सँगै चियापान, अनि गोली हानाहान

label सुदूर खबर संवाददाता query_builder July, 11 2019

भोजपुर, असार २६ । सदरमुकाम मुख्य बजारको पश्चिमतिर रहेको पान्धारे नामको होटलमा बुधबार बिहान सादा पोसाकका प्रहरी र चन्द समूहका जिल्ला नेता एउटै टेबुलमा बसेर चिया खाइरहेका थिए । दुवै जनाबीच पहिलेदेखि नै चिनजान थियो ।

भेट हुनासाथ हात मिलाए र चिया पिउन सुरु गरे । चन्द समूहका ओखलढुंगा जिल्ला इन्चार्ज नीरकुमार राई र सादा पोसाकका प्रहरी जवान सञ्जीव राई चियाको चुस्कीसँगै गफिँदै थिए ।

प्रत्यक्षदर्शीका अनुसार नीरकुमार दुई दिनयता चिया पसलमा आउने/जाने गरिरहेका थिए । बुधबार पनि बिहानै आएर अरू मान्छेसँग ‘हेलोहाई’ गरिरहेका थिए । करिब साढे ८ बजे सञ्जीव आइपुगे । दुवैले ‘दाइभाइ’ को साइनो पनि लगाए । अभिवादन साटासाट गरे ।

सञ्जीव सुराकीका लागि चिया पसल छिरेका थिए । गफकै क्रममा नीरकुमारले सञ्जीवलाई भने, ‘विप्लवको पार्टीमा लाग्यो भन्दैमा मलाई किन खेदो गर्छौ ? पार्टीमा लाग्नु आस्थाको कुरा हो ।’ सञ्जीवले सहज ढंगले उत्तर फर्काए, ‘हामी दुवै राई भएकाले भाइभाइ हो । केगर्नु र ?’

सञ्जीवले यति भनेपछि नीरकुमार पिसाब गर्न जाने भन्दै पसलबाट निस्कन खोजे । सञ्जीवले नीरकुमारको पाखुरा समाते । ‘गफ गरौं, तपाईं कहाँ जान लागेको ? अहिले नजानुस्, अरू साथी आउँदै छन्,’ सञ्जीवको भनाइ उद्धृत गर्दै प्रत्यक्षदर्शीले कान्तिपुरलाई सुनाए । दुवै जनाबीच तानातान भयो । चन्द समूहका हतियार बोकेका कार्यकर्ता दगुर्दै होटल अघिल्तिर आए ।

त्यतिबेला तानातानकै क्रममा नीरकुमार र सञ्जीव होटल बाहिर पुगिसकेका थिए । चन्द समूहका कार्यकर्ताले सञ्जीवलाई गोली प्रहार गरे । त्यति नै खेर सादा पोसाकका हतियारधारी प्रहरी पनि घटनास्थलमा आइपुगे । प्रहरीले पनि नीरकुमारलाई गोली प्रहार गरे । दुवै जना गोलीले ढलेपछि चन्द समूहका चार जना कार्यकर्ता त्यहाँबाट भागे । प्रहरीले उनीहरूको खोजी भइरहेको जनाएको छ ।

होटल बाहिर हटियामा आएका सर्वसाधारण भागाभाग गर्न थाले । ‘गोली चलेपछि तरकारी पसले र ग्राहकको भागाभाग भयो, कोही डरले रुनसमेत थाले’ एक प्रत्यक्षदर्शीले भने ।

घटनामा एक प्रहरी घाइते छन् । जिल्ला अस्पतालमा उनको उपचार भइरहेको छ । बुधबारे हाटबजार आसपास चन्द कार्यकर्ता आएको गोप्य सूचनाका आधारमा पक्राउ गर्न गएका प्रहरी जवान राईलाई चन्द कार्यकर्ताले गोली चलाएको प्रहरीको दाबी छ । घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब ५ सय मिटर दूरीमा छ ।

‘चन्द समूहका हतियारधारी कार्यकर्ता रहेको गोप्य सूचनाका आधारमा नियन्त्रणमा लिने अभिप्रायले सादा पोसाकमा प्रहरी खटिएका थिए,’ प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले भने, ‘हाट नजिकै रहेको पान्धारे होटलमा एक शंकास्पद मानिस भेटिएपछि पक्राउको प्रयास गर्दा अचानक प्रहरी जवान सञ्जीवमाथि गोली प्रहार भयो ।’

नीरकुमारले सञ्जीवको कोखमा गोली प्रहार गरेपछि सँगै सादा पोसाकमा रहेका प्रहरीलेआफ्ना साथीलाई जोगाउन र नीरकुमारलाई पक्राउ गर्न खोज्दा तानातान भएर नीरकुमारलाई गोली लागेको खतिवडाको दाबी छ । मृतक प्रहरी जवान सञ्जीवको घर खोटाङ हो ।

चन्द समूहका एक नेताले भने प्रहरी जवान सञ्जीवको मृत्यु प्रहरीकै गोलीबाट भएको दाबी गरे । ‘प्रशान्त (नीरकुमार) ओखलढुंगा सेक्रेटरी हुन्, उनी पार्टीमा बिदा लिएर घर गएका थिए । उनले कुनै किसिमको हतियार बोकेका थिएनन्,’ ती नेताले दाबी गरे, ‘घम्साघम्सीका क्रममा प्रहरीले चलाएको गोली नै सञ्जीवलाई लागेको हो ।’ नीरकुमारको घर भोजपुर षडानन्द १४ बोया हो । चन्द समूहको गोलीले घाइते प्रहरी जवान खेमनाथ भट्टराईको कुमको हड्डी भाँचिएको प्रहरीले जनाएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।