दुर्गमको पिडा: जडीबुटीको भरमा स्वास्थ्य उपचार

label डीबी विष्ट query_builder April, 17 2019

डीबी विष्ट /सुदूर खबर
बैशाख ४ बझाङ
दुर्गम गाँउमा स्थानिय बासिन्दाहरुले स्वास्थ्य सेवा बाट समेत बन्चित हुनु परेको गुनासो गरेका छन् । नजीकै स्वास्थ्य संस्था नहुँदा बझाङ जिल्लाका केहि स्थानीय बासिन्दाहरुले अहिले पनि जडीबुटीको भरमा स्वास्थ्य उपचार गराउने गरेका छन् । यस्तै समस्या साईपाल गाँउपालिकामा रहेको छ । साईपाल गाँउपालिका वडा नम्बर ५ न्युना स्थानिय बासिन्दाहरुले अहिले पनि स्वास्थ्य उपचारका लागि जडीबुटीकै भर पर्नु परेको बताएका छन् । स्थानिय बासिन्दा दुधकला देवि बोहराले नजीक स्वास्थ्य संस्था नहुँदा निकै समस्या खेप्नु परेको गुनासो गर्नु भयो । हातमा सामान्य चोट लागे को भए पनि जडीबुटीको भर पर्दा आफुले निकै सास्ति खेप्नु परेको उहाँको भनाई छ ।

घर बाट काँडा स्वास्थ्य चौकी पुग्न तिन चार घण्टा भन्दा बढी र यस्तै वडा नम्बर पाँचमा कै धुलीमा रहेको बर्थिङ सैनटरमा पुग्न समेत एक दिन लाग्ने भएका कारण यहाँका स्थानीय बासिन्दाहरुले स्वास्थ्य संस्थामा नै नगएर जडीबुटीकै भरमा नै उपचार गराउने गरेको उनले बताईन् । हातमा चोट लागेर ईन्फेक्सन भएको एक महिना पछि मात्रै स्वास्थ्य संस्थामा उपचार गराउन आएको बताउदै बोहराले भनिन् । यो सामान्य समस्या हो । यो भन्दा ठुलो स्वास्थ्य समस्या भएकाहरु समेत घरमा नै विभिन्न जडीबुटी गरेर उपचार गराउन्छन् । यो त के हो ? भन्दै प्रति प्रश्न समेत गर्नु भयो ।


जंगलको बाटो र एकल ब्यक्तीहरु हिड्न नसक्ने र नजीक स्वास्थ्य संस्था नभएका कारण यहाँका स्थानीय बासिन्दाले यस्तो सास्ति खेप्नु परेको महिला स्वास्थ्य स्वयम् सेविका दीपा बोहराले बताईन् । उहाँका अनुसार ठुलो दुर्घटना वा ठुलो समस्या आएमा वा मान्छे नै मरण जीवनको दोसादमा पर्दा मात्रै स्वास्थ्य संस्थामा जाने गरेका छन् । स्वास्थ्य सम्बन्धि धेरै कुराहरु आफुले जानकारि गराउदा पनि यहाँको भौगोलिक अवस्थाका कारण स्वास्थ्य सेवा बाट बन्चित भएको उहाँको भनाई छ । यस्तै नजीक स्वास्थ्य संस्था नहुँदा यहाँका महिलाहरुले अकालमा नै ज्यान गुमाउने समस्या समेत धेरै रहेको वडा सदस्य अम्मरा देवि बोहराले बताईन् । महिलाहरु गर्भवती हुँदा समेत चार पटक चेक जाँच नगराउने घरमा नै बच्चा जन्माउने समस्या लगायतका धेरै स्वास्थ्य सम्बन्धि समस्या यस गाँउमा रहेको उहाँको भनाई छ । यो गाँउमा झण्डै २०।२५ भन्दा बढी परिवारको बसोबास छ ।


यता साईपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्र धामीले भने स्थानीय तह भै सके पछि आफुहरुले स्वास्थ्यको क्षेत्रमा धेरै परिवर्तन गरेको दावि गर्नु भयो । साविक काँडा गाविस हुँदा एउटै काँडा स्वास्थ्य चौकी भए पनि अहिले स्थानीय तह भै सके पछि प्रत्यक वडामा आफुहरुले बर्थिङ् सेन्टर संचालनमा ल्याएको र यसले यहाँका स्थानीय बासिन्दाको जीवनमा र स्वास्थ्य उपचार गराउन ठुलो सहयोग पुगेको बताए । गाँउहरु छरीएर रहेका र एक गाँउ बाट अर्को गाँउ पुग्न समेत एक दिन पुरा लाग्ने भएका कारण आफुहरुलाई समेत विकास गर्न निकै चुनौति रहेको उहाँको भनाई छ । यस्ता समस्याको समाधान गर्नका लागि बर्थिङ् सेन्टर र स्वास्थ्य चौकी बाट अब गाँउ गाँउमा नै स्वास्थ्यकर्मी पठाई स्थानीय बासिन्दाको चेक जाँच र औषधि उपचार गराउने ब्यावस्था मिलाईने उहाँको भनाई छ ।

तपाईंको प्रतिक्रिया दिनुस्