डा. गरिमा श्रेष्ठ ले भन्नु भयो स्त्रीहरु को मासिक स्रावको समयमा प्याडको प्रयोगबारे बुझ्न लाज नमानौ

label समाचार प्रकाशक query_builder March, 13 2019

दिनेश गौतम
कक्षामा बसिरहेका बेला महिनावारी हुने हो कि भन्ने चिन्ता छात्रालाई हरेक महिना हुन्छ। गोरखा सिरानचोकस्थित महेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई पनि यस्तै तनाव हुन्थ्यो। कक्षाकोठामा बसेको बेला महिनावारी भयो भने उनीहरू लाज मान्थे। पेट दुख्या छ भन्दै घोप्टो पर्थे। कोही त रुन्थे पनि।

कपडाको प्याड देखाउँदै डा. गरिमा श्रेष्ठ । तस्बिरः अन्नपूर्ण

पढ्दापढ्दै महिनावारी भयो भने कतिपय त स्कुल छाडेर बीचैमा घर जान्थे। तर, अचेल उनीहरू लाज मान्दैनन्। महिनावारी हुनेबित्तिकै प्रधानाध्यापक कृष्णबहादुर न्यौपानेको कोठामा पुग्छन्। सर÷म्याडम जो भेटे पनि नलजाई प्याड माग्छन्। शौचालय गएर फेर्छन्। हात सफा गर्छन्। त्यसपछि कक्षाकोठामा फर्कन्छन्।

कक्षा ७ मा अध्ययनरत जमुना (मनीषा) विक भन्छिन्, ‘के कारणले महिनावारी हुन्छ ? महिनावारीका बेला कस्तो हुन्छ ? यसको सबै जानकारी सर, म्याडमले हामीलाई गराउनुभएको छ।’ बालिका एवं किशोरीलाई महिनावारीबारे जानकारी नहुँदा मानसिक एवं शारीरिक समस्या हुने देखेपछि विद्यालयमै यस बारेमा जानकारी दिन थालिएको हो। महिनावारीका बेला किशोरीलाई विद्यालयमै प्याड दिन थालिएको छ। शिक्षिका निर्मला पुडासैनीका अनुसार महिनावारी हुँदा बालिका लाज मान्थे। अहिले लाज नमानी उनीहरू प्याड माग्न थालेका छन्।

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालले गोरखा, रसुवा, सल्यान र कैलाली गरी चार जिल्लाका सरकारी विद्यालयमा मनोपरामर्शको तालिम दिएपछि शिक्षकशिक्षिका पनि महिनावारीका विषयमा सचेत छन्। परामर्श केन्द्रका कार्यकारी निर्देशक रामलाल श्रेष्ठले चारवटा जिल्लाका ७० वटा सरकारी विद्यालयमा शिक्षकहरूलाई किशोरकिशोरीमा देखा पर्ने समस्याका बारेमा मनोपरामर्श तालिम दिइएको बताए।

के हो महिनावारी ?

महिनावारी महिलामा नियमित हुने प्राकृतिक प्रक्रिया हो। महिलामा रागरस (हर्मोन)को प्रभावका कारण डिम्बाशयबाट डिम्ब निष्कासन भएपछि पाठेघरको भित्री तह विस्तारै बाक्लो हुँदै जान्छ र योनीमार्ग हुँदै रगत बाहिर निस्कन्छ। किशोरीमा हुने यही शारीरिक नियमलाई नै महिनावारी वा मासिक स्राव भनिन्छ। यौवनावस्था सुरु हुन लागेको बेला पाठेघरबाट विकारयुक्त रगत योनीमार्ग हुँदै बाहिर निस्कन्छ। यो क्रम हरेक २६ देखि ३० दिनभित्र भइरहन्छ।

महिनावारी भएको बेला तल्लो पेट दुख्छ। वाकवाक लाग्ने, उल्टी हुने, स्तन छुँदा दुख्ने हुन्छ। महिनावारी सुरु हुनुभन्दा केही घन्टा अघिदेखि वा भइसकेपछि यस खालको समस्या देखिन सक्छ। कसैलाई साह्रै दुखेर ओछ्यानमै सुत्नुपर्ने पनि हुन सक्छ। कसैलाई त्यति धेरै दुख्दैन। कमजोर महसुस हुन्छ। चिडचिडाहट पनि हुन्छ।

तल्लो पेटका साथै ढाड दुख्ने, जीउ गल्ने, कब्जियत वा पखाला लाग्ने लगायतका लक्षण पनि देखिन सक्छ। यसलाई साधारण डिस्मेनोरिया भनिन्छ। महिनावारीका बेला विकारयुक्त रगत बाहिर निस्कँदा पाठेघर खुम्चेर दुख्ने गर्छ। यो समस्या कुनै रोग होइन। उमेर बढ्दै गएपछि यो समस्या हट्दै जान्छ।

महिनावारीलाई पहिले नछुने भएको भनिन्थ्यो। अरूलाई छुन नहुने भन्दै अलि टाढा बस्न लगाइन्थ्यो। तर अहिले महिनावारीका बारेमा धेरैलाई जानकारी छ। जानेबुझेका व्यक्तिहरू टाढा बस्नु पर्दैन सफासुग्घर हुनुपर्छ भन्न थालेका छन्। महिनावारीलाई अहिले मिन्स एवं पिरियड भन्ने चलन पनि छ।

महिनावारीका बेला सहनै नसक्ने गरी दुखेमा, दुःखाइ तीन दिनभन्दा पछि पनि रहिरहेमा सजग हुनुपर्छ। एक साताभन्दा बढी समयसम्म रक्तस्राव भइरहेमा वा महिनावारी ठीक समयमा नभएको अवस्थामा नजिकको स्वास्थ्यचौकी वा अस्पतालमा जाँच गर्न जानुपर्ने डा. शान्ता जोशीको सल्लाह छ।

हेला नगरौं

विद्यालय मनोविद् मधुविलास खनालका अनुसार महिनावारी हुने उमेरका किशोरीहरू आपसमा बढी खुल्छन्। तर अभिभावकसँग उनीहरू बढी खुल्न चाहँदैनन्। अप्ठेरो महसुस गर्छन्। यो संक्रमणकालीन उमेर र अवस्था हो। शरीरमा हर्मोनल परिवर्तन प्रशस्त भइरहेको हुन्छ। यसले मानसिक अवस्थामा पनि विचलन र बेचैनी ल्याइरहेको हुन्छ। महिनावारी भएको बेला विद्यालयको शौचालय किशोरीमैत्री देखिँदैन। पानीको व्यवस्था र सेनिटरी प्याड फेर्न सहज कोठा हुँदैन। सेनिटरी प्याड डिस्पोजल गर्ने ठाउँ पनि देखिँदैन। यस्तो बेला कतिपयलाई आराम गर्ने कोठा पनि आवश्यक हुन्छ।

‘रक्तस्राव भएको बेला यो सामान्य हो कि मलाई मात्र यस्तो भएको हो भन्ने सोच आउँछ’, मनोविद् खनालले भने। यस्तो बेला विद्यालय र घरमा समेत मनोपरामर्श चाहिन्छ। किशोरकिशोरी दुवैलाई स्वास्थ्य सचेतना चाहिने भएकाले उनीहरूलाई सँगै राखी विद्यालयले नियमित रूपमा छलफल गर्नुपर्छ। माया र मित्रताका साथै गर्भ र गर्भावस्थाका बारेमा छलफल गर्नुपर्छ। घरमा अभिभावकले उमेरअनुसारको आवश्यकता ख्याल गरिदिनुपर्छ। किशोर अवस्थामा आउने परिवर्तनबारे घरमा पनि छलफल हुनुपर्छ। घरमा आमाबुवा, दाजुभाइ, दिदीबहिनीबीच पनि खुला रूपमा छलफल गर्नुपर्छ।

स्वास्थ्यमा ध्यान दिऊँ

महिनावारीका बेला आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुपर्छ। प्रशस्त मात्रामा फलफूल, ताजा सागसब्जी, गेडागुडी र पौष्टिक तŒवले भरिएका खाना खानुपर्ने डा. गरिमा श्रेष्ठ बताउँछिन्। एउटै प्याडलाई लामो समयसम्म लगाइरहँदा यसले इन्फेक्सन गराउनुका साथै स्वास्थ्यमा समस्या ल्याउन सक्छ। त्यसैले समय समयमा प्याड परिवर्तन गर्ने र सकेसम्म सुति र मखमल कपडाका प्याड प्रयोग गर्दा फाइदा हुने डा. श्रेष्ठको भनाई छ।

तपाईंको प्रतिक्रिया दिनुस्