सागमा ‘स्वर्ण’ हात पार्ने दाउमा डडेल्धुराका तेजबहादुर

label समाचार प्रकाशक query_builder August, 31 2019
  • गणेश ठगुन्ना

डडेल्धुरा, भदौ १४  । देशमा माओवादी जनयुद्धको अन्त्य भईसकेको थिएन् । गाउँमा माओवादीको आतंक चलिरहेकै थियो । माओवादीहरुले स्कुल पढ्ने विद्यार्थीहरुलाई आफ्ना कार्यक्रममा लैजान खोज्ने, आफुसँगै हिड्न दवाब दिने लगायतका कामहरु हुने गर्थे ।

माओवादीहरुका यस्ता क्रियाकलाप देखेर डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको वडा नं. ३(साविकको मष्टामाण्डौँ गाविस–४) सेल्तडाका तेजबहादुर देउवा दिक्क थिए । उनलाई पनि कयौँ पटक माओवादीले आफुसँगै लैजान खोजे । तर उनी माओवादीसँग हिड्न मान्दैन् थिए । उल्टै माओवादीप्रति औँला ठड्याउने गर्थे । जसका कारण उनी माओवादीहरुको निशानामा पर्न थाले । उनलाई माओवादीहरुले खोज्न थाले ।

गाउँ भन्दा केही टाढा रहेको जनता माध्यामिक बिद्यालयमा कक्षा ८ मा पढ्दै गर्दा उनलाई खोज्न माओवादीहरु कक्षा कोठासम्मै पुग्न थाले । साथीभाई र शिक्षकको सुराकीका आधारमा उनी कक्षाबाट माओवादीहरुलाई छलेर भाग्ने गर्थे । चैत्रको महिना कक्षा ८ को बार्षिक परिक्षा चलिरहेको थियो । तेजले परिक्षा हलभित्रै रहेका बेला माओवादीले आफुलाई समात्न आएको चाल पाए ।

अनि परिक्षा दिन छोडेर उनी त्यहाँबाट भागे । “म चैत्रको महिना बार्षिक परिक्षा दिईरहेको थिए ।” उनले भने, “शिक्षकले माओवादी आफुलाई लैजान आएको चाल दिएपछि म त्यहाँबाट भागे ।”

माओवादीहरुले लगातार खोजि गर्न थालेपछि उनले घरपरिवारसँग कुरा राखेर नपढ्ने बिचार गरे । घरपरिवारले पनि उनलाई बिद्यालय परिवर्तन गराउने मनसाय बनायो । र सोही अनुसार उनलाई डोटीको राजपुरमा रहेको एउटा विद्यालयमा भर्ना गरियो । तर माओवादीहरुले तेज डोटी गईसकेको समेत थाहा पाईसकेछन् । त्यहाँ समेत उनलाई खोज्न थाले । त्यसपछि उनले अब कि त भागेर भारत जाने, कि त तत्कालिन शाही सेनामा भर्ना हुने र माओवादी बिरुद्ध नै लड्ने मनसाय बनाए । उनले भने, “म माओवादीबाट आजित भईसकेको थिए, त्यही बेला सेनामा भर्ना पनि खुलेको थियो, मलाई पढ्न नै दिदैन थिए, त्यसैले अब माओवादी बिरुद्ध नै लड्नका लागि सेनामा भर्ना हुनुपर्छ भन्ने सोचाई बनाए ।”


तत्तकालिन शाही नेपाली सेनामा भर्ना हुनको लागि एक दिनको मात्रै म्याद बाँकी थियो । उनले नेपाली नागरिकता समेत बनाएका थिएनन् । भर्ना समय एक दिन मात्रै बाँकी तर उनीसँग नागरिकता नभएपछि उनलाई छटपटाहट हुन थाल्यो । तर पनि उनी एकैदिनमा सबै काम भ्याएर भर्ना फाराम भर्ने मनासायका साथ नागरिकता बनाउने भनेर बिहानै सिधै डोटी(राजपुर)बाट हतारिदै डडेल्धुरा सदरमुकाम खलंगातिर निस्किए ।

“त्यही दिन भर्नाको म्याद सकिदै थियो, असिन–पसिन हुँदै म जिल्ला प्रशासन डडेल्धुराको गेट सम्म पुगे । त्यहाँ अन्य सेवाग्राहीको ठूलो लाईन थियो । तर म भागेर आएको र टि–सर्ट समेत भिज्ने गरी असिन–पसिन भएको देखेर सुरक्षार्थ खटिएका एक जनाले मलाई भाई तिमि पसिना–पसिना भएर यसरी किन आयौँ भनेर सोधे । मैले सेनामा भर्ना हुन चाहेको तर नागरिकता बनाउनै बाँकी छ, आज सम्मको मात्रै भर्ना म्याद छ भनेर सुनाएपछि उनले तुरुन्त गाविस सचिवलाई भेटेर नागरिकताको सिफारिस बनाउन भने । उनी सम्झन्छन्, “त्यसपछि म त्यहाँबाट दौडिदै फेरी करिब ३–४ किलोमिटर टाढा रहेको गाविस सचिवको घरमा पुगे र नागरिकताको सिफारिस लिएर फिर्ता भए । त्यसपछि मलाई ति सुरक्षार्थ खटिएका व्यक्तिले लाईनबाटै समातेर कार्यालय भित्र लगेर आवश्यक प्रक्रिया अनुसार नागरिकता बनाउनमा सघाए ।”

कडा मेहनतका बीच उनले नेपाली नागरिकता त पाए । तर भर्ना फाराम भर्नको लागि फेरी डडेल्धुरा खलंगाबाट डोटीको दिपायल पुग्नु पर्ने भयो । डडेल्धुरा बागबजारबाट गाडि चढेर उनी समयमै दिपायल पुगे र शाही नेपाली सेनाका लागि भर्ना फाराम भर्न सफल पनि भए । केही दिनपछि उनलाई छनोट तालिममा बोलाईयो । तालिममा सहभागि हुन तालिम केन्द्र पुगे । छनोट तालिम अन्तरगतका लामो र छोटो दुरीका दुबै दौडमा उनी प्रथम भएको सम्झिन्छन् । भर्ना छनोट तालिमका सबै चरणमा पास भए र सेनामा भर्ना हुन सफल भए ।

उनको यही अवधिको अर्को रोचक कुरा त झन के भने, उनले एकै दिनमा नागरिकताको सिफारिस बनाउने देखी नागरिकता प्राप्त गरी डडेल्धुरा सदरमुकामबाट डोटी सदरमुकाम पुगेर सेनाको भर्ना फाराम समेत भर्न भ्याए । त्यती मात्रै होईन्, छनोट तालिम पश्चात सेनामा नाम निकाल्न समेत सफल भए । तर यति हुँदा सम्म पनि घरपरिवारले उनी सेनामा भर्ना भएको मेसो समेत पाएका थिएनन् । उनले भने, “नागरिकता बनाएर शाही नेपाली सेनामा भर्ना भईसकेपछिको तीन महिना पछि मात्रै घरपरिवारले आफु सेनामा भर्ना भएको थाहा पाएका हुन् ।” उनले आफु पढि नै रहेको भनेर घरपरिवारलाई ढाँट्ने गरेका थिए ।

तेज वि.स. २०६१ फाल्गुन १० गते तत्कालिन शाही नेपाली सेनामा भर्ना भए । उनी खेलप्रति निकै रुचि राख्थे । उनले कक्षा ६–७ मा पढ्दा नै एक बर्ष सम्म तेक्वान्दो सिकेका थिए । सेनामा भर्ना भईसकेपछि उनले सेनाका आन्तरिक प्रतियोगिताहरुमा तेक्वान्दोमा प्रतिस्पर्धा गर्न थाले । तर पछि एक जना सेनाकै मेजरले उनलाई ज्यान बलियो भएको भन्दै तेक्वान्दो नभई बक्सिङ खेल्न सुझाए । मेजरको सुझाव अनुसार उनले बक्सिङ सिक्न थाले र विस्तारै प्रतिस्पर्धा समेत गर्न थाले ।

केही बर्षपछि पहिलो पटक उनले त्रिभुवन आर्मी क्लबबाट वि.स. २०६९ सालमा २५ औँ बृहत राष्ट्रिय खेलकुदमा लाईट वेटमा बक्सिङ खेल्ने अवसर पाए । त्यसमा उनले तेस्रो स्थान हासिल गरे । त्यसपछिका बिभिन्न राष्ट्रिय प्रतियोगिताहरुमा उनले फड्को मारेर अहिले सम्म पनि कसैलाई पहिलो हुन दिएका छैनन् । उनी वि.स. २०६९ देखी हाल सम्म लगातार राष्ट्रिय टिममा छनोट हुँदै आएका छन् । अहिले सम्म उनले लगातार आधा दर्जन बढी राष्ट्रिय प्रतियोगितामा पहिलो स्थान बनाएका छन् ।

वि.स. २०७० मा भएको वीर गणेशमान खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता, २०७१ मा भएको १२ औँ दक्षिण एसियाली खेलकुद छनोट, २०७२ मा भएको वीर गणेशमान खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता, २०७३ मा भएको गल्फटार खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता, २०७३ मा ललितपुरमा भएको खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता, २०७५ मा भएको ८ औँ राष्ट्रिय खेलकुद प्रतियागिता, त्यस्तै १८ औँ एसियाली खेलकुद छनोट, प्रतियोगिता सहित लगातार सात बर्षदेखी राष्ट्रिय प्रतियोगितामा उनले पहिलो स्थान बनाउँदै आएका छन् । सुरुमा ४९ केजीमा खेल्ने गरेका तेजले हाल ५२ केजी माथी खेल्ने गरेका छन् । उनले ८ औँ बृहत राष्ट्रिय बक्सिङ प्रतियोगिता देखी ५२ केजी माथी खेल्न थालेका हुन् ।

त्यस्तै सन् २०१८ मा भएको फस्ट ईन्द्रमाया ईन्टरनेस्नल टुर्नामेन्ट र सन् २०१६ मा भएको नेपाल–भारत मैत्रीपूर्ण खेलमा समेत पहिलो भएका तेजले अन्य अन्तराष्ट्रिय खेलहरुमा समेत सहभागिता जनाईसकेका छन् । सन् २०१८ मा भएको फस्ट थाईल्याण्ड इन्टरनेस्नल टुर्नामेन्ट, सन् २०१६ मा भएको १२ औँ दक्षिण एसियाली खेलकुद, सन् २०१८ फस्ट ईन्डिया ओपन इन्टरनेस्नल टुर्नामेन्ट, सन् २०१९ मा भएको सेकेन्ड थाईल्याण्ड ओपन इन्टरनेस्नल बक्सिङ टुर्नामेन्ट, २०१९ मा भएको सेकेन्ड ईन्डिया ओपन इन्टरनेस्नल टुर्नामेन्ट र सन् २०१८ मा भएको १८ औँ एसियन खेलकुदमा समेत सहभागि भईसकेका छन् । नेपालमै आयोजना हुन लागेको १३ औँ दक्षिण एसियाली खेलकुद(साग)को तयारीका लागि थाईल्याण्ड गएका तेज डेढ महिना लामो तालिम सकाएर बुधबार मात्रै नेपाल फर्किएका छन् । यस पटक अन्तराष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने ठूलो आशा छ । “यस पटक तयारी राम्रो छ । थाईल्याण्डमा राम्रो टे«निङ पाएको छु ।” उनले भने, “अरु देश भन्दा मुख्य प्रतिस्पर्धी भारत हो, यो पटक भारतलाई जित्ने आशा छ ।”

मंसिरमा आयोजना हुने दक्षिण एसियाली खेलकुद(साग) अघि उनी आउँदो कार्तिकमा चीनमा आयोजना हुन लागेको आर्मी ओलम्पिकमा सहभागिता जनाउन चीन जाने छन् । उनले त्यहाँ लाईट फ्लाईमा प्रतिस्पर्धा गर्ने छन् ।

अन्तराष्ट्रिय खेलहरुमा जहिले पनि एक अंकले हार्ने गरेको बताउँदै उनले प्रतिस्पर्धात्मक खेलमा आफ्नो देशको रेफ्री नुहँदा जितेर पनि हार्नु परेको अनुभव सुनाए । उनले भने, “प्रतिस्पर्धात्मक खेलमा आफुले हार व्यहोरेमा आफ्नो देशको रेफ्री नहुँदा आफ्नो कमजोरी बारे रेफ्रीसँग बुझ्ने अवसर मिल्दैन् ।” जब सम्म नेपालबाट अन्तराष्ट्रिय लेबलमा रेफ्री, जजहरु हुँदैन्, तबसम्म प्रतिस्पर्धात्मक खेलमा जित्नु कठिन रहेको उनको तर्क छ । “कि त ढाल्न सक्नु प¥यो, होईन भने प्रतिस्पर्धात्मक खेलमा पक्षपातको सम्भावना पनि रहन्छ ।”

खानपान, तयारी आदिका हिसाबले अन्य देशका खेलाडिसँग नेपाली खेलाडिको कुनै पनि स्तर नमिल्ने उनी बताउँछन् । “अन्य देशको जस्तै सबै सेवा–सुविधा हुने हो भने, नेपाली खेलाडि पनि कुनै देशको खेलाडि भन्दा कम हुने थिएनन् ।” उनले भने, “रेगुलर टे«निङ हुँदैन्, डाईट छैन् । कसरी हुन्छ ? त्यस्तो अवस्थाबाट पनि यति सम्म त पुगेका छौँ ।” लगानी अनुसारको फल मिल्ने उनको तर्क छ ।

अहिले नेपालमा विभागीय टिमहरुले नै खेल क्षेत्रको ईज्जत धानी रहेको उनको दावी छ । राष्ट्रिय वा अन्तराष्ट्रिय सहभागिताको लागि विभागीय टिमहरुबाटै खेलाडि उत्पादन भईरहेको उनी बताउँछन् । राष्ट्रिय टिममा भन्दा त्रिभुवन आर्मी क्लबमा साँझ बिहान राम्रो टे«निङ हुने गरेकै कारण विभागीय टिमहरुले ईज्जत धानी रहेको उनको भनाई छ ।

वि.स. २०४२ मा बुवा मान बहादुर र आमा आमा नारु देवी देउवाको कोखबाट जन्मिएका तेज तेज बुवाआमा प्रति कृतज्ञ छन् । उनले भने, “बुवाआमाले बेलैमा राम्रोसँग खुवाई दिनु भएको रहेछ, सोही कारण ज्यान बलियो भएको हो । म बुवाआमाप्रति धेरै खुसी छु ।” उनी पाँच भाई मध्येका कान्छा भाई हुन् । हाल उनी नेपाली सेनाको जमदार छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्