प्रधानसेनापति थापाले भने– आचारसंहिता हास्यव्यंग्यको पुलिन्दा होइन

label सुदूर खबर संवाददाता query_builder April, 19 2019

काठमाडौं, वैशाख ६ । नेपाली सेनाले आर्थिक अपारदर्शिता, ‘चेनअफ कमाण्ड’ उल्लंघन र अनुशासन विपरीत गतिविधिका सम्बन्धमा संगठनभित्र कठोर नीति अवलम्बन गर्ने भएको छ ।

‘सैनिक सदाचारको उत्साह’ भन्ने नाराका साथ आजदेखि शुरु भएको सैनिक आचारसंहिता सप्ताह शुभारम्भ गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले आचारसंहिता हास्यव्यंग्यको पुलिन्दाजस्तो नभएकाले यसको पालना नगर्नेलाई कारवाहीको दायरामा ल्याइने चेतावनी दिए ।

उनले भने, ‘सेनाले आचारसंहिता सप्ताह मनाउनुपर्ने अवस्था आउनु आफैँमा विडम्बना र गम्भीर घटना हो, भ्रष्टाचारलगायत अन्य विकृति अहिले सुधार गर्न नसके कहिल्यै सुधार हुने छैन ।’

हाम्रा पूर्खाको बलिदानबाट गौरब गर्न लायक संगठनका रुपमा नेपाली सेना उभिनुपर्छ भन्दै प्रधानसेनापति थापाले सेनाको छवि धुमिल्याउन अझैपनि केही शक्ति सक्रिय रहेको बताए । आर्थिक अनियमिता विरुद्ध सङ्गठनले लिएको शून्य सहनशीलताको नीति जङ्गी अड्डाबाटै शुरु गरिने बताउँदै उनले विगतमा भएका अपारदर्शी क्रियाकलापले संगठनलाई पारदर्शी बनाउन कठिन भएकाले यस विषयमा सकल दर्जाले हेक्का राख्नु आवश्यक भएको उल्लेख गरे ।

प्रधानसेनापति थापाले भने, ‘आर्थिक अभाव छ भनेर अनियमिता गर्ने कसैलाई छुट छैन, पदोन्नति र शान्तिसेनामा सहभागिताजस्ता विषयमा प्रभावशाली व्यक्तिबाट भनसुन गराइ दबाब दिने प्रयास भएमा त्यसको अभिलेख राखिने भएकाले वृत्ति विकासमा त्यसको असर पर्छ तर सङ्गठनमा त्यो प्रवृत्ति अझै पनि अन्त्य हुन सकेको छैन ।’

नेपाली सेना भनेको ‘चेन अफ कमाण्ड’ र पद्धतिमा चल्ने तथा अनुशासन र बलिदानमा मान्यता राख्ने संगठनका रुपमा राष्ट्र र जनताहितका खातिर बफादार भइ काम गरिरहेको सो अवसरमा जानकारी दिइयो ।

सेनाले प्रत्येक वर्ष पहिलो महिनाको पहिलो साता आचारसंहिता सप्ताह मनाउने घोषणा गरेको छ । उक्त सप्ताहका क्रममा सेनाका सकल दर्जालले गर्नुपर्ने, गर्न हुने र गर्न नहुने एवं आर्थिक पारदर्शिता, भर्ना छनोट, राजनीतिक भेटघाट, सार्वजनिक अभिव्यक्ति दिँदा हेक्का राख्नुपर्नेबारे मुख्यालयदेखि तल्ला तहको निकायसम्म प्रशिक्षण दिने भएको छ । प्रधानसेनापति थापाले आचारसंहितासम्बन्धी पुस्तक पनि लोकार्पण गरे ।

  • रासस
तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।