बझाङको सदरमुकाममै छैन शुद्ध पिउने पानीको व्यवस्था

label डीबी विष्ट query_builder August, 08 2019

बझाङ, साउन २३ । बझाङको सदरमुकाम चैनपुरलाई वितरण गरिएको खानेपानी ट्यांकीमा बर्खा लाग्यो कि भल पस्ने गर्छ । बर्से्नि बर्खाको समयमा पटकपटक यस्तै भल पस्छ र पानी धमिलो बन्छ ।

यो समस्या प्रत्येक वर्ष दोहोरिए पनि खानेपानीको उचित व्यवस्था नहुँदा बर्से्नि धमिलो पानी पिउनुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् । अरू विकल्प नभएका कारण धमिलो पानी नै पिउनुपर्ने बाध्यता आफूहरूको रहेको चैनपुरकी स्थानीय बसन्तीदेवी बोहराले बताइन् ।

उनले भनिन्, ‘पाइपबाट जस्तो पानी आयो, त्यस्तै पानी पिउनुपर्ने बाध्यता रहेको छ ।’ धमिलो पानी पाइपबाट आउने गरेको गुनासो उनले गरिन् ।

शुद्ध पिउने पानी खान पाउनु आफूहरूको नैसर्गिक अधिकार भए पनि कहिलेकाहीँ मात्रै पानी आउने गरेका कारण भल पसेकै पानी भए पनि खानुपर्ने बाध्यता रहेको कोठा भाडामा बस्दै आएका शिबम् रोकायाले गुनासो गरे ।

यो समस्या यहाँका अधिकांश स्थानीयको रहेको छ । पर्याप्त मात्रामा चैनपुर खानेपानी उपभोक्ता समितिले नियमित रूपमा पानी नदिँदा खोला र सेती नदीको धमिलो फोहोर पानी पिउनुपर्ने बाध्यता त छँदै नै छ ।

‘आफूहरूले अधिकांश दिन बाउली खोलाको दिसापिसाब बगेको देख्दादेख्दै समेत सोही पानी पिउनुपर्ने बाध्यता रहेको छ,’ एक स्थानीयले दुखेसो पोखिन् । यस विषयमा सरोकारवाला निकायको ध्यान जान नसकेको उनको गुनासो छ ।

यस्तै, वर्षौंदेखि नै आफूहरूले अहिलेसम्म पाइपको पानी नपिएको बादी समुदायकाको भनाइ छ । उनीहरूका लागि न चैनपुर खानेपानीले उपभोक्ता समितिले, न त सरोकारवाला व्यक्तिले नै खानेपानीका बारेमा चासो दिएका छन् । हिउँद–बर्खा नै आफूहरूले बाउली खोला र सेती नदीको फोहोर पानी पिउदै आएको उनीहरूले बताए ।

जसका कारण हिउँदभन्दा बर्खाको समयमा झाडा पखाला लाग्ने, आउँ हैजा, टाइटफाइटलगायतका रोगको सिकार आफूहरू र आफ्ना छोराछोरीले हुनुपरेको राधादेवी बादीले बताइन् । उनले भनिन्, ‘खानेपानी उपलब्ध गराइदिन भन्दै पटकपटक जयपृथ्वी नगरपालिका, चैनपुर खानेपानी उपभोक्ता समितिलगायतका ठाउँमा धाइसक्यौं तर कसैले पनि चासो दिँदैनन् ।’

यस्तै पानी पिउनु परिरहेको उनीहरूले गुनासो गरे । ‘हुने खाने त फिल्टर पिउस राखेर शुद्ध बनाएर पिउछन् होला, एक छाक खानाको जोहो गर्न नसक्ने हामीहरूले त आँखैअघि दिसापिसाब बगेको देख्दादेख्दै पनि खोलाको पानी भरेर पिउनु परिरहेको छ,’ अर्की बादी महिलाले भनिन्, ‘अहिले त बानी नै बसिसक्यो, भाँडोमा भरेर ल्याएको पानीमा बालुवा पनि उत्तिकै आइरहेको हुन्छ, अरू कसिंगरको त कुरा नगरौं भनिसाध्य नै छैन ।’

यता जिल्ला अस्पतालका कार्यालय प्रमुख सन्दिप ओखेडाले सदरमुकाम चैनपुरमा बसोबास गर्ने अन्य समुदायभन्दा बढीजस्तो झाडापखाला, आउँ हैजा जस्ता रोगको सिकार बादी समुदायका बालबालिका नै भएको आफूले पाएको बताए ।

उनीहरूले शुद्ध पानी नपिएका कारणले बालबालिकामा झाडापखाला चल्ने लगायतका लक्षण बेला बखत देखिने गरेको छ । चैनपुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष विष्टले विर्या खोलामा रहेको इन्टेकमाथि बाट पहिरो आएको र पहिरोसँगै आएको भल इन्टेकमा पसेका कारण धमिलो पानी आएको बताए ।

‘लगातार परेको वर्षाका कारण पहिरोसँगै आएको भल इन्टेकमा पसी सबै खानेपानीका पाइपमा धमिलो पानी आएको हो,’ विष्टले भने । यस्तो फोहोर पानी नपिउन उनले सबैलाई अनुरोधसमेत गरे ।

    

तपाईंको प्रतिक्रिया दिनुस्