गाउँबाट बजार पसेर आरन व्यवसाय गर्दै भक्तबहादुर

label झलक पाली query_builder August, 14 2019

डोटी, साउन २९ । डोटीमा एक युवाले गाउँबाट बजार पसेर आरन व्यवसाय सञ्चालन गरिरहेका छन् । जिल्लाको सायल गाउँपालिका–४ भल्मा स्थायी घर भएका ३१ वर्षीय युवा भक्तबहादुर बि.क.ले हाल दिपायल सिलगढी नगरपालिका–६ सिलगढीमा आरन व्यवसाय सञ्चालन गरेका हुन् ।

परम्परागत सीप र सामाजिक रुपमा हेलाका दृष्टिले हेरिन थालेपछि धेरै जसो ठाउँमा आरन व्यवसाय संंकटमा परिरहेको बेला उनले गाउँबाट बजार पसेर व्यवसाय सञ्चालन गरिरहेका छन् । झण्डै ६ महिना पहिलेदेखि करिब ८ लाखको लगानिमा उनले आरन व्यवसाय संचालन गर्दै आइरहेका छन् ।

विपन्न दलित परिवारमा जन्मिएर आर्थिक अभाव झेलिरहेका बि.क.ले आरन व्यवसायबाट छोराछोरीको पढाइ, स्वास्थ्य उपचार तथा घर खर्च चलाउन सजिलो भएको बताए ।

कृष्णभक्त आरन उद्योगका नामबाट भर्खरै व्यवसाय शुरु गरेकोमा हाल ठूलै आर्थिक प्रगति नभए पनि जीविकोपार्जनमा सहजता आएको उनको अनुभव छ । यति मात्रै नभई उनले आरन व्यवसायमा आफ्नै गाउँका ६ जनालाई रोजगारी समेत दिएका छन् ।

व्यवसाय शुरु गर्दा लगानी डुब्ने हो की भन्ने मनमा डर लागेको तर काम गर्दै जाँदा आफु व्यवसायप्रति सन्तुष्ट रहेको र उत्पादित सामानहरुले राम्रै बजार पाउन थालेपछि थप हौसला मिलेको उनले बताए । आफूले यस पूर्व करिब १० वर्ष भारतमा नोकरी गरेको र त्यहाँ धेरै दुःख झेलेका कारण आफ्नै ठाउँमा व्यवसाय शुरु गरेको उनले सुनाए ।

उनले अहिले हँसिया, तरवार, खुकुरी, खुंडा, कुटो, कोदालो, चक्कु, चुलेसी लगायत औजारहरु उत्पादन गरिरहेका छन् । ति सामानहरु बजारमा पाइने सामानभन्दा सस्तो भाउमा बेच्ने गरेकाले जिल्लाभित्र र जिल्ला बाहिर समेत माग बढेको उनले बताए । कामका लागि भारत वा विदेशतिरै जानुपर्छ भन्नेहरुका लागि उनको व्यवसाय एक नमुना देखिएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्