नेकपाको ७७ वटै जिल्ला नेतृत्वको घोषणा आज

label सुदूर खबर संवाददाता query_builder April, 22 2019

काठमाडौं, बैशाख ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकताले आज (सोमबार) पूर्णता पाउँदै छ। केन्द्रमा एकता भएको ११ महिनापछि आज एकैचोटि ७७ जिल्लाका अध्यक्ष र सचिवको घोषणा गरेर नेकपाले एकता टुंगिएको सन्देश दिने तयारी गरेको छ।

दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा हुने कार्यक्रममा ७७ जिल्ला नेतृत्वको घोषणा गरिने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए। सोमबार नेकपाको ७० औँ पार्टी स्थापना दिवस तथा लेनिन जयन्ती पनि हो। पार्टी स्थापना दिवसको अवसरमा नेकपाले पार्टी एकता टुंगिएको सन्देश दिन खोजेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको सचिवालय बैठकले एकतालाई अन्तिम रुप दिएको हो। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताले तयार पारेको प्रस्तावलाई आइतबार साँझ बसेको सचिवालय बैठकले पारितको हो।

७७ जिल्ला नेतृत्वको घोषणापछि एकीकरणको मूल कामले पूर्णता पाउने नेकपाका नेताहरुले बताएका छन्। एकताको बाँकी काम पनि केही दिनमै सक्ने नेकपाको तयारी छ। जिल्लामा मूल नेतृत्व टुंगो लागेपछि जिल्ला कमिटिहरू बन्नेछन्।

श्रोतका अनुसार एकताप्रति फरक मत राख्दै आएका वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि अध्यक्षद्वयले सहमतिमा ल्याएका छन्। कतिपय जिल्लामा नेपाल पक्षका नेतालाई नेतृत्व दिएर सममतिमा ल्याइएको हो।

सचिवालय बैठकले भूगोलबाहेकका प्रवास कमिटी, केन्द्रीय सम्पर्क समन्वय कमिटी, उपत्यका विशेष प्रदेश र त्यसअन्तर्गतका तीन जिल्लासँगै २२ जनसंगठनको एकीकरण भने टुंग्याउन बाँकी छ।

पूर्वएमालेलाई ४४, पूर्वमाओवादीलाई ३३ जिल्लाको नेतृत्व

नेकपा सचिवालयले पूर्वएमालेले ४४ र माओवादीले ३३ जिल्लामा नेतृत्व पाउने गरी भागबन्डा गरेको श्रोतले जनाएको छ। तर नेकपाका प्रवक्ता प्रकाशले भने कुन पक्षलाई कति जिल्लाको नेतृत्व भन्ने विषय आफ्नो जानकारीमा नभएको दावी गरे।

पूर्वएमालेको भागमा अध्यक्ष परेको जिल्लामा सचिव पूर्वमाओवादी पक्षको हुने र पूर्वमाओवादीले अध्यक्ष पाएको जिल्लामा सचिव पूर्वएमालेको हुने सैद्धान्तिक सहमतिका आधारमा एकता टुंगाइएको हो।।

विगतमा दुवै पार्टीमा जो–जो जिल्लाका अध्यक्ष थिए, उनीहरूलाई नै नेतृत्व दिने, उनीहरूले नमानेको वा नसक्ने अवस्थामा मात्रै सम्बन्धित कमिटीको अर्को तहका नेतालाई जिम्मेवारी दिने सहमति भएको श्रोतले जनाएको छ।

यसअघि जनप्रतिनिधिलाई पार्टी जिम्मेवारी नदिने निर्णय नेकपाले गरेको थियो। तर, नयाँ मापदण्ड अनुसार भने सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुखमा निर्वाचित नेता पनि पार्टीका जिल्ला अध्यक्ष र सचिव बन्न पाउने भएका छन्।

मंगलबार बस्ने सचिवालय बैठकले पार्टीको पोलिटब्युरो गठन गर्ने नेकपाको तयारी छ। एक सय ४७ सदस्यीय पोलिटब्युरोमा पूर्व एमालेबाट ८१ र पूर्व माओवादीबाट ६६ जना रहने सहमति शीर्ष तहमा भइसकेको श्रोतले जनाएको छ।

सचिवालय बैठकले चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीको एकतिहाइ रहने गरी एक सय ४७ सदस्यीय पोलिटब्युरो गठन गर्ने प्रस्ताव गरेको छ। पोलिटब्युरोमा पूर्वएमालेबाट ८१ र माओवादीबाट ६६ जना रहने तयारी छ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।