परराष्ट्रमन्त्री ज्ञवाली सोमबार अर्जेन्टिना जाँदै

label सुदूरखबर संवाददाता query_builder March, 17 2019

काठमाडौं, चैत ३ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आगामी चैत ६ देखि ८ गतेसम्म अर्जेन्टिनाको राजधानी ब्यूनसआयर्समा हुने दक्षिण–दक्षिण सहयोगसम्बन्धी संयुक्त राष्ट्रसंघीय दोस्रो उच्चस्तरीय सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साेमबार अर्जेन्टिना जाने भएका हुन् ।

सम्मेलनको पूर्ण बैठकमा मन्त्री ज्ञवालीले दक्षिण–दक्षिण सहयोगसम्बन्धी नेपालको राष्ट्रिय वक्तव्य तथा सन् २०३० का कार्यसूची कार्यान्वयन एवम् दिगो विकासका चुनौती र अवसर विषयमा मन्तव्य दिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय अतिकम विकसित, भूपरिवेष्टित, विकासोन्मुख साना टापु राष्ट्र (युएन ओएचआर एलएलएस)ले ती राष्ट्रलाई दिगो विकासको मार्गमा अग्रसर हुन दक्षिण–दक्षिण र त्रिपक्षीय सहयोग प्रवद्र्धनका सन्दर्भमा आयोजना गर्ने छलफलकम मन्त्री ज्ञवालीले प्रमुख वक्ताका रुपमा पनि भाग लिने कार्यक्रम छ ।

चैत ७ गते अर्जेन्टिनाका विदेशमन्त्रीले एशियाली मुलुकका अधिकारीसँग आयोजना गर्ने उच्चस्तरीय बैठकमा मन्त्री ज्ञवाली सहभागी हुने छन् भने त्यहाँ रहँदा उनले विभिन्न मुलुकका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् । मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा ब्राजिलका लागि नेपालका राजदूत ताराप्रसाद पोखरेल र परराष्ट्र मन्त्रालयका एक अधिकारी रहने छन् । उनी चैत ९ गते स्वदेश फर्कने कार्यक्रम छ ।

तपाईंको प्रतिक्रिया दिनुस्