यो गर्मी मौसममा डेंगुरोग कसरी सर्छ ? डेंगुबाट बच्ने उपाए सहित डा.सापको सुझाव पढ्नुहोस

label समाचार प्रकाशक query_builder June, 07 2019

डा. नारायण ज्ञवाली र डा. समिरमणि दिक्षित

‘धरान उपमहानगरपालिकामा डेंगुको संक्रमणले ७० जना बिरामी परेका छन्। डेंगु लागेको हो वा होइन छुट्टाउन आवश्यकताअनुसार किट नै छैन र उपमहानगरपालिकाले स्वास्थ्य मन्त्रालय, रोग नियन्त्रण महाशाखालाई किट उपलब्ध गराउन आग्रह गरेको समाचार आएको छ।’

यी समाचारहरू आइरहँदा धरानवासी र छिमेकी सहरी क्षेत्रका बासिन्दाहरू त्रसित भएका छन्। रोग, अनि महामारीले जनमानसमा भय उत्पन्न त गर्छ नै, त्यसमा पनि निदान (दिअग्नोस्तिक) को लागि किट नै छैन भन्ने समाचारले त्रास चुलिएको छ। यो लेखमा, हामी, यस्ता समाचारहरू आइरहँदा हामी नागरिक, स्वास्थ संस्था र राष्ट्रले के-कसरी भूमिका निर्वाह गर्ने भन्ने विषयमा टिप्पणी गर्नेछौं।

सुरू गरौं, डेंगु के हो भनेर।

एडिस (Aedes) जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु पनि हो। यसको संक्रमणमा सुरूआती दिनमा ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुने जस्ता लक्षणहरू देखा पर्छ। संक्रमितमध्ये केही थोरै भने सिकिस्त पनि हुन सक्छन्। रगतमा पानीको मात्रा कम भई रक्तचाप कम हुन्छ। शरीरमा प्लेटलेटको सङ्ख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकोले शरीरमा डाबर आउने लक्षण देखा पर्न सक्छ। रक्तचाप निकै कम हुने र शरीरमा आवश्यक रगतको अभावमा बिरामी सिकिस्त भई मृत्युसम्म हुनसक्ने भएकोले बेलामा (सामान्य ज्वरो हुँदा) नै चिकित्सकको निगरानीमा उपचार गराउनु बुद्धिमानी हुनेछ।

त्यसोभए,शिघ्र उपचार बाहेक नागरिक, स्वास्थ-संस्था र राष्ट्रले के-कसरी भूमिका निर्वाह गर्ने भन्ने विषयमा संक्षिप्त टिप्पणी गरौं।

महामारीको समयमा सबभन्दा ठूलो दायित्व सरकार र सरकारका निकायमा बस्नेहरूको नै हुन्छ। किटनै छैन, उपचारनै छैन, उपल्लो निकायलाई गुहारेका छौं, जस्ता अभिव्यक्तिहरू नितान्त गैरजिम्मेवार, जनमानसलाई हतोत्साही गराउने र त्रास पैदा गराउने खालका छन।

हो, पूर्व तयारी नहुन सक्छ तर निदान गर्ने किटहरू सस्तै पर्ने र जाँचको लागि कुनै नयाँ प्रविधि र विशेष सीप नचाहिने हुँदा, सरकारको लागि यी कुराको शिघ्र उपलब्ध गरिदिन कुनै समस्या पर्ने देखिँदैन,जसको लागि सरकार र सरकारी निकाय जिम्मेवार हुनैपर्छ। स्तरीय किट खरिद गर्दा पनि ३० हजारदेखि ५० हजार रुपैयाँको किट (Dengue IgM ELISA) खरिद गर्दा लगभग ७० देखि ८० जना बिरामीको रोगको निदान गर्न सकिन्छ। पूर्ण आशा राखेर हामी ढुक्क हुनेछौं, धरान उपमहानगरपालिका र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ‘किट छैन’ भन्ने अवस्था सृजना गर्ने छैनन्।

अब कुरा गरौं, हामी नागरिक तहमा के/कस्तो भूमिका निर्वाह गर्न सक्छौं। विगतमा २०१० पछि नेपालमा विशेषत चितवन,झापा,महोत्तरी र रुपन्देहीमा डेंगुको संक्रमण अत्यधिक रूपमा पाइन्छ।

तराईमा नै एडिस लामखुट्टेको उपस्थिति, उस्तै हावापानी र पर्यावरण भएता पनि माथिका जिल्लामा बाहेक अरु क्षेत्रमा बिरामी प्रस्टै रूपमा कम हुनुले डेंगु एकैचोटि देशव्यापी महामारीको रूपमा देखा नपर्ने स्पष्ट संकेत गर्छ। यदि कोही डेंगु संक्रमित भएर आयो, अनि स्थानीय एडिज लामखुट्टेले त्यो संक्रमित व्यक्तिलाई टोकी आफैं संक्रमित हुन पाए भने, वरिपरि अथवा परिवारकै अरु सदस्यलाई सार्न थाल्छन्।

यी लामखुट्टेहरू जसका खुट्टा र जिउमा सेतो चिन्हहरू हुन्छन् ती प्राय: मान्छेकै वरिपरि बस्न रुचाउने र टाढाटाढासम्म नजाने हुँदा संक्रमण शिघ्र रूपमा देशव्यापी हुन पाउँदैन। हामी व्यक्तिगत रूपमा भन्दा डेंगुकोको यस्तो संक्रमणलाई व्हर्लपूलको (चक्र) नाम दिन रुचाउँछौं। तर यो एउटा व्यक्ति/व्यक्तिबीच सर्ने सरुवा रोग भने होइन।

यसकारण पनि देशव्यापी नै त्रसित हुनु हामी आवश्यक ठान्दैनौं। यद्यपी, संक्रमितहरू कामकाज र पर्यटनको सिलसिलामा अर्को ठाउँमा गई त्यहाँका रैथाने लामखुट्टेकोलाई संक्रमण नगरलान भन्न सकिँदैन।

त्यसैले, विशेष गरी नजिकका सहरहरू इटहरी, विराटनगर पनि सजग र तयारी अवस्थामा हुनुपर्छ।

अहिलेसम्म डेंगुको औषधि अथवा खोप नेपालमा छैन। तथापि, सुरूआती लक्षणको डेंगुलाई चिकित्सकहरूले सजिलै निको पार्न सक्छन्।

यस्तो अवस्थामा यसको संक्रमण र महामारीबाट बच्ने सरल र उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो।

यसका लागि पूरै हातखुट्टा छोप्ने किसिमका कपडा लगाउने, घर वरिपरि सफा गर्ने र पानी जम्मा हुन नदिने, टायर, फुटेका गिलास र कचौरा अथवा पानी जम्न सक्ने खालका कुनै पनि कुरा नराख्ने, झ्याल र ढोकामा जाली लगाउने गर्नुपर्छ।

स्थिर अवस्थामा रहेको पानी लामखुट्टेको लागि प्रजनन् तथा विकास गर्नलाई सहयोग पुर्याउँछ। त्यसैले हरेक वडा, टोलमा जनचेतना तथा लामखुट्टेका लार्भा र फूल नष्ट गर्ने कामलाई अभियानकै रूपमा चलाउनु नै उत्तम उपाय हो।

स्थानीयहरूलाई लामखुट्टेको रोकथाममा सहयोग गर्न सरकारी निकायले विज्ञहरूको साथ लिई योगदान दिनुपर्ने हुन्छ। हामीले यस्तो संयुक्त प्रयासलाई ‘छिमेकले छिमेकीलाई, राज्यले नागरिकलाई सहयोग जस्तो अभियान’को नाम दिदा सार्थक हुने विश्वास गरेका छौं। हामी नेपाली स्वभावैले छरछिमेकलाई सहयोग गर्ने प्रवृत्तिका हुन्छौं। यो अभियानमा विज्ञहरूले टोलटोलमा गई आमनागरिकलाई लामखुट्टे न्यूनीकरणका उपाय सिकाउँछन्। पछि, यी सिकेका कुराहरू एक छिमेकीले अर्को छिमेकीलाई घर वरिपरि लामखुट्टेको रोकथाम गर्न सजग र सहयोग गर्छन्। सामान्य रूपमा बुझ्नु पर्दा जबसम्म छिमेकका लामखुट्टेको रोकथाम हुँदैन, हामी एक्लै सुरक्षित हुन सक्दैनौं।

अन्त्यमा, हामी, सजग रहौं, संक्रमणका लक्षणहरू देखिए शिघ्र उपाचार खोजौं, घर वरिपरि लामखुट्टे न्यूनीकरण गरौं, तर भयभित भने नहोऊ भनि आग्रह गर्दछौं।

 

यस लेखसम्बन्धी कुनै प्रश्न भएमा सम्पर्क इमेल : [email protected]

तपाईंको प्रतिक्रिया दिनुस्