डिपीएल : रोमाञ्चक खेलमा महेन्द्रनगरमाथि रुपन्देहीको २ रनको जित

label सुदूरखबर संवाददाता query_builder February, 11 2019

धनगढी, माघ २८ । रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको पहिलो दिनको दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्सले महेन्द्रनगर युनाइटेडलाई २ रनले पराजित गरेको छ । ११२ रनको विजय लक्ष्य लिएर आएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाइ १०९ रन मात्रै बनाउन सक्यो ।

टोलीका आनन्द सुब्रमनियन् २५ र रोहित पौडेलले २४ रन बनाए। कप्तान शरद भेषावाकर ४, कुशल मल्ल ९, आरिफ शेख ५ र सिद्धान्त लोहनी ४ रनमा आउट भएका थिए।

रुपन्देहीका विक्रम सोबले ३ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए। त्यस्तै पुनित मेहराले २ तथा ललितसिंह भण्डारी, कृष्ण कार्की र बसन्त रेग्मीले १/१ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङमा आएको रुपन्देहीको तर्फबाट सर्वाधिक सुमित महर्जनले २७ रन बनाए। यस्तै प्रदीप ऐरी १, सन्दीप सुनार १५, बाबर हायत १४, विनोद भण्डारी १९, पुनित मेहरा ३, भीम सार्की २ रन बनाउँदै आउट भए।

यस्तै कप्तान बसन्त रेग्मी र ललितसिंह भण्डारी शुन्यमा आउट भए भने कृष्ण कार्कीले ४ रन जोडे। विक्रम सोब १० बलमा १६ रन बनाउँदै अविजित रहे।

महेन्द्रनगरको बलिङतर्फ सिद्धान्त लोहनीले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए। सागर ढकाल र अविनाश बोहराले २/२ विकेट लिए। कप्तान शरद भेषावकरले १ विकेट लिए।

निर्धारित तालिका अनुसार डीपीएल शनिबार सुरु हुने कार्यक्रम थियो। तर वर्षाका कारण प्रतियोगिता दुई दिनलाई पछाडि धकेलिएपछि सोमबारबाट सुरु भएको हो। प्रतियोगिताका सबै खेलहरु फाप्ला मैदानमा हुनेछ।

तपाईंको प्रतिक्रिया दिनुस्