क्रिकेट रंगशाला निर्माणमा आफै जुट्दै धुर्मुस–सुन्तली (फोटो फिचर)

label सुदूरखबर संवाददाता query_builder March, 14 2019

चितवन – भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन रंगशाला बनाउने चटारोले हास्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई भ्याइनभ्याई छ । उनीहरुले सामान भण्डार गर्ने भवन, स्टोर र कर्मचारीहरुका लागि आवास निर्माणको काम गरेर श्रमदान दिई रहेका छन् ।टेलिभिजनको पर्दामा देखिएको मनपर्ने कलाकार धुर्मुस सुन्तली सँगै सिमेन्टको मसला बनाउने र बोक्ने उनीहरू दंग पनि परिरहेका थिए । निमार्णस्थल पुगेका धुर्मुस देखेर कामदार अचम्मित बने ।

निर्माणस्थललाई जस्ताले घेरिएको छ । अहिले प्रारम्भिक चरणको काम भैरहेको छ । उनीहरुले स्थानीयलाई रंगशाला निमार्ण सबै नेपालीको सपना भएको भन्दै आफ्नो स्थानबाट सबै लाग्न आग्रह पनि गरे ।आर्थिक सहयोग गर्न नसके पनि श्रमदान गर्न सकिने भन्दै स्थानीयलाई सक्रियता बढाउन आग्रह गरेका उनीहरु आफै कार्यक्षेत्रमा खटिएर श्रमदान समेत गरिरहेका थिए । भरतपुर महानगरपालिका–१५ स्थित शान्तिचोकमा रंगशाला निमार्ण गर्न लागिएको छ । कट्टेल र घिमिरे दुवै जना एकै ठाउँमा बसेर स्थानीयहरुसँग भेटघाट पनि गरिरहेका थिए ।


निमार्णस्थलमा विभिन्न संघसंस्थाले श्रमदानसमेत गर्न थालेका छन् । रंगशालाको गुरूयोजना र डिजाइनको काम अगाडि बढेको धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष कट्टेलले बताए । उनका अनुसार अहिलेसम्म साढे पाँच करोड सहयोग संकलन भएको छ ।तीन करोड नेपालीहरुको सहयोगले नै रंगशाला निर्माण हुने भन्दै सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न धुर्मुसले आग्रह गरे । ‘एउटा साधारण व्यक्तिले देखेको सपना हो यो, त्यसैले सबै मिलेर सपना साकार पार्ने हो’, उनले भने, ‘यो देशको विकासका लागि सबै एक हुने समय आएको छ । अब देश बनाउने समय हो राजनैतिक मुद्धाका आन्दोलन सकिएपछि अब विकासको आन्दोलनमा सबै सहभागी हुन जरुरी छ ।’

तपाईंको प्रतिक्रिया दिनुस्