फुलमतीले तरकारी फलाएरै लाखौं आम्दानी गर्दै

label समाचार प्रकाशक query_builder May, 15 2019

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाकी फूलमति चौधरीले व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेको १२ वर्ष भयो ।
चौधरी थारुको बाहुल्यता रहेको बालुवाफाँटामा फूलमति जस्तै करीब दुई सय महिलाले व्यावसायिक तरकारीखेती गरेर गाउँनै हराभरा बनाएका छन् ।

“यहाँ रहेका घरमा पाँच कठ्ठादेखि एक बिघासम्म तरकारीखेती गरिएको छ”‘तरकारी बारीमै भेटिनुभएकी चौधरीले भन्नुभयो, “मेहनत गरे अनुसारको फल मिलकै छ ।”

उहाँले पछिल्लो समय तरकारी खेतीमा पूरै गाउँको आकर्षण बढेको जानकारी दिनुभयो । “दैनिक दुई घण्टाको यात्रा गरेर तरकारी कैलालीको अत्तरीयास्थित सब्जीमण्डी पु¥याएकै छौं”, चौधरीले भन्नुभयो,“बालुवाफाँटावासीको आयस्रोतको प्रमुख माध्यमनै तरकारीखेती हो ।” उहाँले वार्षिक रु एक लाख ५० हजारसम्मको तरकारी बिक्री गरिरहेको बताउनुभयो ।

“यहाँ पहिले चौधरी थारु समुदायका विद्यार्थी सबै सरकारी विद्यालयमा जान्थे”, उहाँले भन्नुभयो,“तरकारीबाट मनग्य आम्दानी हुन थालेपछि अहिले सबै छोराछोरी निजी विद्यालय पढाउन थालेका छन् ।”चौधरीले गाउँमा छोराछोरीलाई निजी विद्यालय पढाउने लहर नै चलेको बताउनुभयो । “आम्दानीअनुसार मैले पनि अहिले कान्छो छोरालाई बोर्डिङमा भर्ना गरेको छु”, उहाँले भन्नुभयो, “वार्षिक रु १५ हजार भए छोराको पढाइखर्च चल्छ ।”

गाउँका महिला तरकारी खेतीसँगै विभिन्न किसान समूह तथा कृषि सहकारीमा समेत आवद्ध भएका छन् । यसले महिलाको सशक्तिकरणमा समेत सहयोग पुगेको छ । कतिपयले हरेक महीना मासिक रु एक सय अनिर्वाय बचत पनि गर्ने गरेका छन् ।

विसं २०५२ देखि तरकारी फलाउँदै आएका लालबहादुर चौधरीले भन्नुभयो,“हाम्रो कृषि सहकारीमा पनि अहिले ५० जना तरकारीखेती गर्ने किसान आवद्ध छन् ।”गाउँमा इन्द्रेणी कृषि सहकारी समेत सञ्चालनमा ल्याएका तरकारीखेती गर्दै आएका किसान मासिक रुपमा बचत गरेका छन् भने व्यवसाय बढाउन र सहज बनाउन सहकारीबाट ऋण समेत लिने गरेका छन् ।

“मैले पनि तरकारीखेती गर्न रु ४१ हजार ऋण लिएको थिए”, लालबहादुरले भन्नुभयो,“सबै ऋण तिरेर दुईवटा नातीलाई बोर्डिङ पढाइरहेको छु ।”गाउँमा तरकारी उत्पादन व्यापक भए पनि खपतका लागि भने बजारको समस्या रहेको किसानको भनाइ छ ।

“बैलगाडा, मोटरसाइकल र टाउँकामा बोकेरसमेत तरकारी बेच्न अत्तरिया जानुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो “नजिकै कु बजार नहुँदा समस्या भयो ।” गाउँमा पुरुष भन्दा बढी महिला तरकारीखेतीमा सक्रिय रहेको लालबहादुरको भनाइ थियो ।

“पुरुषले तरकारी खेतीमा लाग्ने घरका महिलालाई निकै सहयोग गरेका छन्, तरकारी खेतीबाट मुनाफा हुँदा रोजगारीका लागि भारत जानुपरेको छैन”, उहाँले भन्नुभयो ।त्यसैगरी स्थानीय किसान जीत चौधरीले गाउँमा सन्ततिलाई राम्रो शिक्षा दिन निजी विद्यालयमा अध्ययनका लागि पढाउने लहर चलेको बताउनुभयो । “बालमुक्ति आधारभूत विद्यालय गाउँमा हुँदा पनि बसमा राखेर बच्चालाई गुलरियामा रहेको सरस्वती विद्या निकेतन पढाउन थालेका छन्, बोर्डिङमा बच्चा पढाउने गर्व महशुस गर्छन्”, चौधरीले भन्नुभयो ।

आफूसँग भएको १३ कठ्ठा जमीनमा तरकारीखेती गरिरहेका स्थानीयवासी द्रोपती चौधरीले तरकारीबाट भएको आम्दानीले घरको खर्चका साथै बालबालिकाको पढाइखर्च चलिरहेको बताउनुभयो । आफ्नै माटोमा मेहनत गर्नुपर्छ भन्ने भावनाले नै यहाँ हरेक घरमा चाहे अनुसारको तरकारीखेती फष्टाएको र यहाँको तरकारीखेती रोजगारी नै भएको उनीहरुको भनाइ छ ।

“मेहनत गरेर तरकारीखेती गरिरहेकालाई प्याकेजमा अनुदान दिनुपर्ने वातावरण हुनुप¥यो”, उहाँले भन्नुभयो, “उत्पादन भएर मात्रै भएन बजारको उचित प्रबन्धका लागि पनि स्थानीय तहको ध्यान समयमै जानु जरुरी छ ।”

कृष्णपुर नगरपालिका–६ बालुफाँटाका वडाध्यक्ष नत्थुराम चौधरीले बालुवलाफाँटा तरकारीमय भएको बताउनुभयो । “यहाँ हरेक घरमा तरकारी किसान निकै खटिएर उत्पादनमा लागेका छन्”, वडाध्यक्ष चौधरीले भन्नुभयो, “बिक्रीको समस्या हुन नदिन वडाले गाउँमै तरकारी सङ्कलन केन्द्र निर्माण गर्दैछ ।” वडा कार्यालयले तरकारी सङ्कलन केन्द्र निर्माण गर्न रु द्ुई लाख रकम समेत विनियोजन गरेको छ ।

त्यसका साथै कृष्णपुर नगरपालिकाले समेत बालुवाफाँटामा तरकारी पकेटक्षेत्र बनाएर किसानलाई विभिन्न सहुलियत तथा अनुदान दिइरहेको वडाध्यक्ष चौधरीको भनाइ थियो ।“कृषि समूहमार्फत पकेट क्षेत्रका किसानलाई अनुदान तथा सहुलियत दिएका छौं”, उहाँले भन्नुभयो, “किसानको प्रोत्साहनका लागि वडा कार्यालयले थप कार्यक्रम ल्याउनेछ ।”
OsNepal

तपाईंको प्रतिक्रिया दिनुस्