परिवारका सबै सदस्य सरकारी जागिरे ! दाजु बहिनी नै सचिव

label सुदूरखबर संवाददाता query_builder March, 14 2019

‘दाजु नमस्कार!’

प्रधानमन्त्री कार्यालायका सचिव देवकुमारी गुरागाईं लोकसेवा आयोगका सचिव महेन्द्र गुरागाईंको कार्यकक्षमा छिरिन्।

देवकुमारी र महेन्द्रबीच पारिवारिक नाता छ। उनीहरू दाजु-बहिनी हुन्।

निजामती सेवामा ७४ जना विशिष्ट श्रेणीका सचिवमध्ये चार जना मात्र महिला छन्। महिला सचिव हुनु नै दुर्लभ, त्यसमाथि एकै परिवारका दाजु-बहिनी त झनै दुर्लभ।

महेन्द्र सचिव भएको दुई वर्ष भयो। देवकुमारी यही फागुन २६ गते बढुवा भएकी हुन्। शिक्षा मन्त्रालयमा सहसचिव रहेकी उनी बढुवापछि प्रधानमन्त्री कार्यालय पोस्टिङ भएकी छन्।

हामी बुधबार दिउँसो साढे १२ बजेतिर लोकसेवा आयोगको कार्यालय पुग्दा महेन्द्र गुरागाईं कार्यकक्षमै थिए। उनकी बहिनी देवकुमारी आफ्ना दाजुलाई भेट्न आएकी थिइनन्। बरू प्रधानमन्त्री कार्यालयकी सचिव र विज्ञका हैसियतमा पुगेकी थिइन्।

‘एउटै परिवारबाट सचिव बन्दा कस्तो लाग्दो रहेछ?’ हामीले दुवैलाई एकै प्रश्न सोध्यौं।

महेन्द्रले पहिलो जवाफ दिए, ‘खुसी हुनु नपर्ने कुनै कारण छैन। हामीले सचिव हुने पहिलो दाजु-बहिनीका रूपमा आफ्नो नाम लेखाएका छौं।’

उनले अगाडि भने, ‘छोरीबुहारीलाई पढायो भने उनीहरूले पनि गर्न सक्छन् भन्ने प्रमाणित भएको छ।’

देवकुमारीले भने सबभन्दा पहिला आफ्ना बुबा गंगाप्रसाद गुरागाईंलाई सम्झिइन्। सामान्य लेखपढ गर्न जान्ने भए पनि छोराछोरीमा भेदभाव नगरी पढाएकाले आफू यो ठाउँसम्म आइपुगेको उनले बताइन्।

‘छोराछोरीलाई एसएलसीसम्म जसरी पनि पास गराउने मेरो बाबाको लक्ष्य थियो। तेह्रथुमदेखि मोरङ झरेर हामीलाई दुःखपूर्वक पढाउनुभयो,’ देवकुमारीले भनिन्, ‘एसएलसी पास गरेपछि पनि गाउँमै खेतीपाती गराएर अल्झाउनुभएन। बरू छोराहरूसँगै छोरीलाई पनि काठमाडौं पढ्न पठाउनुभयो।’

उनले सचिवमा बढुवा भएलगत्तै बाबुलाई फोन गरेकी थिइन्। उनका बाबु केही बोल्नै सकेनन्।

‘म आमाबाबालाई भेट्न गएँ। बाबाले अंगालो हाल्नुभयो। आमाले पनि अंगालो हालेर रुनुभयो,’ उनले भनिन्, ‘म आमाबाबाको छेउमा बसिरहेँ। केही बोलिनँ। उहाँहरूको खुसीका आँशुका अगाडि मैले बोल्ने शब्द पनि केही थिएन।’

बाबु गंगाप्रसाद र आमा चन्द्रादेवी गुरागाईंका सातै सन्तान सरकारी जागिरे हुन्। महेन्द्र र देवकुमारी जेठो छोरा र छोरी। माइला पुष्पप्रसाद लेखाका उपसचिव छन् भने साइँला झइन्द्र अख्तियारमा उपसचिव (कानुन) छन्। कान्छा चिरञ्जिवी चलचित्र विकास बोर्डमा करारका अधिकृत हुन्।

त्यस्तै, माइली छोरी सरस्वती शिक्षा सेवामा शाखा अधिकृत छिन् भने कान्छी दोनुका भक्तपुरमा निमावि शिक्षक छिन्।

महेन्द्र एसएलसी पास गरेपछि २०३९ सालमा काठमाडौं आएका थिए। २०४० पुसमा तत्कालीन नेपाल विद्युत कर्पोरेसन (हालको विद्युत प्राधिकरण) मा बहिदारमा नाम निकाले। त्यसको चार महिनामै खरिदारमा नाम निस्कियो।

२०४६ सालमा उनका माइला भाइ पुष्पप्रसाद र बहिनी देवकुमारी काठमाडौं आए। त्यति बेला महेन्द्र हुलाकमा सुब्बा भइसकेका थिए।

‘दाजु तेह्रथुममा मामाघर बसेर पढ्नुभयो,’ देवकुमारीले भनिन्, ‘हामी मोरङमा पढेको। मेरो त दाजुसँग राम्ररी भेट पनि त्यही बेला भएको हो।’

उनका अनुसार भर्खर कम्प्युटर प्रयोग सुरु भएको त्यो बेला महेन्द्रले टाइपिस्टको काम सिकेका थिए। उनले घरमै कम्प्युटर ल्याएर भाइबहिनीलाई टाइप गर्न सिकाए। यो २०४९ सालतिरको घटना हो। दाजुबहिनी मिलेर पैरवी प्रकाशनका अधिकांश किताब टाइप गरेको देवकुमारी सम्झन्छिन्।

‘दाजुसँगै बसेकाले मलाई पढ्न निकै सजिलो भयो। नजानेको सोध्न सक्ने भएँ। खाना पकाउँदै गर्दा मामा र दाइले पढेको सुन्ने गर्थें। त्यही आधारमा २०५१ सालमा प्राविधिक सहायक पदमा जाँच दिएँ, पास भएँ,’ देवकुमारीले आफ्नो विगत विस्तार लगाइन्, ‘दाजुले पढेको तरिका सिकेरै मलाई सरकारी सेवामा आउन सजिलो भयो।’

२०४९ सालमा खुला प्रतिस्पर्धाबाट अधिकृत, २०५६ सालमा उपसचिव, २०६५ सालमा सहसचिव र २०७३ सालमा सचिव बनेका महेन्द्र बहिनी देवकुमारीका निम्ति प्रेरणाका स्रोत रहे।

बहिनीले आफ्नो बाटो सही तरिकाले समाएकाले कहिल्यै गाली गर्न नपरेको महेन्द्र बताउँछन्।

महेन्द्रको जागिर जीवन ३५ वर्ष भयो भने देवकुमारीको २४ वर्ष १० महिना। यसबीच उनीहरू कहीँ पनि सँगै परेका छैनन्। राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका बैठकहरूमा बेलाबखत भेट हुन्छ।

महेन्द्र लोकसेवा सचिव भएर आएपछि भने उनीहरूको व्यावसायिक भेटघाट बढेको छ। लोकसेवाले देवकुमारीलाई विज्ञको हैसियतमा बोलाइरहन्छ।

दाजुबहिनीबीच कहिलेकाहीँ छलफल र विवाद हुन्छ कि हुँदैन भनेर सोध्दा महेन्द्रले जवाफ दिए, ‘विवाद गर्ने फुर्सद कहाँबाट पाउनु? सबै आफ्नो काममा व्यस्त भइन्छ। म पनि बिहान बेलुकै लोकसेवाको काममा हुन्छु। ऊ पनि कार्यालयमै व्यस्त भएपछि कहिले त आफ्नै मान्छेको शुभकार्यमा समेत जान पाइन्न।’

कामको सिलसिलामा कुनै सल्लाह लिनुपरे देवकुमारी सबभन्दा पहिला आफ्ना दाजुहरूलाई नै सोध्छिन्।

कानुनी विषयको अप्ठ्यारो पर्यो भने जेठो दाजु महेन्द्रसँग सल्लाह लिन्छिन्, जो कानुनका विद्यार्थीसमेत हुन्। आर्थिक कुरा सोध्नुपरे अर्का दाजु पुष्पकहाँ जान्छिन्। व्यवस्थापन पढेका पुष्प लेखाका उपसचिव छन्।

विशेष गरी टेन्डर प्रक्रियामा निर्णय गर्नुपर्दा दाजुहरूलाई अनिवार्य सोध्ने गरेको उनी बताउँछिन्।

उनलाई जेठा दाजु महेन्द्रको सबभन्दा मन पर्ने बानी पढ्ने शैली हो। भन्छिन्, ‘दाजुको पढ्ने तरिका गजब छ। उहाँ धेरै पढ्ने, थोरै नोट गर्ने गर्नुहुन्छ। त्यसलाई सम्झिनुहुन्छ। त्यही मन्त्र मैले पनि सिकेको छु।’

‘पढ्ने भन्दैमा सबथोक छाडेर पढेर हुँदैन। मैले दाजुबाट यही सिकेको हुँ,’ उनले भनिन्, ‘यसले मलाई पनि अहिलेसम्म सफल बनाएको छ।’

उपसिचवको नाम निकाल्न आवश्यक पर्ने डकुमेन्ट आफ्ना दाजुबाटै पाएको र विषयवस्तुको छलफलमा श्रीमानले सहयोग गरेको उनी बताउँछिन्।

देवकुमारीलाई एसएलसी दिने बेला परीक्षा केन्द्र अनगुमन गर्न आएका जिल्ला शिक्षा कार्यालयका अधिकृत देख्दा पहिलोचोटि अधिकृत हुने चाहना जागेको हो। त्यति बेला ‘जिन्दगीमा सेक्सन अफिसर बन्न पाए कस्तो हुन्छ होला’ भन्ने उनलाई लागेको थियो।

जब उनी २०५१ सालमा प्राविधिक सहायक बनिन्, त्यसपछि उनको आत्मविश्वास हलक्कै बढ्यो। अझ मिहिनेत गर्यो भने सहसचिवसम्म हुन सकिन्छ कि भन्ने विश्वास पलायो। सहसचिव भइयो भने नीति निर्माण तहमा बसेर केही योगदान गर्न सकिन्छ भन्ने उनको मनसाय थियो।

यही सपना पछ्याउँदै हिँडेकी देवकुमारी २०५४ सालमा अधिकृत बन्न सफल भइन्। २०६५ सालमा उपसचिवमा नाम निकालिन्। त्यसपछि ११ महिनामै सहसचिव भइन्।

‘त्यसपछि भने मलाई सचिव पनि भइन्छ कि भन्ने लाग्यो,’ उनले भनिन्।

सहसचिव भएपछि २०७२ को भुइँचालोले भत्किएका स्कुलहरूमा पढाइ सुरू गराउन आफूले भूमिका खेल्न सकेकोमा देवकुमारीलाई सन्तुष्टि छ।

उनी त्यतिबेला मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयमा निर्देशक थिइन्। भुइँचालोले भत्किएका यस क्षेत्रका विद्यालयहरूमा पढाइ सुरू गराउन आफूले पहल गरेको उनले बताइन्।

‘मैले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूसँग सहकार्य गरेर ३ अर्ब ८७ करोड रूपैयाँको सहयोग जुटाएँ। यसले एक महिनामै विद्यालयहरूमा पढाइ सुरू भयो,’ उनले भनिन्, ‘हामीले अस्थायी टहरा, पानीका धारा बनाउने र विद्यार्थीहरूलाई परामर्श दिने काम गर्यौं। मलाई अहिले पनि त्यो काम निकै सफलतापूर्वक गरेँ जस्तो लाग्छ।’

दुर्गम क्षेत्रमा २३ हजारभन्दा बढी माध्यमिक तहका शिक्षक नभएका बेला नेपाल टेलिभिजनमार्फत् ‘भर्चुअल क्लास’ सुरु गरेको उनले जानकारी दिइन्।

आफूले चार दशकअिघ देखेको समाज र अहिलेको समाजमा महिलाको अवस्था तुलना गर्ने हो भने धेरै परिवर्तन आइसकेको उनको बुझाइ छ।

यसै वर्ष महिला दिवसको अवसर पारेर राष्ट्रपति विद्या भण्डारीले उपत्यकाभित्र सरकारी सेवामा प्रथम श्रेणीमा कार्यरत महिलाहरूलाई डाकेकी थिइन्। राष्ट्रपतिले उनीहरूसँग दुई घन्टा छलफल गरिन्।

उक्त अवसरमा राष्ट्रपतिले कसरी महिलालाई नेतृत्वदायी भूमिकामा पुर्याउन सकिन्छ भन्नेबारे छलफल गरेको उनले बताइन्।

कार्यालयमा पुरुष र महिलाबीच कुनै भेदभाव नभएको र काम गर्न अप्ठ्यारो नपरेको उनको भनाइ छ। यति हुँदाहुँदै पुरुषको तुलनामा महिला कर्मचारीले अनौपचारिक छलफल निम्ति समय कम पाउने गरेको उनले बताइन्।

‘सचिव, सहसचिवहरूलाई केही विषयमा छलफल गर्नुपर्यो भने पुरूष साथीहरू बिहान-बेलुकासमेत भेटघाट गर्नुहुन्छ। तर त्यो मौका महिलालाई छैन,’ उनले भनिन्, ‘शिक्षा मन्त्रालयमा म सहसचिव हुँदा अरू २२ जना सहसचिव हुनुहुन्थ्यो। मैले उहाँहरूसँग बिहान-बेलुकी अनौपचारिक कुराकानी गर्न मिलेन। महिलालाई घरको कामले पनि कार्यालयबाहिर समय कम हुन्छ।’

उनी आफ्नो पढाइलेखाइ र व्यावसायिक यात्रामा श्रीमानको बलियो साथ पाएको बताउँछिन्।

प्राविधिक सहायक भएकै बेला देवकुमारीको विवाह भएको थियो। उनका श्रीमान अर्जुनकुमार गौतम सञ्चय कोषमा मुख्य प्रबन्धक छन्। श्रीमानको साथ नभएको भए यहाँसम्म आइपुग्न कठिन हुने उनी बताउँछिन्।

‘म घर पुग्न ढिला भएँ र उहाँ आइसक्नुभएको रहेछ भने श्रीमती कहिले आएर खाना पकाउला भनेर कुर्नुहुन्न,’ उनले भनिन्, ‘म थाकेर गएको बेला चिया पकाएर दिनुहुन्छ। म पनि त्यही गर्छु।’

उनका श्रीमान चार्टर्ड अकाउन्टेन्टसमेत हुन्। नेतृत्व क्षमता र व्यवस्थापनमा आफूलाई श्रीमानले सहयोग गरेको उनको भनाइ छ। देवकुमारी र अर्जुनका एक छोरी र एक छोरा छन्।

‘महिला मुख्यसचिव कहिले बन्लान् त?’ कुराकानीको बिट मार्दै हामीले देवकुमारीसँग सोध्यौं।

‘यो कुरा म भनिहाल्छु, मलाई सजिलो हुन्छ,’ महेन्द्रले दाजुको भूमिका देखाउँदै आफूभन्दा पाँच वर्ष कान्छी बहिनीलाई बोल्न नदिइकन आफैं अघि सरे, ‘राजनीतिमा प्रधानमन्त्री भनेजस्तै कर्मचारीमा मुख्यसचिव हो। जसले तीन वर्षसम्म कर्मचारी प्रशासनको नेतृत्व गर्छ। मुख्यसचिवले अवकाश पाउँदा जो मुखमा पुगेको छ, उसैले पद पाउँछ। वरिष्ठ तीन सचिवमध्येबाट एक जनालाई ल्याउने हो। महिला नै ल्याउँछु भन्दैमा मिल्दैन।’

उनले अगाडि भने, ‘कतिपय कुरा समय, परिस्थिति र भाग्यको पनि हुन्छ। अहिले नै मुख्यसचिव हुन पाइएला भन्ने होइन। मलाई भाग्यमा विश्वास लाग्छ। जन्मँदा जे ल्याएको छ त्यही हुन्छ होला।’

देवकुमारी भने केही बोलेनन्।

साभार :सेतोपाटी बाट

तपाईंको प्रतिक्रिया दिनुस्