सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकप क्रिकेटको मार्गचित्र तयार

label सुदूर खबर संवाददाता query_builder August, 13 2019

काठमाडौं, साउन २८ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सन् २०२३ मा भारतमा हुने एक दिवसिय विश्वकप क्रिकेटको मार्गचित्र सार्वजनिक गरेको छ ।

आयोजकको हैसियतमा भारतले सिधै विश्वकपमा स्थान बनाउँदा अन्य सबै टोलीहरु छनौट हुनुपर्नेछ । विश्वकप छनौटका लागि आईसिसिले तिन फरक ढाँचाको प्रतियोगिता गर्ने भएको छ ।

टेष्ट मान्यताप्राप्त १२ टोली र विश्व क्रिकेट लिग च्याम्पियन नेदरल्याण्ड्स गरि १३ देशबिच एक दिवसिय सुपर लिग हुनेछ । सुपर लिगमा भारत बाहेक शीर्ष ७ मा रहने टोली सोझै विश्वकपमा पुग्ने छन् ।

पुछारका पाँच टोलीले २०२२ मा हुने विश्वकप छनोट खेल्नु पर्ने हुन्छ । यसैगरी एक दिवसिय मान्यता पाएका अन्य ७ एसोसिएट टोलीहरुबीच विश्वकप लिग–२ प्रतियोगिता हुनेछ ।

आईसीसीको एक दिवसिय वरियतामा १४ देखि २० औं स्थानसम्म रहेका नेपाल, ओमान, नामिविया, पपुवा न्युगिनी, स्कटल्यान्ड, यूएई र अमेरिकाबीच विश्वकप लिग दुई अन्तर्गत कुल २१ त्रिकोणात्मक श्रृंखला हुनेछ । यसमा शिर्ष तिन स्थान हात पार्ने टोलीले सन् २०२२ मा हुने विश्वकप क्वालिफायर खेल्न पाउनेछन् । पुछारका चार टोलीले विश्वकप छनोट प्ले–अफ खेल्ने छन् ।

आईसीसीले अन्य एसोसिएट राष्ट्रका लागि पनि विश्वकप छनौटको अवसर दिएको छ । यसका लागि १२ राष्ट्रबिच च्यालेन्ज लिग खेलाईनेछ । यी १२ राष्ट्रमा क्यानडा, डेनमार्क, मलेसिया, कतार, सिंगापुर, भानुआतु, बर्मुडा, हङकङ, इटाली, जर्सी, केन्या र युगान्डा रहेका छन् ।

यो प्रतियोगितालाई लिष्ट ए को मान्यता दिईएको छ । आगमी सेप्टेम्बर देखी सुरु हुने यस च्यालेन्जेज लिगका शिर्ष दुई टोलीले विश्वकप छनोटको प्लेअफ मा स्थान बनाउने छन् । सुपर लिगबाट शीर्ष ७ टोली, फाईनल क्वालिफायरबाट आउने दुई टोली र आयोजक भारत गरी कुल १० देशले सन् २०२३ मा एक दिवसिय विश्वकप खेल्ने छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।