अजयमेरुकोटलाई देश तथा विदेशमा चिनाउन ‘अजयमेरु महोत्सव’

label सुदूर खबर संवाददाता query_builder March, 18 2019

प्रकाश पार्की/सुदूरखबर।
डडेल्धुरा, चैत ४ । नेपाली भाषाको उद्गमस्थल एवं डोटेली राज्यको राजधानीका रुपमा चिनिने डडेल्धुराको अजयमेरु गाउँपालिका–२ अजयमेरुकोटमा पहिलो पटक महोत्सव आयोजना हुने भएको छ ।

सोमबार डडेल्धुरा सदरमुकाममा पत्रकार भेटघाट कार्यक्रमको आयोजनना गरी पुरातात्विक महत्वको स्थलका रुपमा चिनिएको अजयमेरुकोटमा ‘अजयमेरु महोत्सव २०७६’ आयोजना गर्न लागिएको जानकारी गराइएको हो ।

‘कृषि पर्यटन, कला संस्कृति र खेलकुलको विकासमा हाम्रो अभियान, अजयमेरु महोत्सव मार्फत गाउँपालिकाको पहिचान’ भन्ने मूल नाराका साथ गाउँपालिकाको आयोजनमा बैशाख ४ गतेदेखि ८ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष एंव महोत्सव आयोजक मूल आयोजक समितिका संयोजक उमेशप्रसाद भट्ट (विकास)ले जानकारी दिए ।

पर्यटन प्रवद्र्धन, कृषि कला संस्कृति र खेलकुलको विकासका लागि समेत महोत्सव आयोजना गर्न लागिएको हो । गाउँपालिकाको ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिनाइ गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि लागि महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष भट्टले बताए । महोत्सवलाई सफल पर्नाका लागि ५१ सदस्यीय मूल आयोजक समिति बनाइएको छ ।

  

स्थानीय कला, संस्कृति, भेषभूषा, एवं देउडा भाकालाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिनाउन डोटेली संस्कृतिको जर्गेना गर्न, परम्परागत बाजा बजाउने सीपको प्रर्दशन तथा प्रवद्र्धन गर्न, यस क्षेत्रको कृषि, पर्यटन, जडीबुटीलगायतका जैविक विविधतालाई उजारण गरि लगानी प्रवद्र्धन गर्न, स्वस्थ्य जीवनको लागि खेलकुद कार्यक्रम भन्ने मूल मर्मका साथ विविध खेलकुद मार्फत युवालाई खेलप्रति आकर्षण गर्न, युवालाई कृषि उत्पादन उद्योग तथा व्यापारमा आर्कषण गर्नलगायतका उदेश्यले महोत्सव आयोजना गर्न लागेको महोत्सव मूल आयोजक समितिका संयोजक भट्टको भनाइ छ ।

‘गाउँपालिकामा रहेका काला समैजी, वीरबेताल, दुर्गाभगवती, जगन्नथ मन्दिर, डागेश्वरी मन्दिर गंगेश्वर मन्दिर, लगायतका गाउँपालिकामा रहेका अन्य धार्मिक, ऐतिहासिक, पुरात्वत्तिक, प्राचिन र साँस्कृतिक महत्सवको प्रचारप्रसार गरि धार्मिक तथा साँस्कृतिक पर्यटनको विकास गर्नका लागि हामी महोत्सवको आयोजन ागर्न लागिका हौं। उनले भने–‘ ‘स्थानीय स्तरमा लघु घरेलु तथा साना उद्यमीद्वारा कृषि एवं वन्यजन्तु कच्चा पदार्थबाट उत्पादित सामग्रीहरुको बिक्री वितरण एवं प्रचारप्रसार पनि हुन्छ। यस प्रदेशमा रहेका पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसार गरि आर्थिक विकासको मार्ग प्रशस्त गर्ने हाम्रो उदेश्य रहेको छ ।’ पाँच दिनसम्म संचालन हुने महोत्सव ३० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकले विश्वास लिएको छ ।

खेलकुदलदेखि अजयमेरुकोटको निःशुल्क भ्रमणसम्म
महोत्सवको अवधिमा खुला भलिबल प्रतियोगिता समेत आयोजना गरिने भएको छ । गाउँपालिकाले ‘अध्यक्ष कप’ खुला भलिबल प्रतियोगिता गर्ने बताइएको छ । उक्त प्रतियोगितामा पहिलो हुने टोलीले ५५ हजार पाँच सय ५५ रुपैयाँ, दास्रोले ३३ हजार तीन सय ३३ रुपैयाँ, तेस्रोले २२ हजार दुई सय २२ रुपैयाँ र चौथोले ११ हजार एक सय ११ रुपैयाँ पुरुस्कारको समेत व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिए ।

महोत्सवका आकर्षणका रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा दैनिक प्रस्तुति, अजयमेरुकोटको निःशुल्क भ्रमण तथा चिनारी पथप्रर्दशकसहित हुड्केली, छलिया, चैत, धुमारी, हारी नृत्य प्रर्दशनी, प्रत्येक वडाको छुटाछुटै साँस्कृतिक प्रस्तुती डेउडा कलाकारहरुद्वारा साँस्कृतिक कार्यक्रम सहित मनोरञ्जन प्रदान, स्थानीय कला संस्कृति, भेषभूषा एवं खानपान आदिको प्रर्दशनी, विद्यालयस्तरीय नृत्य तथा गायन प्रस्तुति स्थानीय डोटेली खाना माडा, मकैको राटी छाच, कोदको रोटी, गौतानी डुब्कालगायतका परिकारका खानेकुरा, कृषि जन्य तथा पशु जन्य उत्पादन तथा जडीबुटीको प्रर्दशनी रहनेछन् ।

ऐतिहासिक अजयमेरुकोट
डोटेली राज्यको राजधानीका रुपमा चिनिने अजयमेरुकोटको उचित संरक्षण नहुँदा पुरातात्विक सम्पदाहरु संकटमा परेका छन्। स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि केही संरक्षण र यसको प्रचारप्रचास गर्नमा ध्यान दिइरहेका छन्। दरवार क्षेत्रका अद्भुत कलाकृतिहरु चोरी हुन थालेपछि गाउँपालिकाले कोट संरक्षणका लागि पनि योजनावद्ध रुपमा लाग्ने जनाएको छ।

बाइसे चौबीसे राज्यअन्तर्गत डोटेली राज्यको राजधानी रहेको अजयमेरुकोटमा तत्कालीन राजा नागी मल्लले राज्य सञ्चालन गरेका थिए। आधुनिक सभ्यताको उद्गमस्थलको केन्द्र भनेर समेत अजयमेरुकोटलाई चिन्ने गरिन्छ।

संरक्षणको अभावमा दरबारका भग्नावशेष, दरबार क्षेत्रबाट झन्डै ४ किलोमिटरको गढिका नदीमा रानी नुहाउन जाने गुफा, तत्कालीन समयका अद्भूत कलाकृति भएका ढुंगादेखि थुप्रै ऐतिहासिक स्तम्भहरु जीर्ण बन्दै गएपछि अजयमेरुकोटको महत्व संकटमा पर्दै गएको हो।

अजयमेरुकोटको १३औं शताब्दीमा राजा नागी मल्लले डोटी राज्य सञ्चालनका लागि निर्माण गरेको स्थानीय जानकारहरु बताउँछन्। वि.सं ११९१ मा निर्मित ऐतिहासिक दरबारको हाल भग्नावशेष तथा देवलसमेत जीर्ण अवस्थामा रहेका छन्।

अमरसिंह थापाले निर्माण गरेको अमरगढी किल्लादेखि सात किलोमिटर पश्चिममा अवस्थित अजयमेरुकोटमा डोटेली राजाहरुले समेत चार दशकसम्म शासन गरेका थिए। परम्परागत कला र शैलीमा निर्माण गरिएका नौला, देवलको भौतिक र प्राचीन धरोहरको इतिहास हराउँदैै गइरहेको स्थानीयवासी, वुद्धिजीवी र इतिहासका जानकारको भनाइ छ। अजयमेरुकोट जिल्ला सदरमुकामबाट २ घण्टाको पैदल दूरीमा पुग्न सकिन्छ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।