विवादास्पद विधेयकको विरोधमा हङकङमा विशाल प्रदर्शन

label सुदूर खबर संवाददाता query_builder June, 09 2019

काठमाडौं, जेठ २७ । सुपुर्दगीसम्बन्धी विवादास्पद विधेयकको विरोधमा हङकङका हजारौं नागरिकले प्रदर्शन गरेका छन् । हङकङमा रहेका शंकास्पद अपराधीलाई चीनमा सुनुवाइका लागि सुपुर्दगी गर्न सकिने व्यवस्था विधेयकमा छ ।

सोही व्यवस्थाको विरोध गर्दै प्रदर्शन भएको हो । प्रदर्शनीमा व्यवसायी, कानुन व्यवसायी, विद्यार्थी, धार्मिक नेता तथा लोकतन्त्र पक्षधर सहभागी थिए ।

यो प्रदर्शन सन् २०१४ को अम्रेला मुभमेन्ट पछिकै विशाल भएको बताइएको छ । हङकङका नेता क्यारी लामले विधेयकको नयाँ व्यवस्था जुलाई अघि पारित हुने दाबी गरेका छन् ।

विधेयक पक्षधरले राजनीतिक तथा धार्मिक मुद्दाका आरोपीलाई चीनमा सुपुर्दगी गर्नबाट रोक्ने व्यवस्था विधेयकमा रहेको दाबी गरेका छन् ।

तर प्रदर्शनकारीहरुले भने सुपुर्दगी गर्नेसम्बन्धी प्रावधानका आधारमा चीनले आफ्नो सरकारको विरोधमा उत्रने राजनीतिक नेता तथा प्रतिस्पर्धीलाई लक्षित गर्ने जिकिर गरेका छन् । प्रदर्शनमा सहभागी कतिपयले उक्त विधेयकले विश्वकै एक वित्तीय केन्द्रका रुपमा रहेको हङकङको अर्थतन्त्रमा समेत प्रभाव पार्ने जनाएका छन् ।

सुपुर्दगी कानुनमा गरिएको नयाँ प्रस्तावमा चीन, ताइवान र मकाउका अधिकारीले हङकङमा अपराध तथा बलात्कारमा आरोप लागेकालाई सुपुर्दगी गर्न आग्रह गर्न व्यवस्था छ । यद्यपी उनीहरुलाई सुपुर्दगी गर्ने/नगर्नेबारे मुद्दाको प्रकृतिअनुसार निर्णय गरिने प्रस्तावित कानुनमा उल्लेख छ ।

हङकङका अधिकारीहरुले सुपुर्दगीबारे अन्तिम निर्णय हङकङस्थित अदालतले लिने बताएका छन् । उनीहरुले राजनीतिक तथा धार्मिक अपराधमा संलग्नलाई सुपुर्दगी नगरिने दाबी गरेका छन् । हङकङले हालसम्म २० देशसँग सुपुर्दगी सन्धि गरिसकेको छ ।

  • एजेन्सी
तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।