डोटीमा तीन दिनमा १२३ जनाको निःशुल्क आँखा अप्रेशन

label सुदूर खबर संवाददाता query_builder March, 18 2019

झलक पाली/सदूरखबर
डोटी, चैत ४ । डोटी चेम्बर अफ कमर्सले आयोजना गरेको निःशुल्क आँखा उपचार शिविरमा तीन दिनको अवधीमा एक सय २३ जनाको आँखाको अप्रेशन गरिएको छ ।

यहि चैत १ गतेदेखि ३ गतेसम्म सेती प्राविधिक शिक्षालय दिपायलमा आयोजित शिविरबाट उक्त संख्यामा अप्रेशन गरिएको डोटी चेम्बर अफ कमर्सका अध्यक्ष खगेन्द्रबहादुर साउँद (के.बि.) ले जानकारी दिए ।

कूल १ सय ६५ जनाको आँखाको अप्रेशन गर्ने लक्ष्य राखिएको भए पनि शिविरमा सहभागि १ सय २३ जनाको अप्रेशन भएको डोटी चेम्बर अफ कमर्सका सचिव तेज डुम्रेलले बताए ।

डोटी चेम्बर अफ कमर्सले गत फाल्गुन १७ देखि २७ गतेसम्म आयोजना गरेको प्रादेशिक महोत्सवको अवसरमा निःशुल्क आँखा शिविरमा १ हजार ६ सय ८५ जना मानिसले आँखा जाँच गराएका थिए । जसमध्ये आँखाको अप्रेशन गर्नुपर्ने मानिसहरु १ सय २ जनाको स्क्रिनिङ्ग (छनौट) मात्रै गरिएको थियो भने ४ सय ३२ जना मानिसले निःशुल्क चस्मा समेत पाएका थिए ।

महोत्सव अवधीमा अप्रेशनका लागि स्क्रिनिङ्ग गरिएका मानिसहरु र बाँकी २१ जना पछि आएर थप भएको जनाइएको छ । धनगढी नेत्रालय, च्यारिटी हेल्थ फाउण्डेशन, जिल्ला अस्पताल डोटी, शैलेश्वरी अस्पताल, चोपडा अस्पताल र सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा सञ्चालित उक्त शिविरबाट अरु थप सेवाग्राहीहरुले समेत आँखा सम्बन्धी उपचार सेवा लिएका छन् ।

शिविर सञ्चालनबाट जिल्ला भित्रका र बाहिरका मानिसहरुले समेत सेवा लिएको बताइएको छ । आँखाको उपचारकै लागि जिल्ला बाहिरका अस्पतालहरुमा धाउनु पर्ने र आर्थिक अवस्था कमजोर भएका मानिसहरुका लागि निःशुल्क सेवा प्रदान गरेकोमा सेवाग्राहीहरुले आयोजक डोटी चेम्बर अफ कमर्सलाई धन्यवाद दिए ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।