गैरकानुनी रूपमा बसोबास गर्ने ९६ विदेशी देश फिर्ता

label सुदूर खबर संवाददाता query_builder April, 12 2019

काठमाडौं, चैत २९ । गैरकानुनी कार्यमा संलग्न रहेका ९६ विदेशी नागरिकलाई सरकारले उनीहरुकै देश फिर्ता गरेको छ । अध्यागमन विभागका अनुसार चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा ९६ जनालाई देश फिर्ता गरिएको हो ।अवैध कार्यमा संलग्न उनीहरु मध्ये अधिकांशको भिसा अवधि सकिएको थियो ।

गैरकानुनी रूपमा नेपालमा बसेर उनीहरूमध्ये अधिकांश विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहदै आएका थिए । तीमध्ये पनि धेरैजसो लागूऔषध ओसारपसार तथा सुन तस्करीजस्ता गतिविधिमा संलग्न रहेको विभागले जनाएको छ । विभागका निर्देशक रामचन्द्र तिवारीका अनुसार यसरी अवैध रूपमा नेपाल बस्नेमा चिनियाँ नागरिक सबैभन्दा बढी रहेका छन् ।

चिनियाँ नागरिकलाई नेपाल प्रवेशमा निःशुल्क भिसा उपलब्ध हुने गर्दछ । यद्यपि, उनीहरू विभिन्न व्यापारिक तथा आपराधिक कार्यमा संलग्न रहने गरेको पाइएको विभागले जनाएको छ ।

विदेशी नागरिकलाई नेपाल प्रवेशको स्वीकृति दिने, भिसा अवधि थप गर्ने, निषेधित क्षेत्रमा प्रवेशको अनुमति दिने र नेपालीहरूको विदेश प्रस्थान र आगमनलाई व्यवस्थित गर्ने तथा अध्यागमनसम्बन्धी आपराधिक मुद्दाका व्यवस्थापन गर्नेजस्ता कार्य अध्यागमन विभागले गर्दै आएको छ ।

विभागका पोखरासहित देशका मुख्य १० नाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयहरू छन् । यसरी विभिन्न नाका तथा हवाई मार्गमार्फत नेपाल प्रवेश गर्ने विदेशी नागरिकलाई नेपाल प्रवेश गर्ने क्रममा अध्यागमन कार्यालयमा सोझै भिसा दिने व्यवस्था पनि रहेको छ ।

नेपाल प्रवेश गर्नुअगावै भिसाका लागि आवेदन दिनुनपर्ने भएकाले विभिन्न आपराधिक गतिविधिमा संलग्न विदेशी नागरिक पनि सजिलै नेपालमा भित्रने गरेका छन् । नेपाल प्रहरीका अनुसार यसरी विभिन्न आपराधिक मानसिकता बोकेर नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरू सुन तस्करी, लागूऔषध बेचबिखन, अवैध व्यापार, अवैध मुद्रा ओसारपसार र यौनजन्य गतिविधिमा संलग्न हुने गरेका छन् ।

उनीहरूले भिसा अवधि सकिएपछि पनि नवीकरण नगरी निषेधित क्षेत्रमा अनुमति नलिई प्रवेश गर्नेलगायतका अवैधानिक कार्य गरेको पाइएको दाबी प्रहरीको छ ।

विशेष गरी अवैध कल बाइपासमा बंगलादेशी नागरिक, सुन तस्करीलगायतका अवैध व्यापारमा संलग्न हुनेमा फिलिपिन्स, कोरिया र चिनियाँ नागरिक तथा इरान, इजरायललगाायत विभिन्न देशका नागरिकले लागूऔषध ओसारपोसारमा संलग्न रहने गरेको पाइएको छ । बेलायत, फ्रान्स, अमेरिका तथा युरापेली मुलुकका नागरिकको संलग्नता भने यौन दुराचारलगायतका घटनामा बढी देखिएको प्रहरीले जनाएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।