बहु व्यवसायमा डोटीका युवा डौडी

label झलक पाली query_builder June, 04 2019

डोटी, जेठ २१ । डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं. १ खिरसैन डौडीगाउँका ३६ वर्षे युवा डम्मर सिं डौडी एक्लैले विभिन्न व्यवसाय सञ्चालन गरेका छन् ।

उनले होटल व्यवसाय, कुखुरापालन व्यवसाय र यातायात व्यवसाय एकैसाथ सञ्चालन गरिरहेका छन् । डौडीले गाउँमा झण्डै ७ लाख व्यक्तिगत लगानी र ५ लाख जिल्ला युवा समिति डोटीबाट ऋण लिएर गत वर्षदेखि कुखुरा पालन गरिरहेका छन् ।

गत वर्ष कार्तिकमा दुइ छुट्टाछुट्टै खोरमा गरी १ हजार २० वटा लेयर्स–हाइलेन जातका कुखुराका चल्ला किनेर व्यवसाय शुरु गरेका हुन् । जसमध्ये ३२ वटा कुखुरा बिचैमा मरेर अहिले ९ सय ९८ वटा कुखुरा उनिसँग छन् ।

कुखुरापालनका लागि २०७४ सालबाटै तयारी थालेका डौडीका कुखुराले गत चैत्र महिनादेखि दैनिक सरदर ९ सय वटा अण्डा उत्पादन दिइरहेको उनि बताउँछन् ।

यसै बिचमा नेपालमा बर्ड फ्लुको हल्ला फैलिएपछि जिल्ला बाहिरबाट सस्तोमा अण्डा भित्रिएपछि उनलाई अण्डा विक्रि वितरणमा निकै समस्या आयो । गएको बैशाख महिनातिर झण्डै एक महिना उनले दैनिक २ दुइ हजार २ सयको घाटा व्यहोर्नुपर्यो । उनि भन्छन्–‘अहिले ९ सय ९८ वटा कुखुराले दैनिक डेढ कुन्टल अर्थात् साढे ९ हजारको चारो मात्रै खान्छन् । तर अण्डाको बजार मूल्य घटेकाले समस्या आएको छ दैनिक ठूलो घाटा छ ।’

दैनिक उत्पादन भएको अण्डा स्टोर गर्न समस्या भएको र बजारमा विक्रि गर्न गाडी भाडामा लिनुपर्ने तर भनेको समयमा गाडी पनि नपाईने समस्या भएपछि डौडीले अहिले २२ लाख ७५ हजारको लगानीमा महिन्द्रा बोलेरो गाडी खरिद गरेका छन् ।

पूर्वीचौकी गाउँपालिकामा रहेको ग्लोबल बैंकबाट १३ प्रतिशत ब्याजमा रु १५ लाख र गाउँका छरछिमेकबाट बाँकी रकम २ प्रतिशत ब्याजमा ऋण मागेर उनले जीप खरिद गरेको सुनाए । अब अण्डा विक्रिवितरणमा भने सहज हुने उनि बताउँछन् । उनले स्थानीय बजार साझघाट, चौखुट्टे, सिलगढी, अछामको साँफेबगर देखि मैगलशैन सम्म पुर्याएर अण्डा विक्रि गरिरहेका छन् ।

प्रति पेटी १ हजार ८ सयदेखि २ हजार २ सयसम्म बिक्रि गरेको बताए । प्राविधिक रुपमा तालिम नलिएकै भए पनि कुखुरापालनका लागि इन्टरनेटको सहायता र केहि पशु चिकित्सकसँगको सल्लाहमा औषधी खुवाउनेदेखि इन्जेक्शनसम्म आफै लगाइरहेको बताए । कुखुरापालनमा उनीसँगै उनकी श्रीमती र घरपरिवारले पनि सघाइरहेका छन् । व्यवसायिक पशुपालक किसानलाई स्थानीय तहले प्राविधिक सहयोग, अनुदान सहयोग र बजारीकरण मा सहयोग गर्नुपर्ने उनको माग छ ।

उनले २०७० सालदेखि जिल्ला सदरमुकाम सिलगढीमा रिमझिम होटल एण्ड लज पनि सञ्चालन गर्दै आएका छन् । होटलमा पनि आफुसँगै घरपरिवार, भतिजा र सालाले सघाईरहेका छन् । तथापी डोटीबाट क्षेत्रीय राजधानी कैलाली सरेपछि व्यवसाय भने चौपट भएको उनि सुनाउँछन् ।

वि.सं. २०६७ देखि २०७४ सालसम्म स्थानीय भगवती आधारभूत विद्यालयमा प्राथमिक विद्यालयमा शिक्षण गरेका डौडी २०७४ सालमा वडा अध्यक्षमा चुनाव लडे तर सफलता पाउन सकेनन् । उनि नेकपा डोटी जिल्ला कमिटिमा रहेर राजनीतिमा पनि सक्रिय छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्