श्रम बजारमा माग र आपूर्तिबीच सन्तुलन ल्याउन औद्योगिक प्रशिक्षण

label सुदूर खबर संवाददाता query_builder July, 31 2019
  • डा. कुष्माकर भट्ट

परिचय
प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टिभीइटी) क्षेत्रमारोजगारी श्रृजनाका लागि औद्योगिक प्रशिक्षण एक अचूक अस्त्र सावित भइसकेको छ ।

युरोपियन राष्ट्रहरु लगायत सबै जसो विकसित मुलुकहरुले दशकौंदेखि अभ्यास गरेर पूर्ण रुपमा सफलता हासिल गरिसकेको औपचारिक औद्योगिक प्रशिक्षणले श्रम बजारमा आवश्यक सीप, ज्ञान र ब्यवहारयुक्त दक्ष जनशक्ती उत्पादन गर्दैअनौपचारिक क्षेत्रमा प्रयाप्त रोजगारी श्रृजना गरी उद्योग तथा ब्यवसायहरुको उत्पादन तथा सेवा बृद्धि गर्नमा पूर्ण योगदान पुग्ने कुरा निर्विवाद छ।

डा. कुष्माकर भट्ट

औद्योगिक प्रशिक्षण (Apprenticeship) कार्यक्रम अन्तर्गत प्रशिक्षितभएकाहरुले प्रशिक्षण(केन्द्रहरुबाट पेशागत ज्ञान, सीप, र उद्योग तथा ब्यवसायहरुमा काम गर्दै–सिक्दै–कमाउँदै जाँदा थप ज्ञान, सीप र सिकेका कुराहरुलाई यथार्थ रुपमा ब्यवहारिक प्रयोगमा ल्याउने अवसर प्राप्त गर्ने भएकाले एका तर्फ यस्तो सिकाई ब्यवहारिक, प्रायोगिक, दिगो र जीवनोपयोगी हुने हुन्छ भने आर्को तर्फ शैक्षणिक संस्थाहरु र उद्योगहरु बिचको समन्वय र सहकार्यले श्रम बजारलाई आवश्यक पर्ने जनशक्तीको माग र आपूर्ती बिच सामञ्जस्यता कायम गर्नमा ठूलो टेवा पुग्न सक्ने हुन्छ।

देशको ४० प्रतिशत (झण्डै ६९ लाख जनसंख्या) २० देखि ३४ वर्ष उमेर समूहको रहेको छ। श्रम बजारमा माग र आपूर्तिबीच तालमेल मिलाउन नसकिदा एकातिर गत दुई दशकमा ४३ लाख युवा रोजगारीका लागि कठिन काम गर्न बिदेशिएका छन भने आर्को तर्फ दक्ष जनशक्तीको स्वदेशमा निकै अभाव रहेको छ।

छिमेकी मुलुकका कामदार नेपालमा आएर बर्षेनी खर्बौँ रुपया लगि राखेका छन।२०१७ मा मात्रै नेपालबाट ३ खर्ब, ३३ अर्ब रुपयाँ बिप्रेषणको रुपमा भारत गएको छ भने सोही अवधीमा चीनले १५ अर्ब, भूटान र पाकिस्तानले ४.४ अर्ब रुपयाँ नेपालबाट स्वदेशमा भित्र्याउने गरेको देखिन्छ । यतिखेर देश भित्र उपलब्ध र २०३० सम्ममा उपलब्ध रहने युवा जनशक्तिको यो अत्युत्तम अनुपातको सदुपयोग गर्दै औद्योगिक प्रशिक्षणको माध्यमवाट रोजगार–स्वरोजगारी श्रृजना गराउन सकिएमा दिगो विकास लक्ष सहजै हासिल गर्न सकिने हुन्छ।

औद्योगिक प्रशिक्षण (Apprenticeship) के हो?
पुर्वीय समाजमा बर्षौं पूर्वदेखी गुरुकूल प्रशिक्षण परम्परा संचालनमा रहेको थियो। शिष्यहरुले सीप–ज्ञानयुक्त गुरुको सान्निध्यमा रहेर जिभिन्न जीवनोपयोगी सीप, ज्ञान र आचरण सिक्ने र तदनुरुप रोजगार स्वरोजगार श्रृजना गर्ने गराउने गरिएको थियो।

तत्कालिन समाजमा काष्टकला, मिस्त्री,कपडा बुनाइ–सिलाइ, खेतीपाती, पशुपालन का अतिरिक्त कतिपय गुरुकूलहरुमा हिसाब, किताब, ज्योतिषी, खाना पकाउने सीप, मसी र कागज बनाउने, कर्मकाण्ड तथा जीबीकोपार्जनका अन्य सीपहरु सिकाईने गरिन्थ्यो।वर्तमानमा पनिसवारी चालक र अटोमोबाइलको टेक्निकल क्षेत्रमा यो प्रथा रहेको छ।

यही प्रथालाई औपचारिक रुप दिई अगाडी बढाउँदै प्रशिक्षण–केन्द्र र सम्बन्धित उद्योग( ब्यवसायको समन्वय र सहकार्यमा एउटा निश्चित पाठ्यक्रमको आधारमा प्रशिक्षण केन्द्रमा सैद्धान्तिक ज्ञान दिने र उद्योगमा उक्त ज्ञानको अभ्यास गरी ब्यवहारिकरुपमा प्रयोगमा ल्याउने अवसर उपलब्ध गराई दिक्षित गर्ने प्रकृया नै औद्योगिक प्रशिक्षण (Apprenticeship) भनेर बुझ्न सकिन्छ।शैक्षणिक संस्था र सम्बन्धित उद्योगहरुद्वाराप्रशिक्षणमा सीप, ज्ञान र ब्यवहार सिकाउने, कामको संसार (World या Workसंग परिचित गराउने, कम्पनीको उत्पादनमा सरिक गराउने, सिक्दै–कमाउँदै गर्ने अवसर दिइने र सम्बन्धित काममा दक्षता हासिल गरिसकेपछि प्रमाणपत्र उपलब्ध गराई दिगो तथा सम्मानित रोजगारी श्रृजना गराइने कार्यक्रम नै अप्रेन्टिसिप सिकाइको पद्धती हो।

औद्योगिक प्रशिक्षण कसका लागि?
औद्योगिक प्रशिक्षणले देशमा ब्याप्त युवा बेरोजगारी हटाई सीपको माध्यमबाट दिगो तथा सम्मानित रोजगारी श्रृजना गर्दै आत्मसम्मानका साथ जीवनयापन गर्नमा महत्वपूर्ण भुमिका निर्वाह गर्दछ।

नेपालमा प्राविधिक तथा ब्यावसायिक शिक्षा र तालिमको क्षेत्रमा नवीनतम अभ्यासको रुपमाऔद्योगिक प्रशिक्षण कार्यविधि तयार गरीऔद्योगिक प्रशिक्षणको सुरुवात गरिएको छ, जस अनुसार न्यूनतम एसईइ परीक्षा उत्तीर्ण गरेका ईच्छूक ब्यक्तिहरुले आवेदन दिन सक्ने ब्यवस्था गरिएको छ।

सम्बन्धित क्षेत्रका उद्योग तथा ब्यवसायहरु संगको समन्वय र सहकार्यमा प्रशिक्षण दिने संस्थाले लिखित तथा मौखिक परीक्षा लिई प्रशिक्षार्थी छनोट गर्ने प्रावधान बनाइएको छ।

विराटनगर, काठमाडौ, बुटवल र नेपालगंजको औद्योगिक क्षेत्रमा परीक्षण सुरुवात गरिएको यो कार्यक्रम यस आ.ब. देखी सुदूरपश्चिम प्रदेशमा प्रथम पटक महेन्द्रनगर र धनगढीमा ईलेक्ट्रिकल ईन्जिनियरिड. बिषयमा औद्योगिक प्रशिक्षण गराउने गरी सुरु गरिएको छ। यसमा उद्योग ब्यवसायहरुको सक्रीय सहागिता र प्रतिबद्धता आवश्यक रहने भएकोले यस क्षेत्रका सवै निर्माण

प्रशिक्षण प्रकृया र समयावधि
औपचारिक अप्रेन्टिसिपका लागि नेपालमा हाल तयार गरिएका पाठ्यक्रमहरुमा ईन्फरमेसन टेक्नोलोजी, मेकानिकल ईन्जिनियरिड्ग, अटोमोबाइल ईन्जिनियरिड्ग, ईलेक्ट्रिकल ईन्जिनियरिड्ग र होटल म्यानेजमेण्टका विषयहरु छन् ।

नेपालको औद्योगिक प्रशिक्षण कार्यविधिअनुसार संचालनहुने सम्पूर्ण अप्रेन्टिसिप कार्यक्रम २४ महिना अवधिको हुनेछ। जस मध्ये करीव ५ महीना प्रशिक्षण केन्द्रमा र १९ महीना उद्योगमा नै रहेर प्रशिक्षण लिने गरी ब्यवस्था गरिएको छ।

औद्योगिक प्रशिक्षणमा रहदा औद्योगिक प्रशिक्षार्थीहरुलाई हप्ताको १ दिन प्रशिक्षण केन्द्रमा प्रशिक्षण गराइन्छ र बाँकी ६ दिन उद्योगमा नै बरिष्ट कर्मचारीको निगरानी र निर्देशनमा अभ्यास गर्ने प्रवन्ध मिलाइएको हुन्छ।

परीक्षण तथा प्रमाणीकरण
औद्योगिक प्रशिक्षण कार्यविधिले अप्रेन्टिसहरुको निरन्तर मूल्यांकन पद्धतिका अलावा प्रत्येक ६–६ महिनामा परीक्षा लिई आन्तरिक मूल्याड्कन गर्ने र २४ महीनाको प्रशिक्षण समाप्त भए लगत्तै अन्तिम परीक्षण गर्ने ब्यवस्था गरेको छ।

यसरी गरिने परीक्षण र मूल्यांकनमा मुख्य रुपमा प्रयोगात्मक परीक्षण साथै लिखित र मौखिक परीक्षा समेत लिईन्छ।औद्योगिक प्रशिक्षण अवधी पुरा गरी परीक्षणमा सफल भएकाहरुलाई प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषदले प्राबिधिक एस.एल.सी. स्तरको प्रमाण–पत्र प्रदान गर्ने छ भने सम्बन्धित उद्योग र प्रशिक्षण दिने संस्थाले प्रशिक्षण सम्पन्न गरेको प्रमाण–पत्र उपलब्ध गराउने छ।

उपसंहार
नेपालको श्रम बजारको सबे भन्दा ठूलो समस्याका रुपमा रहेको बिषय माग र आपूर्ती बीच तालमेल नमिल्नु हो। एकातर्फ रोजगार क्षेत्रले दक्ष कर्मचारी नपाएर बाहिरबाट महंगो श्रम लिने बाध्यता छ भने आर्को तर्फ देशभित्रका युवाहरु बेरोजगार भइरोजगार खोज्न देशभित्र र बाहिर भौँतारिइ रहेको अवस्था छ।

यसरी देशमा महंगो श्रम आयात हुने र सस्तो श्रम निर्यात हुने अवस्थाले देशमा भित्रिने बिप्रेषण को तुलनामा देशबाट बाहिर जाने बिप्रेषण कई गुना बढी हुने र सामाजिक आर्थिक विकासमा यसबाट सकारात्मक प्रभाव पर्न नसक्ने अवस्था देखिएको छ।

यस्तै खास गरी औद्योगिक क्षेत्रलाई आवश्यकपर्ने गरि खाने प्रबिधियुक्त जनशक्ती उत्पादन नहुँदा सँधै पर निर्भरता रहने पनि देखीन्छ किनभने, विश्वविद्यालयबाट दिक्षित जनशक्तीले उद्योगमा टेक्निसियनको रुपमा काम गर्न नचाहनेरनसक्ने र आधारभूत तालिम लिएको जनशक्तीले परिवर्तित सन्दर्भको प्रविधिसंग सामञ्जस्यता गर्न नसक्ने हुँदा प्रतिष्पर्धि जनशक्तीको सँधै खाँचो हुने अवस्थामा शैक्षिक क्षेत्र र औद्योगिक क्षेत्रको समन्वय र सहकार्यमा आवश्यकतामा आधारित जनशक्ती तयार पारी रोजगार श्रृजना गर्नु र उत्पादन तथा सेवा विस्तार गर्नुको विकल्प छैन जुन औद्योगिक प्रशिक्षणबाट सम्भव छ।

(लेखक भट्ट सिटिइभिटी सुदूरपश्चिम प्रदेश प्रमुख हुन् )

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।