डीपीएलमा अत्तरियाको लगातार दोस्रो जित, रुपन्देहीको पहिलो हार

label सुदूरखबर संवाददाता query_builder February, 14 2019

धनगढी, फागुन २ । सिवाईसी अत्तरियाले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । बिहिबार भएको खेलमा रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गर्दै अत्तरियाले लगातार दोस्रो जित निकालेको हो ।

फाप्ला क्रिकेट मैदानमा दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको अत्तरियाले दिएको १ सय २२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको रुपन्देही २० ओभरमा अलआउट हुँदै ८२ रनमा समेटियो ।

रुपन्देहीका लागि सुमित महर्जनले सर्वाधिक २१ रन बनाए । यस्तै सन्दीप सुनारले १५ तथा प्रदिप ऐरी र बिक्रम शोबले समान १४/१४ रन बनाए । अत्तरियाका सन्नी पटेल, भुवन कार्की, दिपेन्द्र सिंह ऐरी र दिपेन्द्र रावतले समान २/२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो । अत्तरियाका लागि कप्तान दिपेन्द्रले ६७ रनको अर्धशतकीय इनिङस खेले । ४२ बलमा अर्धशतक पुरा गरेका दिपेन्द्रले ५० बलमा १० चौका र १ छक्का प्रहार गरे ।

खराब सुरुवात गर्दै १६ रन जोड्दा २ विकेट गुमाईसकेको अत्तरियाका लागि कप्तान दिपेन्द्रले तेस्रो विकेटका लागि रित गौतमसंग मिलेर ५७ रनको साझेदारी गर्दै टोलीको इनिङस उकासेका थिए । रित १२ रनमा आउट भए ।

यस्तै अत्तरियाका सन्नी पटेल र सुबेन्धु पाण्डेले समान १२/१२ रन बनाए । रुपन्देहीका ललित सिंह भण्डारीले ३ तथा बिक्रम शोबले २ विकेट लिए । बसन्त रेग्मी र पुनित मेहेराको नाम १/१ विकेट रह्यो ।

जितसंगै अत्तरियाले २ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा अत्तरियाले धनगढी स्टार्सलाई पराजित गरेको थियो । जितसंगै अत्तरियाले प्ले अफ पुग्ने सम्भावना बलियो बनाएको छ ।

रुपन्देहीको भने यो पहिलो हार हो । अघिल्ला दुई खेलमा लगातार जित निकालेको रुपन्देहीले ४ अंक जोडेको छ । रुपन्देहीले पहिलो खेलमा महेन्द्रनगर र दोस्रो खेलमा विराटनगरलाई हराएको थियो ।

तपाईंको प्रतिक्रिया दिनुस्