धनगढीमा अन्तर प्रदेश मुख्यमन्त्री कप खेलकुद प्रतियोगिता सुरु

label सुदूर खबर संवाददाता query_builder March, 13 2019

कैलाली, फागुन २९ । धनगढीमा अन्तर प्रदेश मुख्यमन्त्री कप खेलकुद प्रतियोगिता आज सुरु भएको छ ।  सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो ।

महिला क्रिकेटमा सुदूरपश्चिमको ऐतिहासिक जित, प्रदेश नम्बर १ को पनि जित
मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तरगत महिला क्रिकेटमा सुदूरपश्चिमको महिला टिमले ऐतिहासिक जित हात पारेको छ।

आज भएको खेलमा कर्णाली प्रदेशलाई ४ रनमा अलआउट गर्दै सुदूरपश्चिमको महिला टिमले ऐतीहासिक जित हात पारेको हो।

आज भएको खेलमा टस जितेर व्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित १५ ओभरमा २ सय ३१ रन बनायो। सुदुरपश्चिमका लागि रुवी पोदारले ५२ बलमा ८५ रन बनाईन्। यस्तै रेवती धामीले ४४ बलमा ६९ रन बनाइन्।

२ सय ३२ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश ४ रनमै अलआउट भएको हो। कर्णाली प्रदेशका लागि लक्ष्मी पुरीले १ रन बनाइन् भने ३ रन अतिरित पाएको थियो। सुदूरपश्चिमका लागि कविता कुँवरले २ ओभरमा २ ओभर नै मेडन राख्दै ह्याटिक सहित ४ विकेट लिइन्। यस्तै सुमन विष्टले २ ओभरमा ४ रन दिएर २ विकेट लिइन्।

आज नै भएको दोस्रो खेलमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर ५ लाई ७ विकेटले हराएको छ । प्रदेश नम्बर ५ ले टस जितेर पहिले व्याटिङ गर्दै २० ओभरमा ९ विकेट क्षतिमा १०७ रन बनायो ।

उसका लागि सरस्वती पुनले २८ नितु भण्डारीले २१ रन बनाइन् । प्रदेश नम्बर १ का लागि सवनम राई र निग्मा तामाङले दुई दुई विकेट लिइन् । १०८ रनको विजय लक्ष्य पछ्याएको प्रदेश नम्बर १ ले निर्धारित ओभर सकिन दुई बल बाँकी रहँदै लक्ष्य पुरा गर्यो । प्रदेश नम्बर १ लाई सानदार जित दर्ता गराउन रोमा थापाले ६१ रनको अविजित पारी खेलिन् । त्यस्तै अप्सरी वेगमले पनि १८ रन जोडिन् ।

पुरुष क्रिकेटमा सुदुरपश्चिम र प्रदेश नम्बर १ को जित
पुरुष क्रिकेटमा पनि सुदुरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई ८ विकेटले हराउँदै सुदुरपश्चिमले विजयी सुरुवात गरेको हो ।

टस जितेर पहिले व्याटिङ गर्दै कर्णालीले २० ओभरमा ९ विकेट क्षतिमा ९४ रन बनायो । उसका लागि दिवान पुनले २२ र हेमन्त ओलीले १० रन बनाउनु बाहेक अन्यले दोहोरो रन अंक बनाउन सकेनन् ।

सुदुरपश्चिमका लागि नरेन्द्र साउँदले ४ महेश अधिकारीले २ र विकास आग्रीले एक विकेट लिए । ९५ रनको विजय लक्ष्य सुदुरपश्चिमले १४ दशमलव १ ओभरमा २ विकेट गुमाएर विजय लक्ष्य पुरा ग¥यो । सन्जु बोहोराले ४३ खड्क बोहोराले २४ दिपेन्द्र बोहोराले २० रन बनाए ।

पुरुष क्रिकेटमै आज भएको दोस्रो खेलमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर ५ लाई ५ रनले हराएको छ । फाप्ला मैदानमा टस जितेर पहिले व्याटिङ गर्दै प्रदेश नम्बर १ ले २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनायो ।

सो पारीमा दिपेश कडेलले ३६ र पुष्प थापाले ३४ रन बनाए । प्रदेश नम्बर ५ का लागि कृष्ण कार्कीले दुई विकेट लिए । ११६ रनको विजय लक्ष्य पछ्याएको प्रदेश नम्बर ५ ले निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा ११० रन मात्रै बनाउन सक्यो ।

सुवेन्द्र पाण्डेयले २२ सौरव खनालले १५ र राजीवर पंिहले १२ रन बनाए पनि आफ्नो टीमलाई जिताउन सकेनन् । प्रदेश नम्बर १ का पुष्प थापा र मुकुन्द यादवले दुई दुई विकेट लिए ।

पुरुष फुटबलमा प्रदेश नम्बर २ र प्रदेश नम्बर १ विजयी
पुरुष फुटबल प्रतियोगिता अन्तर्गत आज भएका खेलमा कर्णाली प्रदेश प्रदेश नम्बर २ र प्रदेश नम्बर १ विजयी भएका छन् । धनगढी रंगशालामा भएको तेस्रो खेलमा सुदुरपश्चिम प्रदेशलाई कर्णाली प्रदेशले १–० ले पाखा लगाएको हो ।

खेलको १२ औं मिनेटमा महेन्द्र शाहीले निर्णायक गोल गरे । दोस्रो खेलमा प्रदेश नम्बर २ ले गण्डकी प्रदेशलाई ३–१ ले हरायो । प्रदेश नम्बर २ का लागि रितीक खड्काले दुई र गंगावहादुर आलेले एक गोल गरे । खड्काले ८ मिनेट र ७६ मिनेटमा गोल गरेका हुन् । आलेले १३ मिनेटमा एक गोल गरेका हुन् ।

गण्डकीका लागि अजिज मियाले एक गोल फर्काए । उनले ६९ औं मिनेटमा गोल गरेका हुन् । आजको पहिलो खेलमा भने प्रदेश नम्बर १ ले प्रदेश नम्बर ५ लाई १–० ले गोल गरे । प्रदेश १ का लागि विदुर रिजालले एक मात्रै निर्णायक गोल गरे । खेलको ६५ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।