विप्लव माओवादीबाट एक्लि‌ए खड्गबहादुर विश्वकर्मा

label सुदूर खबर संवाददाता query_builder March, 24 2019

काठमाडाैं, चैत १० । नेक्रवित्रम चन्दको अति विश्वासपात्र मानिएका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पछिल्लो समय चन्द समूहभित्र एक्लिएका छन् ।

सरकारबाट गिरफ्तार भएपछि रिहाइका लागि उनले गरेका गतिविधिप्रति आशंका गरिएपछि जिम्मेवारीविहीन बनाइएका छन्। सरकारले विश्वकर्मालाई गिरफ्तार गरेको ४९ दिनपछि गत असोजमा रिहा गरेको थियो। लगत्तै कपिलवस्तु आसपास बसेको स्थायी कमिटी बैठकले माघ २८ गते राजधानीमा आमसभा गर्ने जिम्मेवारी उनलाई सुम्पेको थियो।

स्रोतअनुसार त्यसपछि दाङ वरपर बसेको अर्को बैठकमा उनले रिहाइका लागि गरेका सबै गतिविधिमा पार्टीले आशंका गर्‍यो। विश्वकर्माले रिहाइका लागि सत्तापक्ष र नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराई गुहारेको भन्दै चर्को आलोचना भयो। विश्वकर्माले अखिल क्रान्तिकारीका विद्यार्थी अध्यक्ष चिरञ्जीवी ढकालमार्फत नेता भट्टराईसमक्ष पहल गरिदिन अनुरोध गरेको बताइएको छ।

भट्टराईले संघीय संसद्मा विश्वकर्माको रिहाइका लागि सरकारसँग माग गरेका थिए। रिहाइपछि पक्राउ हुन नदिन राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठक न्यायालय पुगेका थिए। ‘पार्टीलाई कुनै जानकारी नदिई विश्वकर्माले सरकारसँग वार्ता गर्ने कुरा गरे, यो पार्टीको निर्णय थिएन। उनी आफैंले सरकारसँग के के गरे, पार्टीलाई जानकारी थिएन,’ स्थायी कमिटीका एक सदस्यले भने, ‘त्यसपछि उनका गतिविधिप्रति स्थायी कमिटीमा चर्को बहस भयो। हाल उहाँ शंकाको घेरामा हुनुहुन्छ।

महासचिवसँग सम्पर्कमा हुनुहुन्न।’ हाल उपत्यकामै रहेका विश्वकर्मा निष्क्रिय जस्तै छन्। ती सदस्यका अनुसार विश्वकर्मालाई विज्ञप्ति जारीलगायतका काम नगर्न निर्देशन दिइएको छ। कान्तिपुरमा खबर छ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।