गाउँपालिका भवन निर्माणका लागि जग्गा छनौट

label सुदूरखबर संवाददाता query_builder February, 12 2019

विनोदसिंह विष्ट/सुदूरखबर।
बैतडी, माघ २९ । बैतडीको सुर्नया गाउँपालिकाले गाउँपालिकाको भवन निर्माणका लागि जग्गा छनौट कार्य अघि बढाएको छ ।

गाउँ कार्यपालिकाले गरेको निर्णय अनुसार गाउँपालिकालाई निशुल्क रुपमा प्राप्त जमीनको प्राविधिक टोलीले अध्ययन गरेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर बिष्टले जानकारी दिए ।

गाउँपालिकाका इन्जिनियर कपीलदेव भट्टको संयोजकत्वमा रहेको प्राविधिक टोलीमा मालपोत कार्यालयका अनिल चन्द, डिभिजन वन कार्यालयका राजेश ओझा, नापी कार्यालयका कमल ठगुन्ना र पूर्वाधार विकास कार्यालयका नरेश भुल रहेका छन् ।

गाउँपालिकाका लागि सुर्नया गाउँपालिकाको वडा नं ५ मा रौलेश्वर मावि नजिक, बागथला, पपिता र पारीबाटा भन्ने ठाउँमा निशुल्क जमीन प्राप्त भएको थियो भने सुर्नया ६ को बाटिगोमा समेत जमीन प्रापत भएको थियो । यी सबै ठाउँमा प्राविधिकहरुको टोलीले अध्ययन गरेको टोलीका संयोजक कपीलदेव भट्टले बताए ।

प्राविधिक टोलीले अध्ययन गरेर तयार पारेको प्रतिवेदन गाउँकार्यपालिकामा पेश गरिने र सो प्रतिवेदनलाई गाउँसभाबाट अनुमोदन गराएर भवन निर्माणको काम गरिने गाउँपालिका अध्यक्ष वीरबहादुर बिष्टले जानकारी दिए ।

गाउँपालिकाको आफ्नो भवन नहुँदा अहिले भाडाको घर र विद्यालयकोृ भवन मर्मत गरेर कार्यालय सञ्चालन भईरहेको छ । भवन निर्माणका लागि गाउँपालिकाले चालु आर्थिक बर्षमा १ करोड बजेट समेत विनियोजन गरेको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्