फाइनलमा धोनीको गल्तीका कारण मुम्बईसँग हार्‍यो चेन्नई !

label सुदूर खबर संवाददाता query_builder May, 13 2019

काठमाडौं, बैशाख ३० । इन्डियन प्रिमियर लीग (आईपीएल) को १२औं संस्करणको फाइनलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीचको खेल निकै रोमाञ्चकारी रह्यो । मुम्बईले चेन्नईलाई जम्मा एक रनको झिनो मार्जिनले हराएर चौथोपटक आईपीएल उपाधि जित्यो ।

अन्तिम बल फ्याँकेका थिए मुम्बईका सबभन्दा अनुभवी तीव्र गतिका बलर र योर्कर विशेषज्ञ लसिथ मालिंगाले । स्ट्राइकमा थिए चेन्नईका शार्दूल ठाकुर । चेन्नईले जीतका लागि १५० रन बनाउनुपर्ने स्थितिमा शार्दूल ठाकुर मैदानमा ओर्लिए । त्यतिखेर टीमलाई दुई बलमा चार रन मात्र चाहिएको थियो ।

मलिंगाको पहिलो बलमा ठाकुरले दुई रन बनाए तर अन्तिम बलमा उनी मालिंगाको शानदार अफकटरको शिकार बने । बल मिडल स्टम्पको ठ्याक्कै अगाडि उभिएका ठाकुरको प्याडमा गएर रोकियो । अनि अम्पायरलाई आउटको इशारा गर्दै चोर औंला उचाल्न कुनै हिचकिचाहट भएन ।

त्यसपछि मुम्बईको डगआउटमा बसेका खेलाडी जोश र खुशीका साथ मैदानभित्र दौडिए । उता चेन्नईमा चाहिँ निराशा छायो । प्याड लगाएर हातमा ब्याट लिएर हरभजन सिंह रिसाएर उठे तर महेन्द्र सिंह धोनीले अन्तिम बलमा ठाकुरलाई पठाएर गल्ती गरेको धेरैलाई लाग्यो ।

क्रिकेट समीक्षक विजय लोकपल्ली पनि धोनीले गल्ती गरेको ठान्छन् । ठाकुरको साटो हरभजन सिंहलाई पठाउनुपर्थ्यो किनकि उनी चौका र छक्का हान्न माहिर छन् भन्ने लोकपल्लीको विश्लेषण छ । अर्का क्रिकेट समीक्षक आयाज मेमनले चाहिँ प्रथम श्रेणी क्रिकेटमा शार्दूल ठाकुरको ब्याटिङ हेरेको आधारमा धोनीले यो निर्णय लिएको बताए ।

धोनीले निर्णय त लिए तर हरभजन सिंह चाहिँ ठाकुरभन्दा निकै अनुभवी खेलाडी हुन् । अनि उनीसँग दबाब सहने शक्ति बढी भएको पनि आयाज मेमन बताउँछन् । तर ठाकुर हरभजनभन्दा युवा हुनाले रविन्द्र जडेजासँग फास्ट दगुरेर दुई रन लेलान् भन्ने अपेक्षा धोनीले लिएको हुनुपर्छ ।

लगभग मुट्ठीमा आइसकेको खेल हार्नुभन्दा ठूलो निराशा चेन्नई र यसका कप्तान धोनीलाई अरू केही हुन सक्दैन । त्यसबाहेक चेन्नईलाई जीतको संघारमा लगेर ओपनिङ ब्याट्स्म्यान शेन वाट्सन रनआउट भइदिँदा पनि चेन्नई हार्न पुग्यो ।

वाटसनले शानदार ब्याटिङ गरेको भए पनि आफ्नो अनुभवलाई उपयोग गरेर म्याच जिताएर मात्र डगआउटमा फर्किनुपर्थ्यो, लोकपल्ली भन्छन् । उनले म्याच जिताइदिएको भए क्रिकेटप्रेमीहरूले लामो समयसम्म उनलाई याद गर्थे । उमेर ढल्केको खेलाडीले कसरी आफ्नै बलबुतामा चेन्नईलाई लगातार आईपीएल फाइनल जिताए भनी लामो समय याद हुन्थ्यो ।

मुम्बईको जीतपछि के भन्न सकिन्छ भने युवा मुम्बईले बूढा सिंहहरूलाई हराइदियो । तर तिनै बूढा सिंहहरूले अन्तिम बलसम्म पनि युवा टीमसँग संघर्ष गरेको थियो र जम्मा एक रनले हारेको हो भन्ने कुरा बिर्सनुहुँदैन ।

अन्तिम ओभरमा कमाल गरेर मालिंगाले त्यसअघिको आफ्नो ओभरमा २० रन दिएका थिए । तर महत्त्वपूर्ण ओभरमा विकेट लिएर उनले टीमलाई जिताए । मालिंगा आफैं ३५ वर्षका छन् र उनलाई पनि बूढो सिंह नै भन्न सकिन्छ ।

  • बीबीसी हिन्दीबाट
तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।