उच्च अदालत सुर्खेतमा ७४ प्रतिशत मुद्दा फैसला

label सुदूर खबर संवाददाता query_builder July, 18 2019

सुर्खेत, साउन २ । उच्च अदालत सुर्खेत, जुम्ला इजलासले आर्थिक वर्ष २०७५/७६ मा ७४ प्रतिशत मुद्दा फैसला गरेको छ । विगत तीन आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष सन्तोषजनकरूपमा अदालतले मुद्दा फर्छ्याेट गरेको उच्च अदालत सुर्खेत, जुम्ला इजालासका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दले बताए ।

उनका अनुसार २०७५/७६ मा विभिन्न शीर्षकका झण्डै १५१ मुद्दा परेका थिए । आर्थिक वर्षको अन्त्यसम्म ११३ मुद्दा फर्छ्याेट भएका छन् जुन कुल मुद्दाको ७४ दशमलव ८३ प्रतिशत हो । गत वर्षको भन्दा २० प्रतिशत काम बढी भएको मुख्य न्यायाधीश बागचन्दले बताए ।

आर्थिक वर्ष २०७४/७५ मा जम्मा आएका १३८ मुद्दामा ८० अर्थात ५६ दशमलव ९६ प्रतिशत फछ्र्योट भएका थिए । आव २०७५/७६ मा ७४ प्रतिशत मुद्दा फर्छ्याेट भएको अदालत स्रोतले जनाएको हो । आव २०७५/७६ मा परेका जम्मा १५१ मध्ये अझै ३८ फर्छ्याेट हुन बाँकी छन् ।

सङ्घीयतापछिको कानूनी परामर्श, बैठक तथा छलफलका कारण न्यायाधीश जिल्ला बाहिर जानुपर्ने भएकाले फर्छ्याेट हुन बाँकी एक वर्षका ३८ मुद्दा छन् । आव २०७५/७६ जिम्मेवारी सरी आएका ५८ मुद्दा थिए भने गत आवमा वास्तविक दर्ता भएका १०० थिए । जम्मा वर्षभरि १३० मुद्दा फर्छ्याेटको लक्ष्य राखिए पनि विभिन्न कारणले लक्ष्यअनुसारको मुद्दा फछ्र्योट हुननसकेको अदालतले स्वीकार गरेको छ ।

न्यायिक सेवालाई प्रभावकारी बनाउन तथा आम नागरिकमाझ न्यायिक विषयमा स्पष्ट पार्न विभिन्न मितिमा जुम्लाका विद्यालयमा अन्तक्र्रिया गरिएको रजिष्ट्रार श्यामनाथ घिमिरेले बताए ।

उनका अनुसार निःशुल्क मुद्दा लेख्ने वैतनिक वकिल कानून व्यवसायीले लिखित तयारी पाँच, परामर्श ७३, बहस २१ र कारागार भ्रमण ३९ जना गरी झण्डै १५० बढी स्थानीयवासी सेवाबाट लाभान्वित भएका छन् । अदालतमा आउने सेवाग्राहीको सुविधाका लागि डिजिटल प्रणालीसमेत लागू गरिएको छ ।

  • रासस
तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।