डीपीएलमा काठमाडौंको विजयी सुरुवात, धनगढी पराजित

label सुदूर खबर संवाददाता query_builder February, 11 2019

धनगढी, माघ २८ । काठमाडौं गोल्डेन्सले रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणमा विजयी सुरुवात गरेको छ। सोमबार फाप्ला क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा घरेलु टोली धनगढी स्टार्स ४ रनले पराजित गर्दै काठमाडौंले विजयी सुरुवात गरेको हो।

धनगढीले दिएको १ सय ३२ रनको लक्ष्य काठमाडौंले ६ विकेट गुमाएर भेट्टाएको थियो। अन्तिम ओभरमा काठमाडौंलाई जितका लागि ८ रन आवश्यक रहँदा खेल रोमाञ्चक बनेको थियो।

धनगढीका विदेशी खेलाडी यूएईका आमिर हायातको पहिलो बलमा मेहबुब आलमले एक रन लिए। दोस्रो बलमा क्रिजमा आएका विक्रम भुषालले कुनै रन लिन सकेनन्। तेस्रो बलमा प्याडमा बल लागेपछि ब्याट्सम्यानहरु दौड्दै एक रन लिए।

चौथो बलमा मेहबुब आलमले २ र पाँचौ बलमा चौका प्रहार गर्दै काठमाडौंलाई विजयी सुरुवात दिलाए।

त्यसअघि विपिन खत्रीले छैटौं ओभरको अन्तिम बलमा काठमाडौंका ओपनर गौरव तमोरलाई एलबिडब्लुको सिकार बनाउँदै धनगढीलाई पहिलो सफलता दिलाएका थिए। तमोरले २४ बलमा ३ चौका र २ छक्काको मद्दतमा २८ रन जोडे।

दोस्रो विकेटका लागि अंकित दबास र अनिलकुमार साहले ५७ रनको साझेदारी गर्दै काठमाडौंको स्कोर अघि बढाए। पन्ध्रौ ओभरको पहिलो बलमा रोहन मुस्तफाले दबास(२९)लाई बोल्ड गर्दा काठमाडौं ८९–२ को स्थितीमा थियो।

तर, त्यसपछि रोहन मुस्तफाले धनगढीलाई खेलमा फर्काए। सोही ओभरको चौथो बलमा रोहनले नै अनिलकुमार साहलाई २४ रनमा बोल्ड पारे। अनिलले ४० बलमा दुई चौका प्रहार गरे।

सोह्रौ ओभरको अन्तिम बलमा आमिर हायातले काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ल(३) र लगत्तै अर्को ओभरको पहिलो बलमा सोनु तामाङ(२) तथा अन्तिम बलमा योगेन्द्रसिंह कार्की(२)लाई रोहन मुस्तफाले पवेलियन फर्काएपछि धनगढी खेलमा फर्कने प्रयास गरेको थियो तर अन्तिम ओभरमा खेल पुगेपनि त्यो सफल हुन सकेन् ।

त्यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा सोमबारबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा अमितले डीपिएलको तेस्रो संस्करणको पहिलो अर्धशतक प्रहार गर्ने क्रममा ५० रन जोडेपछि धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रन जोड्यो।

५० बलको सामना गरेका अमितले सम्हालिएर खेल्दै ४ चौका र २ छक्का प्रहार गरे। यस्तै उसका सन्दीप रजालीले २८, सौरभ खनालले २०, पवन सर्राफले १९ रन जोडे।

पहिलो ओभरको तेस्रो बलमा नै धनगढीले रनआउटका रुपमा रोहन मुस्तफालाई गुमाएपछि क्रिजमा आएका अमितले १९औं ओभरको चौथो बलसम्म एकापट्टीको क्रिज सम्हालेका थिए।

अमितले तेस्रो विकेटका लागि सन्दीप रजालीसँग ५२ तथा चौथो विकेटका लागि पवन सर्राफसँग ४३ रनको साझेदारी गर्दै धनगढीको इनिङ्स अगाडी बढाएका थिए।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।