सहमतिमै विकास निर्माणमा जाने संकल्प गरेका छौं : प्रचण्ड

label सुदूर खबर संवाददाता query_builder April, 19 2019

चितवन, वैशाख ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड) ले सहमतिसाथ विकास निर्माणमा जाने संकल्प गरेको बताएका छन् ।

प्रदेश नम्बर–३ सरकारले शुक्रबार चितवनमा आयोजना गरेको निजी क्षेत्रसँग अन्तरक्रिया कार्यक्रममा अध्यक्ष दाहालले सबैको सहमतिबाटै देश समृद्ध हुने बताए ।

उनले भने–‘सहमतिसाथ संविधान बनायौं । सहमतिसाथ निर्वाचन गरायौं । अब सहमतिका साथ विकास निर्माणतर्फको यात्रा सुरु गर्ने संकल्प गरेका छौं ।’

सत्तापक्ष र प्रतिपक्षलगायत सबै दलको आवाजको सार अब समृद्धि नै हो भन्ने रहेको बताउँदै दाहालले अब यसलाई कार्यान्वयन गर्नका निम्ति हामीले विशेष ध्यान दिनुपर्ने बताए ।

सार्वजनिक र निजी क्षेत्र इमान्दारसाथ मिलेर विकास निर्माणमा लाग्नुपर्ने उनले बताए । उनले भने–‘कुनै पूर्वाग्रह लिएर होइन, निजी क्षेत्रसँग सहकार्य गर्नका लागि जब इमान्दार प्रयास हुँदैन, तबसम्म देश विकासले गति लिनै सक्दैन ।’

सरकारी क्षेत्रले निजी क्षेत्रलाई नकारात्मक ढंगले हेर्ने परिपाटीले विगतमा देश विकास हुन नसकेको बताउँदै उनले भने–‘राज्यले निजी क्षेत्रलाई विश्वासमा लिने पहल गर्नुपर्छ ।’ निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गर्न सकिएन भने स्वदेशी र विदेशी लगानी आउँछ भन्ने सपना देख्नु दिवासपनामात्रै भएको दाहालको भनाइ थियो ।

लामो समयदेखिको केन्द्रिकृत शासन प्रणाली अन्त्य भएर तीन तहका सरकार बनेको भन्दै उनले भने–‘नयाँ युगको सूत्रपात भएको छ, यसलाई सफल बनाउनुपर्छ ।’

२००७, २०१७ र २०४६ सालको जस्तो परिवर्तन अहिलेको नभएको भन्दै उनले भने–‘यो सामान्य मात्रात्मक होइन, गुणात्मक परिवर्तन हो ।’

गुणात्मक परिवर्तनलाई आत्मसात् गर्न सकेनौं भने यसलाई उपयोगीरुपमा राष्ट्रको पक्षमा, जनताको पक्षमा प्रभावकारी कार्यान्वयन गर्नै नसकिने उनले बताए ।

राजनीतिक परिवर्तनसँगै सोचमा पनि परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. रामशरण महतले योजना र नीति निर्माणको समस्या नभएर कार्यान्वयनको समस्या रहेको बताए ।

उनले भने–‘राम्रा र सुन्दर योजना त आउँलान् तर ती कार्यान्वयन हुन्छन् कि हुँदैनन् भन्ने महत्वपूर्ण विषय हो ।’ संघीयतासँगै तीन तहका सरकारले आफ्नो निर्णय क्षमता र गुणस्तर बढाउनुपर्ने बताउँदै उनले लगानीको वातावरण सिर्जना गर्नेतर्फ सरकार लाग्नुपर्ने बताए । विकास निर्माणलाई राजनीतिक विवादमा ल्याउन नहुने बताउँदै उनले भने–‘अब भाषण होइन, काम गरेर देखाउने समय आएको छ ।’

सांसद विनोद चौधरी, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेललगायतका सहभागी व्यवसायी र नीति–निर्माताले सो कार्यक्रममा बोलेका थिए ।

प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सो प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले यो प्रदेशमा लगानी गर्नुपर्ने क्षेत्रकाबारेमा प्रस्तुति दिएका थिए । कार्यक्रमअन्तर्गत् शनिबार पनि निजी क्षेत्रसँग बृहत् अन्तरक्रिया गरिँदैछ ।

  • रासस
तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।