अहिलेसम्मकै सर्वाधिक महँगो भयो सुन, तोलाको पुग्यो ६५ हजार !

label समाचार प्रकाशक query_builder June, 21 2019

काठमाडौं, ६ असार । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

हिजो बिहिबार ६४ हजार रुपैयाँमा किनबेच भएको सुनको मूल्य आज प्रतितोला ६५ हजार रुपैयाँमा किनबेच हुँदै नयाँ रेकर्ड कायम गरेको हो ।

नेपालको इतिहासमा यो मूल्य हालसम्मकै सबैभन्दा उच्च रहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन पनि सुनको मूल्य प्रतितोला ६४ हजार रुपैयाँ पुगेर इतिहासकै नयाँ रेकर्ड कायम गरेको थियो । त्यो रेकर्ड एकै दिनमा तोड्दै ६५ हजार प्रतितोलामा कायम भएको छ ।

ठीक एक महिनाअघि जेठ ९ गते सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

एक महिनादेखि सुनको मूल्य निरन्तर उकालो लागिरहेको तथ्यांकले देखाएको छ । एक महिनाकै अवधिमा सुनको मूल्य ५ हजार ८ सय रुपैयाँले बढिसकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको असर नेपाली बजारमा परेको सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्य बताउँछन् ।

‘शक्तिशाली मुलुकहरुबीच अहिले अलिक विवाद बढेजस्तो देखिएको छ, त्यसले अन्तर्राष्ट्रिय बजारमा नै सुन महँगियो, नेपालमा असर पर्यो’ उनले भने ।

इरान र अमेरिका बीचको तनाव बढ्नु, अमेरिकासँग चीन र भारतको व्यापार विवाद कायम हुनुले सुनको मूल्य बढेको महासंघको ठहर छ ।

तपाईंको प्रतिक्रिया दिनुस्