दार्चुलामा निगालोबाट उत्पादित सामग्रीको व्यापार बढ्दो

label सुदूर खबर संवाददाता query_builder March, 09 2019

नरेन्द्रसिह कार्की/रासस
दार्चुला, फागुन २५ । शिवरात्रीको अवसरमा दार्चुलाको शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा जारी मेलामा जिल्लाको स्थानीय उत्पादनको व्यापार बढेको छ। वर्षौंदेखि स्थानीय उत्पादनको कारोबार गर्न लाग्ने मेलामा यो वर्ष निगालोबाट उत्पादित सामग्रीको कारोबार बढेको हो।

गोकुलेश्वरको चौलानी नदी किनारमा लाग्ने मेलामा दार्चुला, बैतडी र बझाङका स्थानीय उत्पादनको कारोबार भइरहेको छ । मेलामा तीनवटै जिल्लाका स्थानीयले उत्पादन गरेका निगालोका सामग्री, काठ र फलामबाट बनेका भाँडाकुँडा र जडीबुटी बिक्रीमा राखिएका छन्।

यस वर्ष मेलामा निगालोबाट निर्माण हुने मोट्टा, खटिया, सुप्पा, छाप्राको कारोबार सबैभन्दा बढी भइरहेको मार्मा गाउँपालिका–१ दह घोल्जरका स्थानीय व्यापारी सुरेन्द्रसिंह ठगुन्नाले बताए।

‘विगतमा यति धेरै बिक्री भएको थिएन’, उनले भने, ‘यो वर्ष सोचेअनुसारको सामग्री बिक्री भइरहेको छ।’ मेलामा मार्माको दह घोल्जरका साथै शैल्यशिखर नगरपालिका–४ रानीशिखर र नौगाडको सिप्टीलगायतका क्षेत्रबाट निगालोको सामान बिक्रीको लागि ल्याइएको छ।

मेलामा मोट्टा रु १ हजार ५ देखि ४ हजारमा बिक्री भइरहेको छ। यस्तै सुप्पा तथा छाप्राको रु २ सयदेखि ४ सयसम्म कारोबार भइरहेको व्यापारी उमेश धामीले बताए। दह घोल्जरका मात्रै १ सय परिवारले प्रतिपरिवार १० देखि १५ हजारसम्म निगालोका सामग्री बनाएर बिक्रीको लागि ल्याएका छन्।

जिल्लाको अन्य क्षेत्रभन्दा पनि मार्मा गाउँपालिका–१ दह क्षेत्रमा सबैभन्दा बढी निगालो उत्पादन हुने गरेको छ। निगालो बढी उत्पादन भएकै कारण यहाँका स्थानीयले बढी जसो निगालोबाट उत्पादन हुने सामग्री बनाएर बिक्री गर्छन्।

निगालोका सामग्री निर्माणमा मिहिनेत धेरै लाग्ने भए पनि मिहिनेतअनुसारको ज्याला नपाइने उनीहरू बताउँछन्। जङ्गलमा गएर निगालो काट्ने, घरमा ल्याएर चिर्ने, घाममा सुकाउने, पानीमा भिजाउने केही दिनपछि पानीबाट निकालेर चोया निकालेर सामग्री बुन्ने गरिन्छ।

कच्चा पदार्थ तयार भइसकेको अवस्थामा एक दिनमै १० भन्दा बढी सुप्पा छाप्रा बुन्न सकिने उद्यमी सुरज धामी बताउँछन्। कच्चा पदार्थ उपलब्धता भयो भने सामान बनाउन खासै समस्या नभएको उनले बताए।

विगतमा सबै ठाउँमा सजिलै कच्चा पदार्थ उपलब्धता हुने गरे पनि अहिलेभने कम हुँदै गएको छ। मार्माको दह घोल्जरका स्थानीयको रोजगारी र आयआर्जनको प्रमुख तथा एक मात्र माध्यम निगालोबाट बन्ने सामग्री नै हो। वर्षभरिमा हजारौं सामग्री निर्माण गरेर उद्यमीले गोकुलेश्वर मेलामा बिक्री गर्छन्।

व्यापारी सामग्री किन्न गाउँमै पनि जान्छन्। गाउँमा बिक्री हुन नसकेको सामान मात्रै मेलामा ल्याएर बिक्री गर्ने गरेको अर्का स्थानीय जगत ठगुन्ना सुनाउँछन्। मेलामा ऊनी कपडा, हिमाली क्षेत्रको जडीबुटी र फलफूलका परिकारलगायत विभिन्न सामग्रीको कारोबार पनि यो वर्ष बढेको छ। गोकुलेश्वरमा व्यापारको लागि सुदूरपश्चिमका विभिन्न जिल्ला र भारतको उत्तराखण्डबाट व्यापारी तथा ग्राहक आएका छन्।

स्थानीय उत्पादनको बिक्री वितरणले स्थानीयस्तरमै स्वरोजगारी सिर्जना मात्रै भएको छैन, खेर गइराखेका वस्तुको उत्पादनको उपयोग र आर्थिक उपार्जनको बलियो आधारसमेत बनेको छ।

गोकुलेश्वरस्थित हवाई मैदानमा मेला एक हप्ता चल्छ। तिब्बती ऊनी कपडा र हस्तकलाका सामग्री पनि बिक्रीमा राखिएका छन्। दार्चुलाको हिमाली क्षेत्रका बासिन्दाले जडीबुटी, राडी, फाखी, कम्बल, स्विटरलगायतका सामान बिक्री गरिरहेका छन्।

डडेल्धुराको जोगबुडालगायत भित्री मधेशमा बनेका ठेकी, हलोलगायतका सामग्रीको पनि राम्रो व्यापार भएको छ। ऊनीका तानमा बुनेका राडीपाखी, गलैँचालगायत अन्य वस्तु मेलाका मुख्य आकर्षक रहेको व्यापारी भुवन धामीले बताए।

प्रविधिको विकाससँगै तालीमको अभावका कारण पनि अझै सीपलाई परस्कृत गर्न नसकिएको उद्यमी प्रेम टमटा बताउँछन्। ‘हामीलाई तालीमको अभाव छ, अहिले पनि उही हँसियाको सहारामा रेसा निकाल्ने र बुन्ने काम भइरहेको छ’, उनी भन्छन्।

घरेलु तथा साना उद्योग विकास समितिले गत वर्ष दुहुँ गाउँपालिकाको हिकिला तथा शैल्यशिखर नगरपालिकाको रानीशिखरमा बुनाई तालीम सञ्चालन गरेको थियो। यस्तै यो वर्ष लेकम गाउँपालिकाको कुणीमा निगालोबाट उत्पादित सामग्रीको तालीम सञ्चालन गर्ने तयारी भइरहेको समितिका वरिष्ठ उद्योग अधिकृत पदमबहादुर ठकुराठीले बताए।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।