किरियापुत्री भेट्न जाँदा मन्त्री पण्डितको घाँटीमा माला !

label सुदूर खबर संवाददाता query_builder March, 24 2019

 विराटनगर, चैत १० । ‘किरियापुत्री भेट्न जाँदा नी माला मोहले छाडेन छ कम्युनिस्ट नेतालाई ! …. खुइया’ लेखेर सरोज बस्नेतले एउटा तस्वीर ट्वीट गरे ।

यो तस्वीर आइतबार सामाजिक सञ्जालमा भाइरल नै भयो । किरियापुत्रलाई भेट्न जाँदा घाटीमा सयपत्री फूलको माला लगाएको तस्वीर सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको धेरैले आलोचना गरेका छन् ।
कतिपयले पण्डितको चुनावी अभियानका क्रममा खिचिएको तस्वीर हुनसक्ने आशंका पनि गरे ।

तर, यो तस्वीर विराटनगरको हो र शनिबारको भएको पाइएको छ । मोरङ ६ बाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका मन्त्री पण्डित शनिबार विराटनगर आएका थिए ।

पण्डित परोपकार अभियानको भवनमा आयोजित कार्यक्रममा सहभागी भएर मातृशोकमा रहेका नेकपा नेता महेश भट्टराईलाई सान्त्वना दिन उनकै घरमा पुगेका थिए । सयपत्री फूलको माला लगाएर विराटनगर– ३ स्थित भट्टराईको घर पुगेर केही समय बसेका पण्डितले हिँड्ने बेला सामूहिक तस्वीर खिचाएका थिए ।

एक साताअघि भट्टराईकी ८७ बर्षीया आमा पवित्रादेवीको निधन भएको थियो । मन्त्रीको एक छेउमा महेश र उनका दाजु छन् भने अर्काे छेउमा भने नेकपा केन्द्रीय सदस्य महेश रेग्मी उभिएका छन् । नेता रेग्मी हतारमा माला खोल्न बिर्सिएको बताउँछन् ।

‘परोपकार घाट अवलोकनपछि परोपकार अभियानको भवनमा आयोजित कार्यक्रममा पुगेका थियौं’ उनले भने ‘हतार हतारमा हिँड्दा माला खोल्नै बिर्सिएछ ।’

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।