विलियम्सनले विराटसँग लिए ११ वर्ष पुरानो हारको बदला

label सुदूर खबर संवाददाता query_builder July, 11 2019

लन्डन, असार २६ । इङ्ल्याण्डमा जारी विश्वकपमा बुधबार भारत न्युजिल्याण्डसँग १८ रनले पराजित हुँदै फाइनल प्रवेश गर्न चुक्यो। न्युजिल्याण्डका बलरहरूले भारतीय ब्याटसम्यानहरूलाई २४० रनको लक्ष्यमा पुग्न दिएनन्।

विश्वकप क्रिकेटको सेमिफाइनलमा दुबै टोलीको यो पहिलो भेट थियो। विराट कोहली र केन विलियम्सन क्रमशः भारत र न्युजिल्याण्डका कप्तान हुन्। आफ्नो कप्तानीमा भारतलाई विश्वकप जिताउने कोहलीको सपना हिजोको हारसँगै सकिएको छ भने विलियम्सन भने एक कदम नजिक पुगेका छन्।

हिजोको खेलमा विश्वकपमा यी दुई टोलीको पहिलो सेमिफाइनल भेटको संयोगका अलावा दुबै कप्तानहरूको अर्को एउटा संयोग पनि जोडिएको छ।

विश्वकप क्रिकेटमा पहिलो सेमिफाइनल जम्काभेट भए पनि विराट कोहली र विलियम्सनको भन्ने एकअर्कासँग दोश्रो जम्काभेट थियो। हिजोको जितबाट विलियम्सनले कोहलीसँग ११ वर्ष पुरानो हारको बदला लिए।

यी दुबै खेलाडीको भेट ११ वर्ष अगाडि अन्डर-१९ विश्वकपको सेमिफाइनलमा भएको थियो। हाल ३० वर्षका विराट त्यतिबेला १९ वर्षका थिए भने केन विलियम्सको उमेर १७ वर्ष थियो। २७ फरवरी, २००८ मा मलेसियामा भएको सो खेल भारतले जितेको थियो।

संयोगले दुबै जना त्यतिबेला पनि आआफ्नो टोलीका कप्तान थिए। सो खेलमा केनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए। त्यतिबेला न्युजिल्याण्डले कोरी एन्डरसनको ७० र विलियम्सनको व्यक्तिगत ३७ रनको सहयोगमा निर्धारित ५० ओभरको खेलमा २०५ रन बनाएको थियो।

सो खेलमा कोहलीले ४३ रनको पारी खेलेका थिए। यसका अलावा ७ ओभर बलिङ समेत गरेका विराटले त्यतिबेला २ विकेटसमेत लिए। उनी त्यस खेलको म्यान अफ द म्याच घोषित भएका थिए।

कोहलीले न्युजिल्याण्डसँगको खेलका दौरान केनलाई सो खेलको स्मरण गराउने कुरा बताएका थिए। उनले त्यो समय केनलाई स्मरण गराए या गराएनन त्यो त सार्वजनिक भएको छैन तर केन विलियम्सनले त्यो हारको मिठो बदला भने कोहलीसँग यस सेमिफाइनलबाट पक्कै पनि पूरा गरेका छन्।

विश्वकपमा भारत र न्युजिल्याण्डबीच आजसम्म कुल ९ पटक भेट भएको छ। यसमा ५ पटक न्युजिल्याण्डले भारतलाई पराजित गरेको छ बने ३ खेलमा भारत विजयी भएको छ। त्यस्तै १ खेल रद्ध भएको थियो।

  • एजेन्सी
तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।