कैलालीमा नदीजन्य तस्करी बढ्दो, सात ट्रयाक्टर सहित सात जना पक्राउ

label जीवन बिष्ट query_builder September, 09 2019

धनगढी,भाद्र २३।
कैलालीका नदीहरूबाट मापदण्ड विपरीत नदीजन्य पदार्थको उत्खनन बढेको छ । नदी तथा स्थानीय खोलामा मापदण्ड र सहमति विपरीत गिट्टी, बालुवा र ढुङ्गा उठाउने कार्य भइरहेको छ । स्थानीय प्रशासनले नदी जन्य वस्तुको उत्खनन र बिक्री वितरणमा रोक लगाए पनि अनुगमन र निगरानी गर्न नसक्दा नदीजन्य पदार्थ उत्खनन बढेको छ ।
कैलालीको खुटिया नदी, बन क्षेत्र र चुरेबाट समेत ढुङ्गा, बालुवा र गिट्टी निकाल्ने गरेको पाइएको छ । त्यस्तै खुटिया नदी पनि नदीजन्य तस्करी बढेको छ । तर सरोकारवाला निकायले यसको नियन्त्रणको लागी कुनै पहल गरेका छैनन् ।


बालुवा ढुवानी गरिरहेका सात ट्रयाक्टर सहित सात जना पक्राउ

खुटिया नदीबाट अवैध रूपमा बालुवा ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीको टोलीले आइतवार राती धनगढी उप–महानगरपालिका वडा नम्बर १९ पथरियाबाट सात ट्रयाक्टर सहित सात जना चालकलाई पक्राउ गरेको हो ।
खुटिया नदीबाट अवैध रूपमा बालुवा लोड गरी ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका सशस्त्र प्रहरी नायव उपरीक्षक भीम चन्दले बताए । आवश्यक कारबाहीका लागि ट्रयाक्टर सहित ७ जनालाई नै जिल्ला समन्वय समिति कैलाली पठाएको उनले जानकारी दिए ।


उनका अनुसार धनगढी उप–महानगरपालिका १ वसन्त टोलका सञ्जय यादव, सोही ठाउँका सुनिल चौधरी र रामपुकार सहानी, वडा नम्बर ५ जाईका गजेन्द्र चौधरी, वडा नम्बर ८ का करन चौधरी, वडा नम्बर ६ जालीका ईन्द्र चौधरी र वडा नम्बर ७ मनहेराका बर्षातु चौधरी बालुवा सहितको ट्रयाक्टर सहित पक्राउ परेका हुन् ।
बर्षातको समयमा नदीजन्य पदार्थको उत्खननमा रोक लगाईएपनि अटेरी गर्दै बालुवा उत्खनन गरेपछि उनीहरूलाई पक्राउ गरिएको उनले बताए ।

तपाईंको प्रतिक्रिया दिनुस्