जोरायलको थली गाउँलाई बोयर बाख्राको श्रोत केन्द्र बनाइँदै

label सुदूर खबर संवाददाता query_builder February, 11 2019

झलक पाली/सुदूरखबर
डोटी, माघ २८ । डोटीको जोरायल गाउँपालिका वडा नं. ४ को थली गाउँलाई बोयर बाख्राको श्रोत केन्द्रका रुपमा विस्तार गरिने भएको छ ।

गाउँपालिकाले अवलम्बन गरेको ‘एक गाउँ एक उत्पादन’ को नीति अनुरुप गत वर्ष थली गाउँका सबै २७ परिवारलाई ६ लाख लगानीमा प्रति परिवार एक-एक वटा बोयर बाख्राका पाठी र गाउँमा ३ वटा बोयर बोका (५० प्रतिशत क्रस) वितरण गरेको जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।

उक्त गाउँलाई बोयर बाख्राको गाउँपालिका स्तरीय श्रोत केन्द्रका रुपमा बिस्तार गर्न लागिएको जोरायल गाउँपालिका पशु सेवा इकाइ प्रमुख मानबहादुर रानाले बताए । अब उक्त गाउँमा उत्पादन भएका बाख्रा अरु ठाउँमा लैजान सकिने गरी योजना भइरहेको उनले बताए ।

भौगोलिक रुपमा अग्लो डाँडामा रहेको विकट बस्तीमा पूर्ण रुपमा जनजाती –हरुको बसोबास रहेको र मेहनती किसान पनि भएकाले अन्य पेशा व्यवसायभन्दा बाख्रापालन गर्न सहज पनि भएकाले उनिहरुको आयआर्जनका लागि बाख्रापालनमा गाउँपालिकाले सहयोग गरेको गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताइन् ।

गाउँमा वितरण गरिएका बाख्राहरु ब्याएर अहिले १२ वटा पाठापाठी भएको र केहि बाख्राहरु लगत्तै ब्याउने अवस्थामा रहेको सिद्धबाबा जनजाती बाख्रापालन समूह थलीका अध्यक्ष खडकबहादुर बुढामगरले जानकारी दिए । तर गाउँपालिकाले वितरण गरेको एउटा बोका बिरामी परेर मरेको उनले जानकारी दिए । यद्यपी यस वर्ष पशु सेवा इकाइले सो गाउँका ३ जना बाख्रापालक किसानलाई आधारभूत तालिम पनि प्रदान गरेको उनले सुनाए ।

जोरायल गाउँपालिकामा जनप्रतिनिधीहरु ‘कृषि र पशुपालन समृद्धिको आधार’ भन्ने मान्यताकासाथ अगाडी बढिरहेकाले परम्परागत रुपले नभई व्यवसायिक रुपमा बाख्रापालन गर्न अवसर रहेको पशु सेवा इकाइ प्रमुख रानाको भनाइ छ ।

गत वर्ष जोरायल गाउँपालिकाका सबै वडाहरु समेट्ने गरी अन्य ठाउँमा ९ वटा बोयर बोका वितरण गरिएको थियो । यस वर्ष पनि गाउँपालिका पशु सेवा इकाइले १० वटा बोयर बोका वितरण गर्ने तयारी छ भने बाख्राको खोर सुधारमा ५० हजारका दरले १० जना किसान छनौट भइसकेको बताइएको छ ।

जोरायल गाउँपालिका वडा नं. २ को रुपसकाँडा र वडा नं. १ को गोगनपानीका किसानहरुले करिब ३ वर्षदेखि नै कृषि तथा खाद्य सुरक्षा आयोजनामार्फत प्रदान गरिएका बोयर जातका बाख्रापालन गर्दै आएको ग्रामीण कृषिकार्यकर्ता खडकबहादुर मल्लले जानकारी दिए । पहाडी जिल्ला डोटीको जोरायल गाउँपालिकाका सबै वडाहरुलाई बाख्रापालनका लागि चरिचरन र हावापानीका हिसाबले उपयुक्त मानिन्छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।