बिग मर्जरका लागि वाणिज्य बैंकबीच छलफल तीव्र

label सुदूर खबर संवाददाता query_builder July, 03 2019

 काठमाडौँ, असार १८ ।  बैंक तथा वित्तीय संस्थालाई एकापसमा गाभिन (मर्जर) प्रेरित गर्ने नीति सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेपछि वाणिज्य बैंकहरुले छलफल तीव्र पारेका छन् ।

एकापसमा गाभिन तयारी गर्ने लक्ष्यका साथ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको बैठक आयोजना गरिएको हो।

बैठकमा एकापसमा गाभिने विषयमा छलफल भएको थियो । नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुनु अघि ‘मर्जर’ को विषयमा उपयुक्त निर्णय गर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएका थिए। त्यही निर्देशनानुसार वाणिज्य बैंकहरुले मर्जरबारेमा अनौपचारिक छलफल तीव्र पारेका हुन् ।

हाल २८ वटा वाणिज्य बैंक सञ्चालित छन् । वित्तीय स्थिरताका लागि बैंकको सङ्ख्या घटाउनुपर्नेमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको समान धारणा छ । गर्भनर डा नेपालकै शब्दमा ‘मौद्रिक नीति अगावै ‘लभ’ गर्नुस्’ । गर्भरनको उक्त आग्रहपछि वाणिज्य बैंकहरु एक आपसमा कसरी मिल्न सकिन्छ भन्नेमा छलफल जारी राखेका छन् ।

बैंकर्स सङ्घ अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाका अनुसार छलफल भएको हो । त्यसो त यही असार १२ गते केन्द्रीय बैंकले वाणिज्य बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सम्मिलित छलफल कार्यक्रम आयोजना गरेर मौद्रिक नीति अगावै मर्जरको विषयमा आवश्यक निर्णय गर्न आग्रह गरेको थियो ।

मर्जरमा जान वाणिज्य बैंक तयार भए पनि उनीहरुले केही सुविधा राष्ट्र बैंकले दिनुपर्नेमा एकमत देखिएका छन् । बैठकमा सहभागी एक बैंकरका अनुसार केन्द्रीय बैंकको निर्देशन कार्यान्वयन गर्न आफूहरु तयार रहेको तर केही सुविधा भने उपलब्ध हुनुपर्नेछ ।

आजको बैठकमा समेत केन्द्रीय बैंकको निर्देशनलाई कार्यान्वयन गर्दै मौद्रिक नीति अगावै केही सैद्धान्तिक सहमति गर्ने विषयमा छलफल भएको बताइन्छ । वाणिज्य बैंकबीच हुन लागेको गाभिने प्रक्रियालाई राष्ट्र बैंकले ‘बिग मर्जर’को संज्ञा दिएको छ ।

  • रासस
तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।