आधुनिक नेपाली समाजमा बदलिँदो विभेद र चेतनास्तर

label सुदूर खबर संवाददाता query_builder September, 03 2019
  • दिपा नेपाली

सार संक्षेप
सयौँ शताब्दीदेखि विद्यमान मानविय असमानता विभेदका कारण आजको आधुनिक युगसम्म दलितहरुलाई सामाजिक स्वतन्त्रता र समानताबाट वञ्चित गराइएको छ । प्राकृतिकले मानिसहरुलाई समानरुपमा सृजना गरेता पनि मानव सभ्यताको इतिहासको प्रारम्भ देखि नै मानिसहरुलाई कृतिम समानताबाट पिडित बनाइएको छ ।

मानव चेतनशिल भएता पनि सामाजिक अन्धविश्वासका कारण मानिस चेतनाको स्तरबाट माथि उठ्न सकिरहेको छैन । शैक्षिक, आर्थिक, राजनैतिक रुपमा समाजको परिवेशमा परिवर्तन आएता पनि नैतिक रुपमा सामाजिक स्थितिमा परिवर्तन आएको छैन । सामाजिक अन्धविश्वास र पुरातन चिन्तनका कारण सामाजिक समानता र सामाजिक न्यायको अनुभुति गर्न पाउन अझै पनि दलित समुदायको लागि परिकल्पनिय छ ।

विषय प्रवेश
समृद्धि समाजको संकल्प बोकेको आजको नेपाली समाज लामो समयको संघर्ष पछि नयाँ युगमा प्रवेश गरेको छ । समृद्ध नेपाल सुखि नेपालीको नारा भित्र प्रत्येक नेपाली नागरिकको मानविय स्वतन्त्रता र सभ्य समाजको नयाँ अध्याय सुरु भएको छ । सामाजिक परिवर्तन समानता , स्वतन्त्रता र आफ्नो अधिकारका निम्ति नेपाली जनताले गरेको रक्तपात सहितको आन्दोलन नेपाली समाजमा सर्व्वितितै छ । आन्दोलन देशको शासन प्रणाली परिवर्तनका लागि नभएर समाजमा पछि पारिएका समुदायको न्यायका लागि थियो । त्यहि आन्दोलनको उपलब्धि आजको समृद्धि समाजको संकल्प हो ।

जति पनि आन्दोलनको इतिहास मानव अधिकारका लागि भए पनि न आफ्नो न अरुको अधिकार बुझेका छौँ । त्यसैले समाज परिवर्तनको संकल्प गर्नेहरुले पनि समाजलाई भौतिक रुपमा गुणात्मक ढंगले अगाडि बढाए तर तिनै मानिसहरुले समाजलाई नैतिरुपमा गुणात्मक गर्ने संकल्प कहिल्यै गरेनन् । जुन समाजमा मानिस बस्दछ, त्यहि समाजमा मानव मानव बिचमा विभेदको खाडल रहेको छ ।

जहाँ एक मानवले अर्को मानवलाई सामाजिक र मानविय व्यवहार गर्न कहिल्यै जानेको छैन । सधै साझँ बिहान धारा, मन्दिर, कुवा जस्ता सार्वजनिक स्थानमा दलितहरुलाई विभेद गरि निर्मम कुटपिट पछि हत्या गरिन्छ र कसैलाई सामाजिक बहिस्कार गरिदै आएको छ । मानिस सामाजिक प्राणी हो जो समाज बिना एक्लै बस्न सक्दैन समाज मानिसका लागी अपरिहार्य आवश्यकता हो ।

जहाँ समाज बिनाको मानिस र मानिस बिनाको समान अकल्पनिय छ । समाजमा जो कोहि मानिस स्वतन्त्र पूर्वक विभेद रहित समाजमा बाँच्न चाहान्छ । समाजमा कुनै मानिसको सहज जिविका हुनु पनि मानव स्वतन्त्रताको आवश्यकता र अधिकार हो । मानिस कालो होस् वा गोरो, धनि होस् वा गरिव, शिक्षित होस् वा अशिक्षित जे भएपनि मावन मानव नै हो ।

जुन समाजमा समाज बस्दछ त्यहि समाजबाट विभेद खेप्नु आधुनिक समाजको पराकास्ट हो। जातिय भेदभाव तथा छुवाछुत कार्य गर्नु मानव अधिकारको उल्लंघन मात्र नभएर मानव सभ्यता विरुद्धको अपराध हो । जातिय भेदभावको कारण आजको यो युगमा पनि दलितहरुले मानव अधिकार र स्वतन्त्रताको प्रत्याभुत गर्न पाएका छैनन ।

नेपाली समाजलाई अध्ययन गर्दा हिजो भन्दा आज समाज फरक छ, समाज बदलिएको छ, शासन बदलिएको छ र राष्टभक्ति र देशप्रेमि मानिसहरुको संकल्प बदलिएको छ तर समाजिक अन्यायमा परेका मानिसहरुको सामाजिक अधिकार सधैँ आझेलमा परेको छ । राज्यका हरेक संयन्त्र देखि सदन सम्म समान सहभागिता र समावेशि गर्नु बलिदानिपूर्ण इतिहासको संरचना हो तर राज्यका हरेक संयन्त्रमा दलित सहभागिता मात्र नभएर सामाजिक समावेशिता, परिवर्तित नेपाली समाज र आधुनिक युगको आवश्यकता हो ।

नेपालको शासन प्रणाली, भौगोलिक स्वरुप फेरबदल भएपनि सामाजिक अन्धविश्वासलाई सामाजिक बहिष्कार गर्न न शिक्षाले न त कानुनले असरले पारेको छ । मानिसहरुले आफूलाई शैक्षिका ज्ञानको अनुयायि भने पनि तिनिहरुको चेतना सामाजिक अन्धविश्वासमा रोमलिएको छ । मानिसले शिक्षा प्राप्त गरे पनि तिनिहरुको नैतिक विकासमा पुरातन अन्धविश्वासले बौद्धिक चेतनालाई पतन गरको छ ।

मानिसहरुले नयाँ युगको प्रवेश गर्दै नयाँ प्रविधिको प्रयोग गरे पनि शैक्षिक विकासको जगतमा मानविय व्यवहारलाई परिवर्तन गर्न सकिरहेको छैन । त्यसैले समाजमा जसले शिक्षा पाएनन तिनिहरुले विभेद गर्नु चेतनाको कमजोरी हो भन्ने गरिन्छ तर शिक्षा प्राप्त गरेर आधुनिक प्रविधिको प्रयोग गर्दै विश्व परिवेशलाई अध्ययन गरि अरुलाई समाजिक परिवर्तनको पाठ सिकाउने व्यक्तिले नै विभेद गर्दै समाजिक अपराधको घटनाहरु घटाई रहेका छन् । तिनै शिक्षित मानिसलाई प्रश्न गर्न मन लाग्छ अहिले सम्म सामाजिक प्राणीको बारे के सिक्यौ र समाजलाई के सिकाउँदै छौँ?

घटनाका स्वरुपहरु
सैघाली अनलाइन टिभिमा प्रसारित खबरबाट लिएको समाचार अनुसार प्युठान जिल्लाको मल्लरानी गाउँपालिका–५ स्थित भुमिराज विकास आधारभुत विद्यालयका प्रध्यानाध्यापक यशोदा श्रेष्ठले मिति २०७५ फाल्गुन २८ गते आफ्नो बुवाको १३ औँ पुन्य तिथिमा सालको पात टिपेर ल्याउन आफैले पढाउने स्कुलका विद्यार्थिलाई अनुरोध गरेकि थिईन, तर दलित विद्यार्थिहरुले टिपेर ल्याएको पात चल्दैन घरमै बस्नु भनेपछि दलित विद्यार्थिहरुले त्यो कुरा आफ्ना अभिभावकलाई सुनाएका थिए ।

यस्तै चेतना गुमाएका शिक्षित मानिसहरुको व्यवहारले अझै नेपाली समाज पछि पर्दे छ । शिक्षा प्राप्त गरेका मानिसहरु अझै पनि ब्राह्मीन चिन्तनले ग्रसित छन् । जहाँ मानव अस्तित्व र मानविय व्यवहारलाई आधुनिक समाजमा मानव पहिचानको रुपमा स्थापित गर्न सकिरहेका छैनन् । आज सम्म शिक्षित मानिसहरुले विकासको रुपमा सामाजिक परिवर्तनका लागि सामाजिक अन्धविश्वासलाई अध्ययन गर्न सकिरहेको छैन । त्यस कारण हाम्रो समाजमा विभेद गर्ने शैलि बदलिएको छ तर विभेद गर्ने सोच बदलिएको छैन ।

समाजमा तिनै मानिसहरुले समाज परिवर्तनलाई गुणात्मक ढंगले अगाडि बढाउन सक्छन जसले जीवनलाई मात्र जीवनको लक्ष्य बनाएर हिँड्दैनन् । समाजलाई लक्ष्य बनाएर हिड्नेहरु जीवनको लक्ष्य बनाएर हिडे्ेनेहरु शहिद लखन थापा, गंगालाल श्रेष्ठ, योगमाया थापा र दिल बहादुर रम्तेल आदिलाई उदाहरणको रुपमा लिन सकिन्छ ।

जसले समाज बदल्ने संकल्प परे तिनिहरु आज रहेनन्, रहेकाले समाजको भौतिक विकासको संकल्प परिरहेका छन् तर नैतिक विकास बारे सोचिरहेका छैनन् । मानिसहरुले आफूलाई परिवर्तनको संवाहक बनाएर नयाँ खोज अनुसन्धान गरेपनि सामाजिक विकास, गरेपनि स्वयम् आफूलाई मानविय व्यवहारमा उतार्न सक्दैन तबसम्म सामाजिक अन्धविश्वासको जरो पलाइरहने छ । किन भने सभ्यता बिनाको मानिस सामाजिक परिवर्तनको बाधक हुन्छ । मानिस जन्मिँदा कोहि फरक जातको भएर जन्मिदैन मानव मावन भएर जन्मन्छ । मानिसलाई हेरेर छुट्याउन सकिने जात महिला र पुरुष मात्र हो त्यो बाहेक कोहि कसैले हेरेर यो वा त्यो जातको भनेर पहिचान गर्न सक्ने आधार छैन ।

एक दिन पुरुष जातको मानिसले मलाई तिमी कुन जातको हौं ? बहिनी भनेका थिएँ । म उसको प्रश्नले एकछिन स्तब्ध भए मलाई गरेको प्रश्नको उत्तर प्रश्न सोध्ने दाईसँग नै थियो किनभने उहाँले मलाई बहिनि भनेर सम्वोदन गर्नु भएको थियो जो महिला हुन भन्ने कुरा थाहा पाएर नै उहाँले ब्राहमणबाद चिन्तनले नामको पछाडि जोडिएको थरलाई पहिचान गर्न उहाँको प्रश्न खडा भएको थियो । एक छिन पछि उहाँलाई मैले प्रश्न गर्दै भने– किन ? दाई म एउटा महिला हो अहिले सम्म तपाईले कति ओटा जातको अध्ययन गरेर मलाई प्रश्न गर्नुभयो ? तपाईले मलाई हेरेर भन्न सक्नु हुन्छ होला म कुन जातको हो ?

यसरी मैले बोल्दा उहाँ रिसाएर आफ्नो बाटो लाग्नु भयो । सबै जिब जन्तु बोट विरुवाको जात पहिचान गर्न सक्ने मानव जातिले किन मानवमा धेरै जात हुन्छ भनि हेरेर किन पहिचान गर्न सकिरहेका छैनन ? किन सोधिन्छ जात नाम सोध्नु अगाडि तिम्रो जात के हो भनेर प्रश्न किन गरिन्छ ? नामको पछाडि जोडिएको शब्द मानिसको जात भन्नु भन्दा नि पहिचान होइन र ? यसरि मानिसको परिचय के हो भनेर सोध्नु राम्रो हो तर तिम्रो जात के हो भनेर सोध्नु यो प्रश्न आफैमा विभेदकारी छ ।

यसरी मानिसलाई विभेद गर्नका लागि मानिसको नामको पछाडि जोडिएको एउटा शब्द जुन शब्द थर त्यसैलाई जात भनेर अपरिचित मानिसले पनि तपाईबाट तिमि, तिमिबाट तँ को भाषा प्रयोग गर्ने गर्दछन् । त्यहि थरको आधारमा तल्लो जात र माथिल्लो जात भन्ने गर्दछन् । विभेद गर्नेहरुको प्रमाण केहि देखिदैन तर त्यस्तै प्रश्नहरुले दलितहरुको मानसम्मानमा ठूलो विभेलको खाडल खनि रहेको छ यसरि सोधि सोधि विभेद गर्ने मानिसलाई कसरि चेतना भएको सभ्य मानव र आधुनिक समाजको मानव भन्न सकिन्छ ? यसरि विभेद गरीरहदा समाजमा बस्ने प्राणीलाई मानव भनौँ भने मानविय व्यवहार गुमाएका छन् तर जनावर जस्तो व्यवहार भनौ भने पनि जनावरले विभेद र छुवाछुत गर्न कहिले जानेको छैन ।

समानमा मानव भएर मानविय व्यवहार गर्न नजान्नेहरुले विभेद र छुवाछुतको रुपमा मानविय स्वतन्त्रता, समानता र अधिकारलाई हस्तक्षेप गर्दै सामाजिक अपराधका घटनाहरु घटाईरहेका छन् । कुनै ठाउँमा मन्दिर छोएको नाममा, अन्तरजातिय विवाह गरेकै निहुँमा दलितहरुलाई सामाजिक बहिस्कार सामान्य तर लखेटि लखेटि कुटपिट गरि हत्या गरिएको यथार्थ घटनाहरु दैनिक रुपमा सामाजिक सञ्जाल र पत्रपत्रिकामा पढ्न पाउछौँ ।

यस्तै यथार्थ जाति विभेदका घटनाहरु अझै पनि कानुनको छायाँमा परिरहेका छन् । विभेद गर्नेहरुलाई के सजाय भयो भनेर प्रश्न गर्ने भन्दा विभेदका कारण मारीनेहरुले के न्याय पाए भन्ने प्रश्नको जवाफ मिति २०७३ असार ३० गते काभ्रेमा अन्तरजातीय बिवाहा गर्दा मारिएका अजित मिझारको लास काठमाडौको टिचिङ हस्पिटलमा ४ वर्षदेखि रहेको छ जुन जातीय बिभेदबाट मारिनु पर्ने नेपालका दलित युवाको ज्वलन्त उदाहरण होकाभ्रेपलान्चोकका अजित मिजार र लक्ष्मि परियारको घटनाले प्रस्टयाएको छ ।

अहिलेसम्म अजित मिजारको सडेको लास टिचिङ हस्पिटलमा न्यायको पखाईमा छ । यस घटनाका अपराधिलाई कारवाही गरेको छैन, मुद्दा अदालतमा विचारधिन छ । घटनाका अपराधिहरु सामान्य धरौटिमा रिहा गरिएको छ काभ्रेपलान्चोक जिल्लाकी लक्ष्मि परियारका हत्यारालाई पनि सामान्य धरौटिमा छोडेको छ । यस्तै घटनाहरु समाजमा थुपै छन् । मिति २०७५ जेष्ठ १९ गते कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका ९ कि नवनिवार्चित वार्ड सदस्य ४५ वर्षिय मना सार्कीलाई धारा छोएको निहुँमा त्यहिकै स्थाानिय राजिन्द्रा शाहि र सिर्जना शाहीले धारामा गाग्री छोएको भनि निर्मम कुटपिट गरि हत्या गरेका थियो ।

समाजमा जातिपनि दलितमाथि घटिरहेका घटनाको कारण विविध नै हुन्छ । तर ति घटनाहरुलाई घटनाको प्रकृति भन्दा फरक बनाइदिन्छ। जहाँ पिडितले न्यायिक निकायबाट न न्याय पाउन सकिरहेका छन् न त घटनाको अनुसन्धान नै हुन्छ । कसैलाई यस्ता घटनाहरु सुन्दा सामान्य र हेर्दा रमिता लाग्न सक्छ, तर जसलाई विभेदको पीडा छ, न्याय नपाएर न्यायको खोजिमा तड्पिरहेका छन् तिनैलाई थाहा छ मानव हुनु र नहुनुको अर्थ, ज्यानै मार्ने कस्तो मानवको चेतना हो मलाई त्यहि मानवलाई प्रश्न गर्न मन छ, जसले मानविय चेतना गुमाएको छ ।

अहिलेसम्म विभेदका घटनाहरु एकदमै फितलो पारिएको देखिन्छ । घटनाको कहिल्यै पनि निष्पक्ष अनुसन्धान नहुनाले समाजमा जातिय विभेदका घटनाहरु दिन प्रतिदिन सामान्य रुपमा घटिरहेका छन् । अर्को घटना नारायण नगरपालिका वडा न.पा. १० भवानीकी लछिमा बिकलाई सोही गाउँकी राजकुमारी न्यौपानेले धारामा पानी भर्दा छोइयो, कमेनी, डुमेनी, त सानोजात धारा न छो, भन्दै पटकपटक जातीय विभेद र गालिगलोज साथै हातपात समेत गरेकी थिइन ।

गत बैशाख ११ गते पीडित लछिमा बिक बारीमा गँहु काटेर पानी भर्न धारामा जादा धारा छोइस् भन्दै राजकुमारी न्यौपानेले हसियाले गरि टाउको र शरीर भरी प्रहार गरेकी थिइन । अहिले उक्त घटनाका दोषिलाई जिल्ला प्रशासन कार्यालयमा ३ महिना देखि फ्ररहार महिला राजकुमारी न्योपानेलाई जिल्ला प्रशासन कार्यालयमा कार्व्हिको लागि थुनवामा राखिएको छ ।

संयुक्त राष्ट संघको महासभाले पारित गरेको विश्वव्यापी घोषणा पत्र १९४८ ले सबै मानव जाति स्वतन्त्र रुपले जन्मन्छ र मानव प्रतिष्ठा एवम् अधिकारमा समान छन् भन्ने भावनालाई समेटेको छ । प्रत्येक व्यक्ति जाति वर्ण वा उत्पिडितको भेदभाव बिना सम्पूर्ण अधिकार तथा स्वातन्त्रताहरुको हक छन् भन्ने घोषण गरिएको छ । घोषणा पत्रले सबै मानव जाति कानुनको अगाडि समान छन् तथा कुनै पनि भेदभावको प्रत्साहन विरुद्ध कानुनको समान संरक्षणका हकदार छन् भन्ने कुरालाई मनन गरेको छ ।

यस घोषणा पत्रको धारा २ ले जाति, वर्ण, लिङ्ग, भाषा, धर्म, राजनितिक वा अन्य विचार धारा राष्टिय वा सामाजिक उत्पति सन्तति जन्म वा अन्य कुनै हैसियत जस्तो कुनै पनि आधारमा कुनै पनि किसिमको भेदभाव नगरिने सिद्धान्त स्विकार गरेको छ । घोषणा पत्र ६ मा कानुनको दृष्टिमा प्रत्येक व्यक्तिलाई सर्वत्र व्यक्तिको रुपमा मान्यता पाउने अधिकार उल्लेख हुने कुरा उल्लेख छ । सबै व्यक्तिहरुलाई यस घोषणा पत्रको उल्लंघन गरि गरिएको कुनै पनि प्रकारको भेदभाव विरुद्ध वा यस्तो भेदभावको दुरुत्साहन विरुद्ध समान संरक्षण पाउने अधिकार हुने कुरा उल्लेख छ ।

नेपाल पक्ष प्रष्ट भएका कयौँ व्यवस्थाहरुले समेत नेपाललाई मानव अधिकारका विभिन्न विषयमा उत्तरदायित्व तोकेको छ । मानव मानव बिचको भेदभावलाई अन्र्तराष्टिय मानव अघिकार दस्तावेजहरुले मानव मानव बिचको विभेदलाई अनुसुचिमा मात्र हैन उपधाराको रुपमा लिएको छ । सबै किसिमका जातिय भेदभव उन्मूलन गर्ने सम्बन्धि अन्तराष्टिय महासन्धि १९६५ को धारा ४ ले पक्ष राज्यहरुलाई विभेदकारी कार्यलाई कसुर घोषणा गर्ने दायित्व पनि तोकेको छ । कुनै पनि व्यक्तिलाई निजको उत्पति, जातजाति, समुदाय, पेशा व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजि तथा सार्वजनिक स्थानमा गरीने कुनै पनि प्रकारको छुवाछुत वा भेदभाव जन्य कार्य वा जातिय भेदभाव वा छुवाछुत सम्बन्धि कसुर हो ।

यस्ता कार्य गम्भिर सामाजिक अपराध हुने गरि कानुन द्धारा दण्डनिय हुने संवैधानिक व्यवस्था गरिएको छ । यो संविधान जारि हुनु पूर्व २०६२/६३ को एतिहासिक जनआन्दोलन पछि जारि भएको नेपालको अन्तरिम संविधान २०६३ ले छुवाछुत र भेदभाव विरुद्धको हकलाई मौलिक हकको रुपमा प्रत्याभुत गरेको छ ।

सोहि संवैधानिक व्यवस्था अनुसार जातिय भेदभाव तथा छुवाछुत, कसुर र सजाय ऐन २०६८ निर्माण भई नेपाल भरी २०६८ साल जेष्ठ १८ गते देखि लागु भएको छ । यस ऐनको उद्देश्य जातिय भेदभाव र छुवाछुतलाई अपराधिकरण गर्ने र पिडितलाई क्षतिपूर्ति प्रदान गरि समतामुलक समाजको निर्माण गर्ने रहेको छ । नेपालका हरेक आन्दोलनमा दलितहरुको बलिदानिपूर्ण योगदान रहेको छ । देशको शासकिया स्वरुप बदल्न र गणतान्त्रिक प्रणालीलाई स्थापित गर्न दलितहरुको ठूलो संघर्ष र निपूर्ण योगदान रहेको छ । त्यसैले दलितहरुलाई समाजमा सम्मान रुपमा बाँच्ने अधिकारको ग्यारेटि राज्यले गर्नुपर्दछ ।

अहिलेसम्म राजनितिक र संवैधानिक रुपमा छुवाछुत मुक्त भएपनि सामाजिक अन्धविश्वासका कारण विभेदका भाषा र व्यवहारमा कुनै पनि परिवर्तन आएको देखिँदैन । समाजमा बस्ने जो कोहि मानिस स्वतन्त्र र सम्मान पूर्वक बाँच्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो त्यसैले दलित प्रतिनिधित्वलाई राज्यको मूल प्रर्वाहमा ल्याउँन र छुवाछूत मुक्त समाज निर्माण गर्न नेपालको संविधानलाई कार्यन्वयन गर्न आवश्यक छ ।

लेखिका : नेपाली त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा स्नातकोत्तर अध्ययनरत छिन्।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।