गृहमन्त्री र अमेरिकी उप–सहायकमन्त्रीबीच भेट, के विषयमा भयो छलफल ?

label सुदूर खबर संवाददाता query_builder May, 15 2019

काठमाडौं, जेठ १ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिलाका कार्यवहाक उपसहायक मन्त्री डेभिड जे रेन्जबीच बुधबार भेटवार्ता भएको छ।

गृह मन्त्रालयमा भएको सो भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो।

भेटमा गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालिम र भौतिक संरचना निर्माण लगायतका क्षेत्रमा अमेरिकाले गरिरहेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त गरे। उनले केही महिनाअघि नेपालका परराष्ट्रमन्त्रीको अमेरिका भ्रमण र सो क्रममा भएका सहमतिले नेपाल र अमेरिका सम्बन्धलाई थप उचाइमा पुर्‍याउन भूमिका खेलेको चर्चा गरे।

गृहमन्त्री थापाले नेपालको राजनीतिक स्थिरतासँगै अब तीव्र आर्थिक विकासको चरणमा प्रवेश गरेको जानकारी दिँदै यसमा अमेरिकी सरकार र जनताको सहयोगका लागि उपसहायक मन्त्री रेन्जसँग आग्रह गरे। अमेरिकाले ‘मिलिनियम च्यालेन्ज कपरेसन’मार्फत नेपाललाई प्रदान गरेको आर्थिक सहयोगले नेपालको आर्थिक विकास तथा विद्युतीकरणका लागि महत्वपूर्ण हुने गृहमन्त्रीको भनाइ छ।

भेटमा उपसहायकमन्त्री रेन्जले नेपाल र अमेरिकाको सम्बन्धको चर्चा गर्दै यो सम्बन्धलाई थप उचाइमा लैजान आवश्यक रहेको बताए। उनले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, मानव बेचबिखन लगायतका क्षेत्रमा अमेरिकाले सहयोग गरिरहेको बताउँदै दिँदै त्यो सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।

उपसहायकमन्त्री रेन्जले अमेरिकी स्वयंसेवी समूह ‘पिस कर्पस’को प्रवेशाज्ञाको समयावधि थप तथा नेपालको अध्यागमन प्रणालीको स्तरोन्नतिका लागि सहयोग लगायतका विषयमा समेत गृहमन्त्री थापासँग कुरा राखेका थिए। भेटवार्तामा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी बेरीसमेत सहभागी थिए।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।