हामी सबैले आफ्नै मुटुलाई आफैले हात हान्दै छौ, यसरी जोगाऔ मुटुलाई – डा. मिलन प्रकाश श्रेष्ठ

label सुदूर खबर संवाददाता query_builder March, 04 2019

नेपाली समाज क्रमशः आधुनिकिकरणतर्फ लम्किरहेको छ । आधुनिकिकरण र सहरीकरणसँगै नेपालीहरुको जीवनशैली र खानपिनमा पनि परिवर्तन आइरहेको छ । बदलिँदै परिवेशसँगै अनुुशासित र स्वस्थ जीवनशैली क्रमशः अस्वस्थ बन्दै गइरहेको छ । मानिसहरु बढी विलासी बन्दै गएका छन् भने खानपान पनि बेपर्वाह हुँदैछन् । यसले रक्तचाप, मधुमेह, मुटुका समस्या, मस्तिष्कका समस्यालगायतले गाँज्न थालेको छ ।

केही वर्षअघिसम्म आक्कलझुक्कल र उमेर पुगेका पाका व्यक्तिमा देखिने रक्तचापको समस्या हाल आएर सहरी क्षेत्रका अधिकांस व्यक्तिमा देखिन थालिसकेको छ । यहाँसम्मकी अस्वस्थ जीवनशैलीकै कारण पछिल्लो समय २० देखि ३० बर्षका जवानहरुमा हृदयाघात, उच्च रक्तचाप जस्ता समस्या देखिएका छन् ।

नेपालका ग्रामिण भेगमा मुटुको समस्यालाई हेर्दा बाथ मुटुरोगको समस्या बढी देखिन्छ भने शहरी क्षेत्रमा जीवनशैलीले निम्त्याउने मुटुका समस्याको उपचार गराउन आउने धेरै छन् । धुम्रपान गर्ने, सुगर भएका, उच्च रक्तचापका समस्या भएका, मोटोपन, कोलेस्टेरोल बढी भएका, मानसिक तनाव लिने र व्यायाम नगर्नेहरुलाई मुटु रोग लाग्छ । स्वास्थ्यको नियमित जाँच गराउने र सामान्य समस्या देख्नेवित्तिकै उपचार गर्ने चलन छैन । सुरुमा समस्यालाई सामान्य ठानेर पेलेर जान खोज्छन् । सुरुकै अवस्थामा बिचार नपु¥याउदापछि गम्भिर र जटिल समस्या आउँछ । सुरुमै सामान्य रक्तचापको समस्या देखिनै वित्तिकै मानिसहरु जीवनशैली बदलेर स्वस्थ रहनतर्फ लाग्दैनन् । एकैपटक हृदयाघातजस्ता गम्भिर समस्यामा पर्ने गर्छन् ।

सहरी क्षेत्रका मानिसहरु बढी महत्वाकांक्षी छन् । महत्वाकांक्षाले एउटै व्यक्ति धेरै काममा जोतिन्छ । त्यसले गर्दा उसमा अत्याधिक तनाव हुन्छ । ऊ सधैंै गाडी तथा मोटरसाइकलमा यात्रा गर्छ । व्यायाम गर्दैन । व्यस्त र तनावपूर्ण कामबाट मुक्ति पाउन मदिरा सेवन गरेर थप स्वास्थ्य समस्या सिर्जना गरिरहेको हुन्छ । जसका कारणले हृदयाघातको जोखिम बढ्छ ।
सहरी जीवनशैली नै अपनाउने अर्को समूह सन्तुलित आहार गर्ने पनि छन् । तर, मानिसक तनावलाई भने रोक्न सकेका हुन्नन् । तनाव धेरै लिनेलाई पनि मुटुजन्य रोग लाग्ने खतरा हुन्छ । दिमागलाई जतिबेला पनि कामको बोझ पार्दा समस्या निम्तिन्छ र उच्च रक्तचाप देखिन थाल्छ । सँगसँगै सुगर बढ्दै जान्छ । रगतका नशामा कोलेस्टेरोल जम्दै नशा साँघुरिन थाल्छ ।

सुगर, रक्तचाप, कोलेस्टेरोल बढेका कुरालाई मानिसहरुले त्यति ध्यान दिँदैनन् । यो समस्या अशिक्षितमा भन्दा शिक्षितमा झन बढी छ । उनीहरु अलिअलि बढेको त हो भन्दै वेवास्ता गर्दै जान्छन् । अझ रक्तचापका विषयमा आम मानिसमा रहेको भ्रमका कारण पनि गम्भीर समस्या निम्तिरहेको छ । औषधि नै खानुपर्ने अवस्था आइसक्दा पनि अधिकांसले चिकित्सकलाई औषधि नखाने अड्डी कस्न थाल्छन् । मानिसहरुमा एक पटक रक्तचापको औषधि खाएपछि आजिवन खानुपर्छ भन्ने भ्रम औषधिले मिर्गौलालाई खराब गर्छ भन्ने भ्रम छ । वास्तवमा त्यो होइन । चिकित्सकले भन्दा पनि औषधि नलिनु भनेको समस्यालाई जटिल बनाउनु हो ।

विश्व खाद्य कार्यक्रमका एक तथ्यांक अनुसार ६५ वर्ष माथिका मधुमेहग्रस्त ६८ प्रतिशतको कुनै न कुनै मुटुरोगले मृत्यु हुन्छ । १६ प्रतिशतको स्ट्रोकले मृत्यु हुन्छ । युवामा मधुमेह छ भने ४ देखि ५ गुणा मुटुरोगको खतरा रहन्छ । व्यायाम, खानपिनमा ध्यान पु¥याउँदा र तनावलाई व्यवस्थापन गर्दा मधुमेहका कारण उत्पन्न हुने यस्ता मृत्युलाई रोक्न सकिन्छ ।

तनावले कसरी लाग्छ मुटुरोग ?
शरिरमा तनावसँग लड्ने हर्मोन ‘कर्टिसोल’ र ‘एड्रेलानिल’ हुन्छ । जव तनाव बढ्दै जान्छ यी हर्मोनले काम बढी गर्दै जाँदा रक्तचाप पनि बढ्दै जाने हुन्छ । कर्टिसोल हर्मोनले मानिसलाई बढी भोक जगाउँछ । जसका कारण मानिसले धेरै खान्छ, व्यायाम गर्दैन र समस्या आउँछ । तनावमा भएको मानिसहरुले तनावबाट मुक्ति पाउने नाममा धुम्रपान गर्ने, मद्यपान गर्ने जस्ता कुलतमा समेत फस्छ र समस्या झन विकराल बन्न पुग्छ । तनावको समयमा मदिरा पिउनु भनेको झन घातक हो । तनाव दैनिक रुपमा भैरहँदा रक्तचाप क्रमिक बढ्दै जान्छ र जुनसुकै बेलामा पनि हृदयाघात र मस्तिष्कघात हुने खतरा रहन्छ ।

मधुमेहले कसरी ह्दयाघात हुन्छ ?
रक्तचाप भनेको रगतको नलीको रोग हो । रगत प्रवाहका क्रममा आवश्यक परेको बेलामा फुल्ने र आवश्यक परेको बेलामा खुम्चने प्रक्रिया हुन्छ । यो क्रममा आवश्यकता अनुसार शरिरमा चाहिने हर्मोनहरु पनि निस्किरहेको हुन्छ । तर उच्च रक्तचाप तथा मधुमेहले त्यो प्रक्रियालाई अवरोध गर्न थाल्छ । रगतका नलीमा विस्तारै कोलेस्टेरोल जम्दै जान्छ । र यो क्रम बढ्दै जाँदा रगतको प्रवाह नै रोकिएर हृदयाघात हुन्छ ।

धुम्रपानको नियन्त्रण गर्नु भनेको अकाल मृत्युबाट लाखौँलाई जोगाउनु हो । धुम्रपानमा निकोटिन, टार र कार्बनमोनोअक्साइड जस्ता घातक तत्व हुन्छ । यी तत्व रगतको नलीमा बस्छ र त्यसले कोलेस्टेरोललाई तान्न थाल्छ । चुम्बकले फलामलाई तानेझैँ ति तत्वले कोलेस्टेरोललाई रक्तनलीका भित्तामा टाँस्न थाल्छ । यसरी दैनिक कोलेस्टेरोल जम्दै जाँदा रक्तनली थुनिन पुग्छ र हृदयाघात हुन्छ ।

मुटु रोग महिलामा पहिले कम हुने ठानिन्थ्यो तर पछिल्लो समय महिलाहरुमा बढ्न थालेको छ । एक त उनीहरुले पनि धेरै धुम्रपान गर्न थालेका छन् । अर्काे तनाव बढेको छ । मोटोपन पनि बढेको छ ।
शरिरमा राम्रो र नराम्रो कोलोस्टेरोल हुन्छ । धुम्रपानले राम्रो कोलेस्टेरोललाई घटाउँदै जाने भएकाले रोगको खतरा बढ्ने हो । रगतलाई बाक्लो पार्ने तत्वलाई पनि धुम्रपानले बढाइदिन्छ र जम्न सक्छ ।

त्यसकारण जीवनलाई स्वस्थ बनाउन मानिसहरुले आफ्नो जीवनशैलीलाई परिवर्तन गर्नैपर्छ । तनावबाट मुक्त हुन हप्तामा एक दिन बिदा बस्नैपर्छ । विलाशी जीवनशैलीलाई परिवर्तन गरे शारिरीक व्यायाम गर्ने, हिँड्ने जस्ता क्रियाकलापमा सहभागी हुनुपर्छ । खानपिनमा विशेष ध्यान दिन आवश्यक छ । धुम्रपान तथा सूर्तीजन्य पदार्थ छाड्नुपर्छ । मद्यपान गर्नुहुन्न ।

अनुशाशनमा बसौं
सामान्यतया मुटुरोगबाट जोगिन तथा अन्य नसर्ने रोगबाट जोगिने हो भने मानिसहरुले दैनिक आधाघण्टा कम्तिमा पनि हिँड्नुपर्छ । समस्या देखिएपछि मानिसहरुले व्यायाका लागि ट्रेडमिल किन्छन् । केही दिन गर्छन् । तर, एक डेढ महिनापछि ट्रेडमिललाई लुगा सुकाउने थलो बनाउँछन् । केही मनिसहरु क्लब पनि जान्छन् । तर केही दिन गएपछि छाड्छन् ।

स्वस्थ जीवनका लागि मानिस अनुशासनमा बस्नै पर्छ । घाम लाग्यो, पानी प¥यो, गर्मी भयो, जाडो भयो भनेर व्यायाम तथा हिँड्ने कुरा रोक्नुहुन्न । रक्तचाप बढी भएकाले अत्याधिक एक्सरसाइज पनि गर्नुहुन्न । यसका साथै चाँडै सुत्ने बिहान चाँडै उठ्ने गर्दा पनि तनाव कम हुन्छ र स्वस्थ जीवन जिउन सकिन्छ ।

– from:nepallive.com bata

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।