यो समयमा हावाहुरीले बिनास गर्दै छ, जानकारी लिनुहोस हावाहुरीबाट कसरी बच्ने ? (स्वास्थ्य टिप्स)

label समाचार प्रकाशक query_builder June, 08 2019

हावाहुरी सामान्यतः मौसममा हुने परिवर्तनले गर्दा वायुको चाप घटबढले निम्तने घटना हो । तर, यो कहिलेकाहीँ विनाशकारी भएर आउँछ । यसले नसोचेको टाढाको दूरी आफ्नो गन्तव्य बनाउँछ । कहिलेकाँही त विरीत र चारै दिशाबाट आएका प्रतिध्रुवीय हुरीका झोक्काहरूले भूमरी बनाउँछन् । यो चक्रवाती खालको तेज भूमरी बढी विनाशकारी हुन्छ । नेपालमा घटिरहने प्राकृतिक प्रकोपमध्ये हावाहुरी पनि एक हो ।

समुद्री सतहमा हावाको गतिमा कुनै पनि रोकावट नआउने भएकाले त्यहाँ हावाहुरी चल्दा मेघ गर्जने र बिजुली चम्कने हुन्छ । तराई वा समथर फाँटमा हावाको गतिमा कुनै पनि रोकावट हुँदैन । तर, पहाडी तथा हिमाली शृंखलाहरूमा भने हावामा निकै रोकावट आउँछ र यसले हावाको विनाशकारी गतिलाई पनि कम गराउँछ ।
खाडी देशहरूमा, समुद्री किनारामा रहेका बस्तीमा हावाहुरीको प्रकोप र प्रभाव निकै नै बढी हुने गर्दछ । खाडी देशमा प्रतिघण्टा ६५ किमिको दरले हावाहुरी बगेको पाइन्छ । त्यहाँ न्यूनतम दुई किमिभन्दा कमको दूरीमा पनि हावाहुरी जोडले चल्छ । हावा हुरीमा श्वासप्रश्वाससम्बन्धी रोग भएका मानिसलाई निकै गाह्रो हुन्छ । यसले आँखा, कान र नाकका बिरामीलाई निकै घातक असर पु¥याउँछ । हावाहुरीमा हावा मात्र हुँदैन । यसमा धुलोधुँवा, कसिंगर, ग्याँस तथा ससाना माटो ढुंगाका कणहरू पनि हुन्छन् । यसबाट बच्नका लागि हेलमेट, जुत्ता, पन्जा र चस्मा साथमा राखिरहनुपर्छ ।

नेपालको सन्दर्भमा हावाहुरी चल्दा रूखको मुनि बस्नुहुँदैन । पुराना र थोत्रा घरहरू छन् भने हुरी चल्न थालेको थाहा पाउनेबित्तिकै घर छाडी बाहिर आउनुपर्छ । भत्कने खालका पर्खालका छेउमा बस्नुहुँदैन । हानी पु¥याउन र उडाउन सक्ने वस्तुदेखि अलि केही सुरक्षित स्थानमा टाढा बस्नुपर्छ । कर्कटपाताले छाएका छाना बढी उडाउने सम्भावना भएकाले यसबाट सतर्क रहनुपर्छ । घरमा रहेका बूढाबूढी बाबुआमा तथा बच्चाको निकै रेखदेख र ख्याल पु¥याउनुपर्छ ।
हावाहुरी चलिरहँदा बिनाअनुमान दौडधूप गर्नुहुँदैन । आफू रहेको वा उभिएको ठाउँ सुरक्षित छ कि छैन ठम्याउनुपर्छ । अनि त्यहाँ आफूलाई हानी पु¥याउन सक्ने कुराहरू केके छन् सकभर थाहा पाउन प्रयास गर्नुपर्छ । आफू सुरक्षित भएको केही महसुस गर्नासाथ अरूको हालत के छ, आफ्ना सहयोगी हातहरू अघि बढाउनुपर्छ । ठूलो स्वरमा चिच्याएर वा अरू केही क्रियाकलापमार्फत सुरक्षित ठाउँको जानकारी दिनुपर्छ ।

त्यसपछि आफूहरूले गर्न सक्ने काम भनेको घाइतेलाई सुरक्षित ठाउँमा लैजाने र अस्पतालमा पु¥याउने हो । हार गुहारका लागि अरूलाई पनि भन्न लगाउने, सबै कामको संयोजन र व्यवस्था मिलाउने बचाउको उत्तम उपाय हो । बिरामीहरूको वर्गीकरण गरेर बढी घाइतेहरूलाई छिट्टै र पहिले अस्पतालमा पु¥याउने गर्नुपर्छ । हिँड्न सक्ने तर डराएर बेसुर भएकाहरूलाई ढाडस दिएर उत्प्रेरित गर्नुपर्छ । सुरक्षा निकाय तथा स्वास्थ्यकर्मीलाई पहिलो सूचना पु¥याउनुपर्छ । ताकि धेरैको उद्धार गर्न सकियोस् ।

तपाईंको प्रतिक्रिया दिनुस्