डिग्रीको सर्ट्रिफिकेट बोकेर सामान्य स्थरको बिदेशमा जागिर खान जानु बेठिक- प्रचण्ड

label समाचार प्रकाशक query_builder April, 17 2019

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरू स्वदेशमा श्रम गर्न छाडेर सामान्य कामका लागि विदेश जानु ठीक नभएको बताएका छन्।

नेपाल कफी व्यवसाय प्रवर्द्धन सम्मेलनको उद्घाटन गर्दै उनले नेपालमा पढेकाहरू यहाँ श्रम गर्नुभन्दा विदेशमा नोकरी गर्नु उचित ठानिरहेको भन्दै नेपालको शिक्षा प्रणालीमै कमजोरी रहेको हुन सक्ने औंल्याए।

‘हाम्रा डिग्री होल्डर धेरै पढेका छन्, तर सामान्य नोकरीका लागि विदेश जानुपर्‍या छ’ उनले भने, ‘हाम्रा बाआमाले आत्मनिर्भर नेपाल दिए, हामीलाई स्वाधीन नेपाल दिए। अर्गानिक खानेकुरा दिए। तर हामीले न आधुनिक खेती गरेर न विदेश निर्यात गर्न सक्यौं न खाद्यान्नमा आत्मनिर्भर हुन सक्यौं।’

उनले नेपाल पहिले कृषिमा आत्मनिर्भर भए पनि अहिले उन्नत खेती प्रणालीको विकास भइसकेको बेला विदेशबाट आयात गर्ने अवस्था आउनु दु:खदायी भएको बताए।

उनले यत्तिका वर्ष हामीले के गर्यौं भनी प्रश्नसमेत गरे।

‘के पढ्यौं हामीले, कस्तो मान्छे बनायौं हामीले, यो विषय विचारणीय विषय हो’ प्रचण्डले प्रश्न गरे।

कृषिमा व्यवसायिकताका लागि विभिन्न कार्यक्रम आए पनि त्यसले कृषि उत्पादन बढाउनुभन्दा घटिरहेको उनले बताए।

देश विकासको मुख्य मेरुदण्ड कृषि रहेको भन्दै उनले स्वदेशमै श्रम गर्ने पद्धति विकास नभएसम्म कृषिमा आत्मनिर्भर हुन कठिन हुने उनको भनाइ थियो।

‘बाहिर गएर जस्तोसुकै श्रम गर्न पनि तयार, आफ्नै देशभित्र श्रम गरेर उत्पादन गर्नेतिर प्रवृत्त किन हुन सकेनौं ?’ उनले युवाहरूलाई प्रश्न गरे।

तपाईंको प्रतिक्रिया दिनुस्