चिनियाँलाई लक्षित गरी आक्रमण, पाँच जनाको मृत्यु

label सुदूर खबर संवाददाता query_builder May, 13 2019

काठमाडौं, बैशाख ३० । पाकिस्तानको एउटा ठूलो होटलमा आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार बलोचिस्तान प्रान्तस्थित एउटा विलासी होटलमा शनिवार भएको आक्रमणमा परी होटलका चार कर्मचारी र एक सैनिकको मृत्यु भएको हो ।

अरब सागरनजिकै ग्वादारमा रहेको जाभेर पर्ल कन्टिनेन्टल होटल शनिवार अपराह्ण छिरेका तीन बन्दुकधारीसँग सुरक्षाकर्मीको भिडन्त भएको थियो । भिडन्तमा तीनजना आक्रमणकारी पनि मारिएका छन् ।

होटलका प्रवक्ताका अनुसार रमजानको बेला भएकाले होटलमा अतिथि थिएनन् र कर्मचारीहरू पनि थौरै संख्यामा थिए ।

पृथक्तावादी समूह बलोचिस्तान लिबरेशन आर्मीले आक्रमणको जिम्मेवारी लिँदै चिनियाँ र अन्य लगानीकर्तालाई लक्षित गरिएको बताएको छ । सो होटल अर्बौँ डलर चिनियाँ लगानीमा बनेको एउटा परियोजनामा पर्छ ।

विदेशी लगानीबाट स्थानीय जनतालाई लाभ नपुगेको भन्दै बलोच लडाकुहरूले विदेशी लगानीको विरोध गर्ने गरेका छन् ।

बलोचिस्तान चीनको महत्त्वाकाक्षी परियोजना सीपीईसीको मुटुमै पर्छ । त्यहाँ चीनले भौतिक पूर्वाधार निर्माण गर्न ठूलो लगानी गरेको छ।

आफ्नो देशको सिन्जियाङ प्रान्त र बलोचिस्तानस्थित अरब सागरको ग्वादार बन्दरगाह जोड्ने चीनको लक्ष्य छ ।

बलोचिस्तानमा ठूलो जनघनत्व छैन । तर त्यहाँ ग्यास र कोइलाको ठूलो भण्डार रहेको छ । त्यहाँ तामाखानी र सुनखानी पनि छन् ।

प्राकृतिक स्रोत र खनिज पदार्थसम्पन्न भए पनि बलोचिस्तान आर्थिक रूपमा विपन्न छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।