पत्नी सीताको उपचारको लागि प्रचण्ड अमेरिका प्रस्थान

label सुदूर खबर संवाददाता query_builder March, 17 2019

काठमाडौं, चैत ३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका प्रस्थान गरेका छन्। उनी पत्नी सीता दाहालको स्वास्थ्य उपचारका लागि आइतबार साँझ अमेरिका प्रस्थान गरेका हुन्।

उनको साथमा उनकी स्वकीय सचिव तथा छोरी गंगा दाहाल छन्। केही समययता प्रोग्रेसिभ सुपर न्यूक्लियर प्लासी (पिएसपी) बाट पिडित सीताको यसअघि सिंगापुरमा उपचार हुँदै आएको थियो। कात्तिकमा उनले सीतालाई म्याग्दीको तातोपानी कुण्डमा नुहाउन लगेका थिए।

अमेरिकामा पत्नी सीताको बिरामीसँग सम्बन्धित उपचारको राम्रो र पछिल्लो प्रविधिको विकास भएको भन्ने थाहा पाएको र पत्नी सीताले पनि एकपटक अमेरिका लगिदिए सन्चो हुन्थ्यो कि भनेर केही महिनादेखि भनेकाले अमेरिका प्रस्थान गर्नुपरेको प्रचण्डले बताए।

सीताको उपचार अमेरिकाको जोन हकिङ्स् अस्पतालमा हुने प्रचण्डको सचिवालयले जनाएको छ। प्रचण्ड यसअघि नै अमेरिका जाने बताइएको थियो। तर भेनेजुएला प्रकरणमा विवादास्पद विज्ञप्ति जारी गरेपछि उनको भ्रमण पनि अनिश्चित बनेको थियो। उनकै विज्ञप्तिको कारण अमेरिकासँग नेपालको सम्बन्धमा प्रश्न उठाइएको थियो। तर अमेरिकी राजदूतले प्रचण्ड निवासमै पुगेर आग्रह गरेपछि उनी अमेरिका जान तयार भएका हुन्।

प्रचण्डको बिदाइका लागि उनकी बुहारी तथा मन्त्री विना मगरसहित नेकपाका नेता सुवास नेम्वाङ, देवेन्द्र पौडेल सुनिल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल नेता कृष्ण गोपाल श्रेष्ठ विमानस्थलमा पुगेका थिए।

भ्रमणअघि विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले देशमा व्यवस्था परिवर्तन, संविधान घोषणा तथा निर्वाचन गर्ने शक्तिहरु मिलेर अन्योलता र अस्थिरता पैदा गर्नेहरु विरुद्ध एक भएर उभिनुपर्ने बताए।

उनले आफ्नो अमेरिका भ्रमणको मुख्य उद्देश्य पत्नी सीताको उपचार नै भएको प्रष्ट पारे। अमेरिकामा राजनितिक भेटघाट पनि हुनसक्ने उनले बताए।

‘अमेरिकामा दुई देशको विषयमा कुरा हुने सम्भावना छ’, उनले भने, ‘तर, फिक्स कार्यक्रम भने छैन। तर परराष्ट्र मन्त्रालयको जानकारी अनुसार त्यहाँबाट औपचारिक पत्र पठाइसकिएको छ। त्यसले गर्दा औपचारिक र अनौपचारिक छलफल हुने सम्भावना बढेको छ।’

उनले आफू हप्ता दशदिनमा स्वदेश फिर्ता हुने बताए। नेपालमा सिस्टम नै परिवर्तन भएकाले थुप्रै नयाँ संरचना र ऐनहरु बनाउनुपरेको भन्दै प्रचण्डले त्यसैकारण जनताबाट तिब्र विकास नभएको गुनासो सुनिएको बताए। ‘गएको वर्ष सरकार र पार्टीले जेजे पूर्वाधार बनायो, अबको वर्षमा विकासले गति लिन्छ भन्नेमा हाम्रो विश्वास छ’, उनले भने।

प्रचण्ड, उनका स्वकीय सचिव तथा छोरी गंगा दाहालसहितको टोली साँझ ५ बजे इतिहाद एयरवेजस् मार्फत अमेरिका प्रस्थान गरेको हो। अमेरिकाको जोन हकिङ्स् अस्पतालमा सीता दाहालको ‘पिएसपी’ रोगको उपचार हुनेछ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।