यार्साले धानेको जीवन : सबै लागे लेकतिर

label सुदूर खबर संवाददाता query_builder June, 08 2019

दार्चुला, जेठ २५ । अभिभावकसंगै शिक्षक, विद्यार्थी समेत यार्सागुम्बा संकलनमा गएपछि अपिहिमाल र व्यास गाउँपालिकाका विद्यालयहरु एक महिनाका लागि बन्द भएका छन् ।

अपिहिमाल, व्यास, नौगाड, मार्मा, दुहुँ लगायत गाउँपालिका स्थानीयहरु यार्सागुम्बा खोज्न जेठ १४ गतेदेखी हिमाली क्षेत्रका बिभिन्न पाटनहरुमा गएका हुन् । बालबालिकाहरुलाइ समेत संगै लगेर अभिभावक लेकतिर लागेपछि एक महिनाका लागि विद्यालय बन्द गर्नुपरेको खण्डेश्वरी मावि क्षत्तीका शिक्षक मदनराज जोशीले बताए । अपि हिमाल गाउँपालिका र व्यास गाउँपलिकाका मात्रै करिब तीन दर्जन विद्यालय जेठ १५ गतेदेखि बन्द भएका छन् ।

यार्सागुम्बा संकलन, व्यवस्थापन तथा ओसारपसार निर्देशिका २०७३ अनुसार यार्सागुम्बा संकलनमा १६ बर्ष मुनिका बालबालिकाहरुको प्रयोग गर्न नपाइने उल्लेख भएपनि कार्यान्वयन हुन सकेको छैन् । बालबालिकाहरुलाइ जोखिमपुर्ण काममा लगाउन नपाइने कानुन विपरित अभिभावकहरुनै बालश्रम गरिरहेका छन् । शिक्षक लक्ष्मण महताले भने, ‘बालबालिकाहरुले बढी आँखा देख्ने र बढी यार्सागुम्बा पाउने भन्दै अभिभावकहरु बालबालिकाहरुलाइ समेत साथमै लेकतिर लैजाने गरेका छन् ।’

दार्चुलाको हिमाली क्षेत्रमा खाद्यान्न उत्पादन निकै कम हुने र रोजगारीको अन्य माध्यम समेत नहुदा यार्सागुम्बा नै आयश्रोतको प्रमुख माध्यमका रुपमा रहेको छ । स्थानीय योगेन्द्र धामीका अनुसार हरेक वर्ष दुई महिनासम्मको गासँ, बासका सबै सामाग्रीसहित बस्ती नै रित्तिने गरेर हजारौँ सङ्लकहरु यार्सागुम्बा पाइने पाटनमा पुग्ने गरेका छन् । गाउँमा हेरचाह गर्ने मानिस नभएपछि स्थानीयले भेडाच्याङग्रा समेत लेकतिर लैजाने गरेका छन् ।

अपिनाम्पा संरक्षण क्षेत्रका पाटनहरुबाट मात्रै प्रत्येक वर्ष ५ सयदेखि ९ सय क्विन्टल यार्सागुम्बा संकलन हुने गरेको छ । यार्सागुम्बा संकलक तथा व्यापारीहरुले यार्साबाटै आर्जन भएको रकमले दार्चुला सदरमुकाम खलंगा, धनगढी, काठमाडौँसम्म घरजग्गा जोडेका छन् ।

चोरी निकासी रोक्न पाटनमै सुरक्षा गस्ती
यार्सागुम्बाको चोरी निकासी रोक्न पाटनहरुमा सुरक्षाकर्मी र गेमस्काउटको सामूहिक गस्ती शुरु गरिएको छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले यार्सा पाइने पाटनमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसंगै कार्यालयका गेमस्काटउटहरुलाइ परिचालन गरिएको जनाएको छ ।

यार्सागुम्बाको तस्करी रोक्नका लागि ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको संरक्षण क्षेत्रका सूचना अधिकारी राजु घिमिरेले बताए । अपि हिमाल गाउँपालिकाको लोलु रोखापु, क्षेत्रमा सशस्त्र प्रहरी र गेमस्काउटको गस्ती गएको छ । क्षत्ति, धरमघर, काटै, चाइमटेला, सुर्मा क्षेत्रमा नेपाल प्रहरी र गेमस्काउट पठाइएको घिमिरेले बताए । यस्तै व्यास गाउँपालिकाको अपिनाम्पा फेद, दुधिवनलगायत यार्सा पाइने पाटनमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती पठाइएको छ ।

दुर्घटना र चोरी सिकारीको समस्या न्यूनिकरण गर्न सशस्त्र प्रहरीबाट दुई हप्ताका लागि २१ जनाको टोली अपि हिमाल र २१ जनाको टोली व्यास गाउँपालिकामा परिचालन गरिएको छ । भने नेपाल प्रहरीबाट २३ जना प्रहरी परिचालन गरिएको छ । साथै संकलन अनुमति नलिएका संकलकहरुलाइ संकलन पुर्जी बितरण गर्न कार्यालयका कर्मचारी र गेमस्काउटहरु समेत परिचालन गरिएको छ ।

यार्सा नपाएपछि संकलक निरास
यो बर्ष बढी हिमपात भएका कारण अहिलेसम्म यार्सागुम्बा पाइने पाटनहरुको हिउँ पग्लीनसकेको संकलकहरुले बताएका छन् ।  अपिनाम्पा संरक्षण क्षेत्रका सहायक संरक्षण अधिकृत राजु घिमिरेका अनुसार यार्सागुम्बा बढी पाइने पाटनहरुमा हिउँ भएकोले संकलनमा समस्या भएको र निकै कम संख्यामा मात्रै यार्सागुम्बा भेट्निे गरेको संकलकहरुले गुनासो गरेका छन् ।

दिनको दुई तीन ओटा मात्रै यार्सागुम्बा भेटिन थालेपछि पाटन पुगेर यार्सागुम्बा संकलकहरु निरास हुदै फर्किन थालेको उनले बताए । हिउँ पग्लीन अफै समय लाग्ने भएकोले असारमा मात्रै बढी यार्सागुम्बा भेट्टिने सम्भाबना रहेको संकलकहरु बताउँछन् ।

१० लाखसम्मको दुर्घटना बीमा
अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले पहिलो पटक यार्सा पाटनमा जाने संकलकहरूका लागि दुर्घटना बीमाको सुविधा दिन लागेको छ । यार्सा पाटनमा विभिन्न दुर्घटनाका कारण वर्षेनी यार्सा संकलक तथा अन्य नागरिकको समेत ज्यान जाने गरेको घटनालाई मध्यनजर गर्दै यो बर्षदेखी १० लाखसम्मको दुर्घटना बीमा सुविधा दिइएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख संरक्षण अधिकृत किशोर कुमार मेहताले जानकारी दिए ।

वर्षेनी हिउँ पहिरोमा परी, भीरबाट लडेर, नदीमा बगेर तथा लडाई झगडाका कारण पनि यार्सा पाटनमा कतिपयको ज्यान जाने गरेकाले बीमा सुविधा ल्याइएको संरक्षण अधिकृत मेहताको भनाइ छ । यार्सा पाटनमा गई दुर्घटना परेर मृत्यु हुने यार्सा संकलक, सुरक्षाकर्मी, संरक्षण क्षेत्र कार्यालय तथा पोष्टका कर्मचारी, व्यवस्थापन परिषद् पदाधिकारी, एक जना पत्रकार गरी जम्मा २० जनाको १० लाखका दरले बीमा सुविधा संरक्षण क्षेत्रले लागू गर्ने उनले बताए ।

बिमाको अन्योल
बिहिबार ब्याँस गाउँपालिका वडा नम्बर २ दुम्लिङ्गका दिलिप विष्टका १२ बर्षीय छोरा अनिल विष्टको व्यास २ दुधिवनबाट यार्सा संकलन गरेर फर्किने क्रममा भिरबाट झण्डै एक हजार मिटर तल खसेर मृत्यु भएको छ ।

यस वर्ष अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयले पाटन क्षेत्रमा दुर्घटना भई ज्यान गुमाउने संकलक, सुरक्षाकर्मी, संरक्षणकर्मी र पत्रकारहरुका लागि बिमाको व्यवस्था गरेको भए पनि १२ वर्षीय अनिश बिष्टले क्षतिपूर्ति पाउने कि नपाउने भन्ने विषय अन्योल छ ।

यार्सा पाटनबाट यार्सा संकलन गरी फर्किने क्रममा ज्यान गुमाएका १२ वर्षीय बिष्ट यार्सागुम्बा व्यवस्थापन निर्देशिकाको व्यवस्था अनुसार यार्सा संकलनका लागि अनुमति पत्र दिनै नमिल्ने व्यक्ति भएकोले बिमा पाउँने नपाउनेमा अन्यौलता बढेको हो ।

संकलन अनुमति पत्र लिएकालाई मात्रै बिमाको रकम उपलब्ध गराइने र अनुमति पत्र नलिएकालाई उपलब्ध नगराइने अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयले जानकारी दिएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।