विदेश जाँदा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न सकिने

label सुदूर खबर संवाददाता query_builder April, 29 2019

काठमाडौं, बैशाख १६ । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा सोमबारदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ ।

प्रारम्भमा यो सेवा भारत र चीनमा लागु हुने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए । अब नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ता चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न सक्ने छन् ।

नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन तथा प्राप्त गर्न सक्ने छन । त्यसैगरी सोही मोबाइलबाट चीन वा भारतका स्थानीय मोबाइल अपरेटरका नम्बरमा समेत कल गर्न सक्ने प्रवक्ता वैद्यले जानकारी दिए ।

“चीनमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट रु ५० लाग्नेछ भने चीनबाट नेपालमा कल गर्दा प्रतिमिनेट रु ९० लाग्ने छ”, प्रवक्ता वैद्यले भने ।

त्यसैगरी नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट रु ५३ लाग्नेछ । भारतमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट रु ३० लाग्नेछ भने भारतबाट नेपालमा कल गर्दा प्रतिमिनेट रु ३० लाग्ने छ । नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट रु १४ लाग्ने छ ।

भारत वा चीनबाट नेपालबाहेकका देशमा कल गर्दा प्रतिमिनेट रु ३९७ लाग्ने छ भने एसएमएसको हकमा चीनबाट नेपाल पठाउँदा प्रतिएसएमएस रु ५४ र भारतबाट प्रति एसएमएस रु २४ लाग्ने छ । एसएमएस प्राप्त गर्न कुनै शुल्क लाग्ने छैन ।

कम्पनीको वार्षिकोत्सवको अवसरमा गत माघ २२ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ’ सेवाको शुभारम्भ गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।