सुदूरपश्चिममा गौरापर्वको चहलपहल शुरु (फोटो फिचर)

label सुदूर खबर संवाददाता query_builder August, 17 2019

डडेल्धुरा, साउन ३२ । सुदूरपश्चिमेलीहरुको महान चाड गौरा तथा तीज नजिकिएसँगै सुदूरपश्चिमका जिल्ला सदरमुकाममा समान किनमेल गर्नेहरुको घुइँचो लाग्न थालेको छ।

सूदूरपश्चिमेलीहरुको महान चाड गौरा तथा तिज नजिकिएसँगै यहाँका बजारमा चहल पहल सुरु भएको हो। केही दिन अघि सुनसुना जस्तै बनेको डडेल्धुरा सदरमुकाममा हिजोआज भने समाना किन्नेहरुको भीड लाग्ने गरेको छ।

चाडपर्व सुरु भएसँगै व्यापार व्यापसाय फस्टाउँदै गएको व्यापारीहरु बताउँछन्। महिलाहरुले गौरापूजन सामग्री किनमेल गर्न डडेल्धुराको मुख्य बजार बागबजार, तुफनडाँडा, कीर्तिपुर र स्याउले बजार व्यस्त देखिएका छन्।

पोहोर सालको जस्तो व्यापार नभएपनि गौरा तथा तीज नजिकिएसँगै लुगा कपडा, श्रृङ्गारका सामाग्रीहर किन्नेहरुको भीड लाग्ने गरेको बागबजारकी व्यापारी हिरा जोशीले बताइन्।

भगवान शिव र माता पार्वती स्वरुप गौरापर्वमा गरिने व्रतबाट सु–स्वास्थ्य एवं सौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहेको पाइन्छ। दुब्धागा लगाएकी महिलाले पकाएको खाना खानको लागि शुद्ध मानिने विश्वास रहेको कारण र दुब्धागो किन्नेहरुको भीड लाग्ने गरेकोले दैनिक २/३ हजार कमाइ हुने गरेको अर्को व्यापारी नरबहादुर शाहुको भनाइ छ।

गौरा पर्वमा वर्षभरिमा गरिने कार्य व्यस्तताबाट थकाई मार्ने अवसर र आफन्तजनको भेटघाटको पर्वको रुपमा पनि विशेष गरी मनाइन्छ। गौरा पर्व भदौ ३ गतेदेखि पञ्चदलहन अन्न गेडागुडीको बिरुडा राख्दै विधिवत रुपमा मनाइँदैछ।

गौरा पर्व अगामी भदौ ६ मा रहेको छ। पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिव प्राप्त गरेको विश्वास गरिन्छ। वर्षमा एक चोटी आउने भएकाले पनि यहाँका स्थानीयहरुले जोड तोडका साथ यो पर्व मनाउने गरेका छन्। सुदूरपश्चिममा मात्रै नभएर छिमेकी देश भारतको उत्तराखण्डको कुमाउँ प्रदेशमा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ।

    

 

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।