चिनियाँ राष्ट्रपतिकाे प्राथमिकतामा नेपाल

label समाचार प्रकाशक query_builder April, 03 2019

काठमाडौं, चैत २० । राजतन्त्रको अन्त्यपछि चीनले पहिलो पटक नेपालका राष्ट्र प्रमुखलाई बेइजिङमा ‘रेड कार्पेट’ ओछ्याउने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका लागि दुवै देशमा तयारी बैठक भइरहेका छन्। भ्रमणलाई राजकीय वा औपचारिक कुन सम्मान दिने टुंगो लागिसकेको छैन। अघिल्ला सम्झौता केलाउनेदेखि नयाँ परियोजना तयारीसम्मको काम काठमाडौंमा भइरहेको अनौपचारिक जानकारी बेइजिङस्थित नेपाली दूतावासले पाएको छ।

राष्ट्रपति भण्डारीलाई बेइजिङमा स्वागत गरेपछि चिनियाँ समकक्षी सी चिनफिङले नेपाल भ्रमण गर्ने सम्भावना बलियो रहेको स्रोतले जनायो। चिनियाँ एक उच्च अधिकारीले राष्ट्रपति सीको भ्रमण सन् २०१९ भित्रै हुनेमा आफू ढुक्क रहेको बताए। एसिया मामिलासमेत हेरिसकेका र नेपालबारे अध्ययन गरेका एक अधिकारी भन्छन्, ‘चीन हिमालपारि जानुपर्छ, नेपाल छुटाउन मिल्दैन।’ अघिल्लो कार्यकालमा नेपाललाई छुटाएका राष्ट्पति सी यो कार्यकालको मध्यतिर भने जाने उनको दाबी छ।

राष्ट्रपति सीको सन् २०१९ को भ्रमण तालिकामा भने नेपाल परेको छैन। तर, अन्तिम समयमा तय गरिने उनका भ्रमणसमेत हुँदै आएका छन्। प्रधानमन्त्रीलाई पटकपटक रातो कार्पेट ओछ्याएको भए पनि चीनले गणतन्त्रयता राष्ट्रप्रमुखलाई बेइजिङमा स्वागत गरेको छैन।

पहिलो राष्ट्रपति डा. रामवरण यादवले दुई पटक चीन भ्रमण गरेका थिए। तर, सांघाई (एक्स्पो) र हैनान (बोआओ सम्मेलन)। यद्यपी चीनले राष्ट्रप्रमुखलाई बेइजिङमा स्वागत गरेन। राजसंस्था अन्त्य भएको यतिका समयसम्म चीनले राष्ट्रप्रमुखलाई बेइजिङमा स्वागत नगर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ।

तपाईंको प्रतिक्रिया दिनुस्