिएको छैन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति घोषणा नहुँदा खेलाडी अन्यौलमा परेका छन् । उक्त प्रतियोगितामा सातओटै प्रदेश र ३ विभागिय टोलीका विभिन्न खेलका खेलाडीहरु सहभागी हुने बताइएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्